'यसको अवधारणा मोबाइल नै तपाईंको बैंक हो, यसमा पैसा राख्न, झिक्न, सेवा र वस्तु खरिद गरेबापत भुक्तानी गर्न सक्नुहुनेछ,' कम्पनीका अध्यक्ष विश्वास ढकालले बिहीबार पत्रकारसँग भने। उनका अनुसार यो सेवा लिएका उपभोक्ताले मोबाइलबाटै एउटा बैंकबाट अर्को बैंकमा पैसा जम्मा गर्न र रेमिटेन्सको भुक्तानी लिनसक्नेछन्। सेवा र वस्तु खरिद गरेपछि मोबाइलबाटै भुक्तानी दिन सकिने ढकालले बताए।
सुरुमा तीन वटा बैंकबाट सेवा सुरु हुने जानकारी दिँदै उनले तीन महिना भित्रै अरु धेरै बैंक समेट्ने लक्ष्य रहेको बताए। माछापुच्छ्रे, सनराइज र नबिल बैंकबाट सेवा सुरु हुने ढकालले बताए। उनका अनुसार तीन महिनाभित्र २७ भन्दा बढी बैंकबाट सेवा पाउन सकिनेछ। यो सेवा लिन सबैभन्दा पहिले ग्राहकले 'फोन पे'मा आफुलाई दर्ता गराउनुपर्दछ। मोबाइल नम्बर 'फोन पे'मा दर्ता भएपछि त्यहाँ ग्राहकको बैंक खाता खुल्छ र मोबाइल नम्बर नै ग्राहकको पहिचान बन्छ।
'ग्राहकले 'फोन पे'मा आफ्नो बैंकमा भएको खाताबाट एसएमएस गरेको भरमा पैसा सार्न सक्छन्, त्यो पैसालाई उनीहरुले चाहेको स्थानमा र अवस्थामा एउटा एसएमएसको भरमा प्रयोग गर्न सक्छन्, कम्पनीका उपाध्यक्ष असगर अलीले भने, 'यो उपभोक्ता, बैंक, सेवा र वस्तु बिक्री गर्ने कम्पनीका लागि नेटवर्कका रुपमा रहनेछ, यसले मोबाइलबाट हुने सबै कारोबारलाई व्यवस्थापन गर्नेछ।
मोबाइलबाट 'आरइजी' लेखेर २१२१ मा एसएमएस गरेपछि 'फोन पे'ले एमपिन पठाउनेछ। त्यसपछि मोवाइलमा 'इसेवा' एप्लिकेसन डाउनलोड गरेर त्यही एप्लिकेसनबाट कारोबार सुरु गर्न उनले बताए। 'फोन पे' खातामा आवश्यकता अनुसार रकम राख्न सकिनेछ र खर्च पनि गर्न सकिनेछ।
ठूलो कारोबारका लागि भने उपभोक्ताले 'नो योर कस्टमर' केवाइसी फर्म भर्नुपर्नेछ। तस्वीर र नागरिकताको प्रतिलिपीका आधारमा खोलिने खातामा 'फोन पे'ले डेविट कार्ड पनि जारी गर्नेछ, जुन कार्ड नेपाल र भारतका एटिएम बुथ र पसलमा स्वाइप गर्न सकिने उनले बताए।
यो सेवा लिएका उपभोक्ताले खाताबाट पैसा राख्न र झिक्न, विद्युत र खानेपानीको पैसा तिर्न, हवाई टिकट खरिद गर्न, नेपाल टेलिकम र एनसेलको पोष्टपेड मोबाइलको बिल भुक्तानी गर्न र प्रिपेडको रिचार्ज गर्न सकिने अली बताए। यसरी सेवा लिँदा हवाई टिकट दस प्रतिशत, रिचार्ज कार्ड तीन प्रतिशत सस्तो हुने उनले दावी गरे। 'फोन पे' खातामा भएको पैसाको 'व्याकअप' खाता नबिल बैंकसँग हुनेछ। 'हामीले भर्च्युल पैसाको कारोवार गर्ने हो, पैसाको प्रत्यक्ष कारोवार नबिल बैंकसँग हुनेछ। ' केही समयपछि 'फोन पे'ले ग्राहकको खातामा पैसा डिपोजिट रहे त्यसमा व्याज समेत दिनेछ, अध्यक्ष ढकालले भने, 'यो सेवा उपयोग गरेवापत उपभोक्तालाई उल्टै 'रिवार्ड' पाउनेछन्।' उनले एक वर्षभित्र यो सेवालाई दश हजार आउटलेट र १५ लाख ग्राहकमा पुर्याइने जानकारी दिए।
प्रकाशित: २७ पुस २०६९ ०२:३६ शुक्रबार





