टेलिकमले अहिले प्रति एक सय किलोबाइटलाई १० पैसा छ। सरकारी राजस्वमा जाने दूरसञ्चार सेवा शुल्क र भ्याटसमेत जोड्दा यो १२ पैसा हुन्छ। बिहीबारदेखि भने प्रति एक सय किलोबाइटको ६ पैसाको हाराहारीमा मात्र शुल्क लाग्ने भएको छ।
यो अहिलेसम्म मोबाइल ब्रोडब्यान्डमा सबैभन्दा सस्तो महसुल हो।
टेलिकमले सिडिएममा ३.१ मेगाबिट प्रतिसेकेन्डको स्पिडमा इभिडियोसमेत सुरु गरेको छ। त्यस्तै पहिले नै जिएसएममा जिपिआरएस र थ्रीजी सेवासमेत चलाइसकेको छ।
टेलिकमका ताररहित इन्टरनेट चलाउने उपभोक्ता १८ लाख ५० हजार छन्। यसमध्ये जिपिआरएस र थ्रीजी सेवा १७ लाख ३६ हजारले लिएका छन् भने सिडिएमएको वानएक्स र इभिडियोका प्रयोगकर्ता एकलाख १३ हजार छन्।
मूल्य घटेपछि युवावर्गलाई विशेष लक्ष्य गर्न खोजिएको टेलिकमले जनाएको छ। अहिले टेलिकमले ५ गिगाबाइटको ब्यान्डविथ एअरटेल, सिङटेललगायत कम्पनीहरुसँग लिएको छ। पहिलेको भन्दा अन्तर्राष्ट्रिय ब्यान्डविथको मूल्य पनि घटिरहेकोले टेलिकमले घटाएको हो।
पाँच वर्ष अघि टेलिकमले सिडिएमएबाट इन्टरनेट सुरु गर्दा प्रति एकसय किलोबाइटको कर वाहेकनै २५ पैसा शुल्क लिन्थ्यो। पाँच वर्षको अवधिमा वायरलेस इन्टरनेटको शुल्क घटेर प्रति एकसय किलोबाइटको ५ पैसामा झरेको छ।
टेलिकमले तीन महिनाको लागि प्रवर्द्धनात्मक भनेपनि दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भएपछि सधैभरिको लागि यो महसुल कायम गर्ने तयारी गरेको छ। सबै प्रकारका दूरसञ्चार सेवाको महसुल प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ।
टेलिकम सूचना प्रविधि निर्देशनालय प्रमुख शिबभुषण लालका अनुसार अन्य इन्टरनेट सेवाका उपभोक्तालाई समेत बढी सुविधा दिनेगरि तयारी भइरहेको छ। टेलिकमले एडिएसएल, डायलअप र लिज्डलाइनबाट पनि इन्टरनेट दिइरहेको छ।
सिमकार्डको माध्यमबाट टेलिकम सहित एनसेल र युटिएलले समेत इन्टरनेट सेवा दिइरहेका छन्।
प्रकाशित: २१ असार २०६९ ०५:५१ बिहीबार





