३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

सत्य हुँदैछ क्वान्टम कम्प्युटर र इन्टरनेट

सुरेन्द्रबहादुर नेपाली, काठमाडौ, असोज २१- सात समुद्रपारि अध्ययन गरिरहेका छोराछोरी तपाईंसामु सजीव उभिएर कुराकानी गरिरहेको देख्नुभयो भने तपाईंलाई कस्तो अनुभव होला? जीवनका हरेक सञ्चार यस्तै स्वरूपमा तपाईंसामु प्रस्तुत भए भने तपाईंको जीवनमा के फरक पार्ला?
 
यो कल्पनालाई सत्य बनाउन वैज्ञानिक निकै अगाडि बढेका छन्। यस साता अस्ट्रेलियन वैज्ञानिकहरू क्वान्टम कम्प्युटरको दौडमा अगाडि देखिएको समाचार न्युयोर्क टाइम्सले प्रकाशन गरेको छ।
नेचर पत्रिकाले न्यु साउथ वेल्स विश्वविद्यालयका अस्ट्रेलियाली तथा बेलायती वैज्ञानिकहरूले आधुनिक सेमिकन्डक्टर (अर्धसुचालक) प्रविधिको उद्योगले उपयोग गरेको उत्पादन प्रविधिमा आधारित भएर आधुनिक क्वान्टम कम्प्युटिङका लागि आधारभूत निर्माण संयन्त्र तयार गरेको जानकारी दिएको छ।
क्वान्टम प्रविधिले सम्भवतः नयाँ पुस्ताका सुपरकम्प्युटर तयार गर्नेछ जसले समस्या समाधान गर्ने विधि र सामग्रीलाई गति प्रदान गरी औषधि तथा सामग्रीको ढाँचा तयार गर्न सहयोग गर्नेछ। यसले पदार्थको सम्पूर्ण संरचना विभाजन गरी त्यसको संयोजनको विषयमा जानकारी प्राप्त गर्न सहयोग गर्नेछ।
अस्ट्रेलियाको नेसनल फेब्रिकेसन फ्यासिलिटीका निर्देशक तथा भौतिकशास्त्री एन्ड्रयु जुराक यस प्रविधिका प्रमुख अनुसन्धानकर्ता छन्। उनले हाल गाडी तथा विमानको ढाँचा कम्प्युटरको सहायताले तयार गरिएको अवस्थामा यस प्रविधिले व्यक्तिले आफ्ना सामग्रीका सम्पूर्ण पदार्थको सबैभन्दा सानो भागसम्मको ढाँचा आउँदा कम्प्युटरमा तयार गर्नसक्ने र त्यस भागको व्यवहारलाई कम्प्यटर प्रविधिमा सिमुलेट गरी हेर्न सकिने जानकारी दिएका छन्।
अहिलेको डिजिटल कम्प्युटरले सूचना प्रशोधन गर्दा दुई अंक 'अन' र 'अफ' वा शून्य वा एकको आधारमा तयार भएका 'लजिक गेट' (तार्किक मार्ग) लाई उपयोग गर्छ। यसलाई बिट भनिन्छ। यो प्रविधिभन्दा फरक रूपमा क्वान्टम कम्प्युटरले क्वान्टम बिट प्रयोग गर्छ र त्यसलाई क्युबिट भनिन्छ। 'क्वान्टम' शब्द आफैंले कुनै पनि अणुको पर्याप्त मात्राको स्वरूपलाई संकेत गर्ने भएकाले क्युबिटले निकै छोटो समयमा आफूलाई बहुअवस्थामा प्रस्तुत गर्नसक्ने देखिन्छ।
सम्भवत यसले तुलनात्मक रूपमा थोरै क्युबिटहरूको सहयोगमा एकै समयमा बहुप्रशोधनका कार्य गरी कुनै पनि समस्या समाधान गर्न सहयोग गर्ने धारणा वैज्ञानिकले राखेका छन्। जुराकको अनुसन्धान समूहले एउटा सिलिकन चिपमा एउटामात्र इलेक्ट्रोन कायम गर्ने अवस्था सिर्जना गरी त्यस्तो अवस्थालाई क्वान्टम अवस्थामा मापन गर्ने परिस्थिति सिर्जना गरेको छ।
