१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

रातिको लोकल कललाई नियन्त्रण

काठमाडौं, भदौ २९ (नागरिक)- राति ल्यान्डलाइनबाट सस्तो महसुलमा लोकल कल गर्ने दिन गए। टेलिकमले असोज १ गतेदेखि राति १० देखि भोलिपल्ट बिहान ६ बजेसम्म ८ मिनेटको एक कल हुने व्यवस्था खारेज गर्ने भएको छ। 'नयाँ व्यवस्थाअनुसार लोकल कललाई एकै प्रकारको बनाइएको छ,' टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले भनिन्। नयाँ व्यवस्थाअनुसार अब चौबीसै घन्टा लोकल कलमा दुई मिनेट बराबर एक कल हुन्छ।
अहिलेसम्म ल्यान्डलाइन र सिडिएमएको फिक्स्ड सेटबाट कल गर्दा लोकलमा दिउँसो (बिजनेस आवर) मा दुई मिनेट, साँझ र बिहान चार मिनेटको एक कल र राति ८ मिनेटको एक कलको महसुल लाग्दै आएको छ। एक कलको महसुल एक रुपैयाँ लाग्छ।
 
'लोकल कललाई एक रुपता दिन फरकफरक समयका लागि लाग्दै आएको अलग महसुललाई एउटै गर्न लागिएको हो,' प्रधानले भनिन्। नगरि नहुने कललाई मान्छेले राति १० बजेपछि गरौंला भनेर नकुर्ने उनले बताइन्।
टेलिकमले असोज १ देखिनै देशभरि एसटिडी सेवालाई प्रति मिनेट एक रुपैयाँमा झारेको छ। एसटिडीको महसुल घट्दा आम्दानीमा हुने असरलाई कम गर्न टेलिकमले लोकल कलमा रहेको तीन प्रकारको समयलाई एउटै गरेको हो।
टेलिकमले स्थानीय कलमा दुई मिनेट, चार मिनेट र आठ मिनेटको प्रावधानलाई २०५९ सालदेखि लागु गरेको हो। त्यसअघि दिउँसो ३ मिनेट र राति ६ मिनेट बराबर एक कलको महसुल लाग्थ्यो। २०५१ सालमा तत्कालीन सरकारले तीन मिनेट बराबर एक लोकल कलको प्रावधान लागु गरेको हो। त्यसअघि लोकलमा लगातार घन्टौं कुराकानी गरे पनि एक कलको मात्र महसुल लाग्थ्यो।

प्रकाशित: २८ भाद्र २०६९ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App