रिचार्ज कार्डको साटो टेलिकमका थोक र खुद्र बिक्रेतामार्फत सिधै रकम हाल्न मिल्ने यो सेवा प्रयोग गर्नेलाई कम्पनीले ५ प्रतिशत बोनस दिने भएको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर कम्पनीले मंगलबारदेखि 'पिनलेस टपअप'मा बोनस दिन थालेको छ।
'ग्राहकलाई हाम्रो नयाँ प्रविधिप्रति आकर्षित गर्न बोनस दिन थालेका हांै,' टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले भनिन्, 'यसबाट ग्राहकले फाइदा लिनसक्ने छन्।' उनले यो सेवा लाई प्रभावकारीरुपमा अधि बढाउन बोनस दिने निर्णय भएको जानकारी दिइन्।
नेपाल टेलिकमले बजारमा ल्याएका रिचार्ज कार्ड गुणस्तरहीन भई ग्राहकको गुनासो र उजुरी आउन थालेपछि कम्पनीले यो सेवातर्फ ग्राहकलाई आकर्षित गर्न बोनस योजना अघि सारेको हो। केही महिनादेखि बजारमा आएका टेलिकमका रिचार्ज कार्डमा समस्या देखिएको छ। पछिल्लोपटक गरिएको टेन्डरबाट आएका कार्डहरुमा समस्या रहेको टेलिकमले स्वीकारिसकेको छ।
प्रवक्ता प्रधानका अनुसार टेलिकमका ग्राहकले अहिले मुख्य-मुख्य सहरी क्षेत्रमा 'पिनलेस टपअप' सेवा पाउने छन्। हालसम्म कम्पनीले यस्तो सेवाका लागि १९ वटा डिलर नियुक्त गरिसकेको छ।
१९ वटा डिलरले ५ हजार ५ सयभन्दा बढी खुद्रा बिक्रेता नियुक्त गरेको प्रधानले जानकारी दिइन्। यी डिलर र खुद्रा बिक्रेतामार्फत ग्राहकले एमपिओएस सेवा पाउने छन्। यो सेवा प्रयोग गर्दा ग्राहकले रिचार्ज कार्ड कोट्याउने झन्झट हुँदैन। इन्टरनेटको माध्यमबाट बिक्रेताले ग्राहकलाई सिधै रकम सारिदिन्छन्। यसरी रकम सार्दा मोबाइलमा ब्यालेन्स बढ्नुका साथै समय पनि थपिने छ।
यो सेवा हाललाई कम्पनीले जिएसएम ग्राहकलाई मात्र दिएको छ। एमपिओएस प्रविधिमार्फत ग्राहकले कम्तीमा १० रुपैयाँ रिचार्ज गर्न सक्छन्। १० रुपैयाँको रिचार्ज गर्ने ग्राहकको समय १ दिन थपिन्छ।
यो सेवामार्फत ग्राहकले १०, २०, ३०, ४०, ५०, १ सय, १ सय ५०, २ सय, ३ सय, ५ सय र १ हजार रुपैयाँ रिचार्ज गर्न सक्ने टेलिकमले जनाएको छ। एमपिओएसमार्फत १ सय रुपैयाँ रिचार्ज गर्नेको समय अवधि २० दिन थपिने छ। सबैभन्दा बढी १ हजार रुपैयाँ रिचार्ज गर्नेको मिति भने १ वर्ष थपिने कम्पनीले जनाएको छ।
सेवा सुरु गरे पनि डिलर र खुद्रा बिक्रेताले यो सेवा प्रभावकारीरुपमा कार्यन्वयन नगरेको ग्राहकले गुनासो गर्दै आएका थिए। प्रधानले अब सेवा प्रभावकारीरुपमा अघि बढ्ने दाबी गरिन्। रिचार्ज कार्डमा ३ प्रतिशत कमिसन पाउँदै आएका बिक्रेताले यस्तो सेवामा भने २ प्रतिशतमात्र पाउने भएकाले कार्यान्वयनका लागि तत्पर नभएको बताइँदै आएको छ। नेपाल टेलिकमले रिचार्ज कार्डमार्फत वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको आम्दानी गर्दै आएको छ।
प्रकाशित: १७ पुस २०६९ २२:१२ मंगलबार