फेब्रअरी महिनामा न्यु साउथ वेल्समा रहेको अर्को समूहले नेचर न्यानोटेक्नोलोजी पत्रिकारमा भिन्न ढाँचाका विधि उपयोग गरी एकल अणुयुक्त ट्रान्जिस्टर तयार गरेको जानकारी दिएको थियो। वैज्ञानिकहरूले एउटा उपयोग गर्न सकिने क्वान्टम कम्प्युटरको विकास यस दशकमै सम्भव हुने धारणा बनाएका छन्। यसो भए पनि हाल विश्वको आधा जनसंख्याले प्रयोग गर्ने परम्परागत कम्प्युटरलाई यसले छिट्टै प्रतिस्थापन गर्नसक्छ। यस प्रविधिलाई यसै दशकमा औषधि तथा सामग्री उत्पादन गर्ने अनेकौं उद्योगले स्तरीय प्रविधिको रूपमा उपयोग गर्ने अवस्था भने सिर्जना हुनेछ।
हालसम्म क्वान्टम प्रविधिले शून्य तापक्रममा काम गर्ने देखिएको छ र यस्ता कम्प्युटरले काम गर्ने निकै थोरै अल्गोरिदम (कार्यनियमका ढाँचा) तयार भएका छन्। सामान्य जनताको खल्तीमा यो प्रविधि आउन अझै निकै समय लाग्नेछ तर यसले अनुसन्धाकर्तालाई जैविक, रासायनिक तथा भौतिक प्रणालीको अनेकौं सिमुलेसन तयार गर्न सघाउने भएकाले यसको उपयोग पनि निकै व्यापक हुने उनीहरूको मान्यता छ।
अस्ट्रेलियाली सरकारले यी उपलब्धिका लागि लगानी गर्न सन् १९९० को दशकमै आरम्भ गरेको हो। पर्दुमा विद्युतीय तथा कम्प्युटर इञ्जिनियरिङका प्राध्यापक गेहार्ड क्लिमेकले यी दुवै समूह हाल उच्च प्रतिस्पर्धी भएका र उनीहरूले आफूले गरेको कामका लागि विश्वमै नेतृत्व प्रदान गरेको बताएका छन्। उनले यी दुवै समूहलाई सहयोग गर्नुभएको छ र यससम्बन्धमा नेचर न्यानोटेक्नोलोजीमा लेख लेखेका छन्।
जुराकको समूहले आफ्ना कामका लागि न्यु साउथ वेल्सकै आर्क सेन्टर फर क्वान्टम कम्प्युटेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीका निर्देशक मिसेल सिमोन्सले नेतृत्व दिएको समूहसँग सम्पर्क कायम गरेको छ। यस समूहले कुनै पनि उपकरणलाई अणुकोस्तरमा निर्माण गर्न र त्यसमा सही उपलब्धि हासिल गर्न स्क्यानिङ टनेलिङ माइक्रोस्कोपको प्रयोग गरिरहेको छ।
जुराकको समूहले सिलिकन चिपको सतहभित्र १० देखि १५ न्यानोमिटरको फसफरस अणु राख्न परम्परागत अर्धसुचालक प्रविधि उपयोग गरिरहेको छ। यस विधिले प्रत्येक इलेक्ट्रोनलाई क्वान्टम अवस्थासम्म कायम गर्न विस्तार गर्न सहयोग गर्छ।
अमेरिकाले पनि उपयोगी क्वान्टम कम्प्युटर तयार गर्न संस्थागत तथा विश्वविद्यालयका अनुसन्धान प्रयासहरूलाई कोष उपलब्ध गराइरहेको छ। आइबिएमले हालै क्यालिफोर्नियाको अल्माडेन प्रयोगशालालाई विस्तार गरेको छ।
