१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

डलर आइतबार ८९ हाराहारीमा

काठमाडौं, जेठ १७ (नागरिक)- युरोपेली अर्थतन्त्रमा सुधार आउने समाचार सार्वजनिक भएपछि अमेरिकी डलरसँग भारतीय मुद्रा बलियो हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ। भारु बलियो भएसँगै नेपाली मुद्रा पनि महँगिएको छ।

भारतीय बजार बन्द हुँदा डलरको मूल्य तीन वर्षयताकै उच्च अन्तरले घटेका कारण राष्ट्र बैंकले शनिबार र आइतबारका लागि तोकेको डलरको मूल्य अझ कम हुने भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार दिउसो एक बजेसम्मको कारोबारलाई लिएर शनिबार र आइतबारका लागि डलर मूल्य तोकेको थियो।

नेपालमा डलरको मूल्य तोकिसक्दा भारतीय मुद्रा थप बलियो भएकाले आइतबार डलर ८९ रुपैयाँको हाराहारीमा पाइने छ। शनिबार र आइतबार भारतीय बजार बन्द हुने भएकाले शुक्रबारको अन्तिम मूल्यसँग समायोजन गर्दा पनि एक डलर बराबर ८९ रुपैयाँको हाराहारीमा आइपुग्छ।

भारतीयसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारु बलियो हुँदा नेपाली मुद्रा पनि महँगिन्छ।

फोरेन एक्सचेन्ज डिलर्स एसोसिएसन संघ नेपालका अनुसार राष्ट्र बैंकले तोकेको भन्दा थप एक रुपैयाँ सस्तोमा आइतबार कारोबार हुने छ। राष्ट्र बैंकले एक डलरको मूल्य ९० रुपैयाँ ३५ पैसा तोकेको छ।

शुक्रबार युरोपेली सम्मेलनमा भएको महत्वपूर्ण सहमतिसँगै डलरको भाउ घट्न थालेको हो। वित्तीय संकटसँग लड्न स्पेन र इटालीलाई दिने ऋणको ब्याज दर घटाउने विषयमा युरोपेली नेताबीच सहमति भएपछि डलर कमजोर हुन थालेको हो।
युरोपको अर्थतन्त्र उकास्ने गरी समाचार सार्वजनिक भएपछि युरो बलियो भएर डलर कमजोर भएको छ। भारतमा भित्रिने अधिकांश लगानी युरोपको भएकाले त्यहाँका अर्थतन्त्रमा आएको सुधारले भारतमा वैदेशिक लगानीको मात्रा बढ्ने आशा गर्न सकिन्छ। युरोपको अर्थतन्त्र कमजोर भएको समाचार आउँदा भारतमा भएको लगानी जुनसुकै बेला फिर्ता हुनसक्ने आशंकामा डलर बलियो बनेको थियो।

भारतले पनि डलरको मूल्य घटाउन दुईवटा महत्वपूर्ण निर्णयहरु गरेको थियो। पहिलो, सरकारी ऋणपत्रमा पुँजी लगानी २० प्रतिशतले बढाउने र दोस्रो, कम्पनीहरुसँग भारुमा लिएको ऋणको पुनर्कर्जाका लागि १० अर्ब डलरको ऋण लिन अनुमति दिने। यसले डलरलाई कमजोर बनाउन सहयोग गरेको हो।

डलरको मूल्य घट्दा नेपाली अर्थतन्त्रलाई पनि फाइदा पुग्छ। डलर सस्तिँदा विदेशबाट भित्रिने वस्तु, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जान सस्तो पर्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिटेन्स) पाउने परिवारलाई डलर सस्तो हुँदा नोक्सानी हुन्छ।

विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च घट्छ। औषधि उपचार, पर्यटक भएर विदेश भ्रमणमा जानेहरूलाई सस्तिएको डलरले राहत दिने छ।

डलर तिरेर विदेशबाट आउने सामानको मूल्य घट्छ। डलर सस्तिँदा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानी गर्न सहज हुन्छ। यसले बजेट घाटाको आकार कम गर्छ।

प्रकाशित: १६ असार २०६९ २२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App