सभाले नास्टद्वारा आव २०६८/६९ मा प्रदान गरिने विज्ञान प्रविधिसम्बन्धी विभिन्न पुरस्कारमध्ये प्रकृति संरक्षण पुरस्कार नेपालको प्राकृतिक सम्पदाको सङ्कलन, सम्वर्द्धन र अध्ययन अनुसन्धान कार्य गरेवापत त्रिवि प्राकृतिक विज्ञान सङ्ग्रहालय स्वयम्भूलाई प्रदान गर्ने निर्णय गरेको छ।
यस्तै युवा विज्ञान तथा प्रविधि पुरस्कार चारजनालाई क्रमशः हेपाटाइटिस बी भाइरसबारे अध्ययन अनुसन्धान गरेवापत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका डा दीपेन्द्रराज पाण्डेयलाई, फाइनाइट इलिमेन्ट मेथड प्रयोग गरी भौगर्भिक समस्याहरुको विश्लेषण, अध्ययन अनुसन्धान गरेवापत जुरोपानी झापाका डा मात्रिकाप्रसाद कोइरालालाई, मुसामा स्विमिङ ट्रेनिङले मुटुको उपचार र रक्षा गर्न सक्ने बाटो पत्ता लगाई अधययन अनुसन्धान गरेवापत भरतपुर चितवनका डा अमिन शाहलाई, नेपालमा गणित शिक्षाको दार्शनिक शोधकार्य गरेवापत आमचोक इलामका डा बालचन्द्र लुइँटेललाई र सोरान्जिएम सेलुलोजम सो सिई ५६ मा पाइने नयाँ परिवारका इन्जाइम र त्यसका रिडक्स जोडाहरु र त्यसले गर्न सक्ने नैसर्गिक इलेक्ट्रोनको बाटो पत्ता लगाई अध्ययन अनुसन्धान गरेवापत पकनाजोल काठमाडौँका डा योगन खत्रीलाई प्रदान गर्न निर्णय भएको छ।
प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार कम उचाइमा धेरै पानी भएको ठाउँमा टर्वाइन प्रविधिबाट लघु जलविद्युत् उत्पादन गरी प्रविधिको प्रवर्द्धन र प्रयोग गरेवापत बुटवल, रुपन्देहीका देवानसिंह थापालाई प्रदान गर्ने निर्णय भएको छ।
तेस्रो विश्व विज्ञान प्रतिष्ठान (टिडब्लुएएस) पुरस्कार जडीबुटी हुर्काउन योगदान गरेवापत पनौती काभ्रेका डा सजनलाल स्याउला श्रेष्ठलाई, कालाज्वरको अनुसन्धानमा योगदान गरेवापत लिमीठाना पर्वतका डा किशोर पाण्डेलाई, डोपिङका लागि वैकल्पिक इलेक्ट्रोकेमिकल पद्धति प्रयोगमा ल्याउन योगदान गरेवापत स्याङ्जाका डा भीमप्रसाद काफ्लेलाई र लोगारिथमबारेको अनुसन्धानमा योगदान गरेवापत बर्दियाका डा सन्तोष घिमिरेलाई प्रदान गर्ने निर्णय भएको छ। ती पुरस्कारहरु नास्ट वार्षिकोत्सवका दिन यही मङ्सिर २० गते एक समारोहबीच प्रदान गरिनेछ।
यस्तै सभाले यसै वर्षदेखि थप दुई पुरस्कार क्रमशः विज्ञान पुरस्कार र प्रविधि पुरस्कारको समेत स्थापना गर्ने निर्णय गरेको छ। यी पुरस्कार स्थापनाको मुख्य उद्देश्य वैज्ञानिक एवम् प्राविधिज्ञहरुलाई आफ्नो अनुसन्धान, अन्वेषणका साथै प्रविधिका क्षेत्रमा गरेका उल्लेखनीय प्रतिभाहरुलाई कदर गर्नु रहेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारका राशि रु ५०/५० हजारको हुनेछ।
सभाले आव २०६७/६८ को लेखा परीक्षण प्रतिवेदनमा व्यवस्थापन परिषद्लाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।
सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले नास्टले देशमा विज्ञान प्रविधिको विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमहरु सराहनीय भएको चर्चा गर्दै बदलिँदो परिस्थितिअनुसार अनुभवी वैज्ञानिक र जागरुक एवम् परिस्कृत युवा शक्ति एकत्रित भएको समाजको विकासलाई द्रुततररुपमा अघि बढाउन तथा छिमेकी देश र तिनका प्राज्ञिक संस्था तथा विज्ञहरुको अनुभवलाई गहन अध्ययन गरी उनीहरुको विशेषज्ञतालाई देशको आवश्यकता अनुसार उपयोग गर्नुपर्ने बताए ।
उनले देशको आवश्यकताका आधारमा संस्थाका गतिविधि, दायित्व स्थापित मूल्य र मान्यतालाई मध्यनजर गर्दै विभिन्न अनुसन्धान केन्द्रहरु स्थापना गरी राष्ट्रको सम्पदाको समुचित सदुपयोग र समस्या समाधानका लागि आवश्यक अनुसन्धान गर्न जरुरी भएको बताए ।
प्रधानमन्त्रीले विश्वले गरेको विकास एवम् विज्ञान प्रविधिको फड्कोलाई ध्यानमा राखी नेपालीले आफ्नै देशको वैज्ञानिक नीति, आर्थिक नीति, सामाजिक एवम् राजनीतिक रणनीति तर्जुमाका साथै स्थानीय स्रोत साधन अधिकतम उपयोग एवम् औषधिजन्य बोटबिरुवाको प्रशोधन गरी नेपालीको जीवनस्तर उकास्न जरुरी रहेको बताए ।
नेपाल सरकारले विज्ञान तथा प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै प्रधानमन्त्रीले छिट्टै विज्ञान दिवसको घोषणा गरिने जानकारीसमेत दिए ।
अन्तर प्रतिष्ठान, विश्वविद्यालय र नेपाल सरकारको सम्बन्धित मन्त्रालयबीच समन्वयका साथ कार्य गर्नसमेत उहाँले निर्देशनसमेत दिए ।
सभामा स्वागत मन्तव्य दिँदै नास्टका उपकुलपति प्रा डा सुरेन्द्रराज काफ्लेले राज्यबाट गर्नुपर्ने सहयोग एवम् लगानी वृद्धिबाटै अपेक्षित प्रतिफलको आशा हुने भएकाले नास्टले सरकारबाट पूर्ण सहयोगको अपेक्षा राखेको बताए ।
सभामा नास्टका सचिव प्रा डा प्रकाशचन्द्र अधिकारीले कार्यसूची प्रस्तुत गरेका थिए । रासस
प्रकाशित: १ मंसिर २०६९ ०३:३७ शुक्रबार





