काठमाडौं, माघ ६ (नागरिक)- प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटर अकाउन्ट खोलेका छन्। युवा र विदेशमा रहेकाहरुसँग प्रत्यक्ष साक्षात्कार गर्न ट्विटर 'अकाउन्ट' खोलेको प्रधानमन्त्रीका स्वकिय सचिव विश्वदीप पाण्डेले बताए। 'विशेषगरी युवा पुस्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्न प्रधानमन्त्रीले ट्विटर चलाउन सुरु गर्नुभएको हो', पाण्डेले भने।
प्रधानमन्त्री आफैँले ट्विटर अपडेट गर्ने हुन् कि उनको कार्यालयका कर्मचारीले गरिदिन्छन् त? 'जनतासँग सोझै कुरा गर्न उहाँ रुचाउनुहुन्छ', पाण्डेले नागरिकन्युजसँग भने। प्रधानमन्त्री भट्टराईको ट्विटर अकाउन्ट @brb_laaldhowj रहेको छ। 'बीआरबी' बाबुराम भट्टराईको अंग्रेजीको छोटो रुप हो भने लालध्वज उनको भूमिगत कालको नाम हो। दुवैलाई संयुक्तिकरण गरी उनले ट्विटर अकाउन्ट बनाएका हुन्।
पछिल्लो समयमा विश्वका धेरै सरकार प्रमुख तथा राजनीतिक नेताहरु जनतासँग प्रत्यक्ष साक्षात्कार गर्न ट्विटरमा उपलब्ध हुने गरेका छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा (@BarakObama) तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन (@Number10gov) पनि ट्विटरमा छन्। भारतका प्रधानमन्त्री मनमोहन सिंह (@PMOIndia) गत सालदेखि ट्विटरमा आएका थिए।
अकाउन्ट सक्रिय पारेकै दिन प्रधानमन्त्री भट्टराईको ट्विटर अकाउन्ट @brb_laaldhowj लाई ५ सय ७० जनाले फलो गरेका छन्।
प्रकाशित: ७ माघ २०६९ ०४:०४ आइतबार





-600x400.jpg)