आइबिएममा क्वान्टम अनुसन्धानकर्ता तथा भौतिकशास्त्री एन्ड्रेस हाइरिचले अस्ट्रेलियाका दुवै समूहले बहुक्युबिट्बीच अन्तरसम्पर्क कायम गर्न सफलता प्राप्त गर्न नसकेको धारणा राखेको छ। क्वान्टम कम्प्युटर तयार गर्न भने यस्तो अन्तरसम्पर्क अति नै आवश्यक हुन्छ।
यसै साता क्वान्टम 'इन्ट्याङ्गलमेन्ट', 'टेलिपोर्टेसन', 'सुपरपोजिसन' का क्षेत्रमा प्राप्त भएका सफलताहरू पनि सार्वजनिक भएका छन्। यसले कम्प्युटिङ, सञ्चार तथा बैंकिङको क्षेत्रमा क्रान्तिकारी परिवर्तन गराउने यस क्षेत्रमा लाग्ने अनुसन्धाकर्ताहरूको धारणा छ। उनीहरूले एक पटक प्रयोग गरिसकेपछि उपयोग नहुने 'क्वान्टम टिकट' तथा 'क्वान्टम टोकन' का विषयमा पनि कार्य गरिहेका छन्। यसले बैंकिङ प्रक्रियालाई अझै सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
'क्वान्टम टेलिपोर्टेसन'ले क्वान्टम कम्प्युटरबीच तथ्यांक सञ्चारलाई निकै द्रुत बनाइदिने बताइएको छ। यसले स्टार ट्रेकका शैलीमा व्यक्तिबीचको सम्पर्कलाई आउँदा दशकमा अझै सजिलो बनाइदिनेछ। यस विषयमा चिनियाँ वैज्ञानिकहरूले धेरै सफलता प्राप्त गरेको छ।
चीनले सन् २०१६ सम्म 'क्वान्टम टेलिपोर्टेसन' को क्षमता भएको स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको मार्केट ओराकलको अनलाइन संस्करणमा डिके मताइले उल्लेख गरेका छन्।
यसबीच डी-वेभ सिस्टमले क्वान्टम कम्प्युटिङ अपरेसनमा अनुसन्धानका लागि अमेजन डट कमका अर्बपति जेफ बेजोस तथा सिआईएबाट तीन करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको द ग्लोब एन्ड मेलको अनलाइन संस्करणमा उल्लेख गरिएको छ। डी-वेभले पाँच वर्षअगाडि नै विश्वको पहिलो व्यापारिक क्वान्टम कम्प्युटर सिर्जना गरेको दाबी गरेको थियो तर त्यसलाई विशेषज्ञहरूले विश्वास गरेका थिएनन्।
यसबीच भियना विश्वविद्यालयका कासलाभ ब्रुकनरले क्वान्टम सुपरपोजिसनलाई सहयोग गर्ने क्वान्टम लजिक गेट्सयुक्त सर्किटका नमुनामा अध्ययन भइरहेको बताएका छन्। यसले कुनै पनि घटना तत्कालै व्यापक बनाउनसक्ने अपेक्षा गरिएको छ।
एकल अणुयुक्त ट्रान्जिस्टर, क्वान्टम लजिक गेट र सर्किट, क्वान्टम कम्प्युटर, क्वान्टम टेलिपोर्टेसन, क्वान्टम सुपरपोजिसनबीच क्वान्टम इन्टरनेट पनि अब सम्भव देखिने भएको छ। यसैले व्यापक आवश्यकता, माग तथा उत्पादन र व्यापक अनुसन्धानले यसको उपलब्धपनालाई आमजनताको खल्तीमा नपुर्‍याउला भन्न सकिन्न। त्यसो हाल तपाईंको खल्तीमा बसेको डिजिटल ट्याब्लेट कम्प्युटर कुनै समयमा यस्तो रूपमा आउनेछ भन्ने त्यसबेलाका वैज्ञानिकले पनि सोचेका थिएनन् होला।
रासस (स्रोत : विभिन्न समाचार संस्था इन्टरनेटका सामग्री)

प्रकाशित: २१ आश्विन २०६९ ०३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App