मोगार्न स्टान्लीका तर्फबाट आइपिओ संयोजन गरेका ४५ वर्षिय माइकल ग्रिम्सलाई धेरैले दोषी ठहर्याएका छन्। १९९० दशकको सुरु देखि मोर्गान स्टान्लीले सूचना प्रविधि क्षेत्रका कम्पनीको सेयर निष्कासनमा अग्रता लिदै आएको छ। फेसबुकको सेयर जारीमा पनि सफल हुने विश्वास लगानीकर्ताले लिएका थिए।
शुक्रबार फेसबुकको सेयर मूल्य ३.४ प्रतिशतले घटेर प्रतिसेयर ३१.९१ डलर कायम भएको छ। यो आइपिओ गर्दाको प्रतिसेयर ३८ डलरभन्दा १६ प्रतिशत कम हो। स्टान्लीको सल्लाह मानेर फेसबुकले सेयर जारी गर्ने मूल्य ३८ डलर निर्धारण गरेको थियो भने जारी गर्ने सेयरको संख्या पनि बढाएको थियो। ग्रिम्सले यस विषयमा टिप्पणी गर्न चाहेनन्।
स्टान्लीका अन्य अधिकारीले भने यसमा सेयर सूचीकृत भएको नास्दाकको प्राविधिक समस्यालाई दोष दिएका छन्। कारोबार हुने समयमा नास्दाकमा प्राविधिक समस्या आएर आधा घण्टा ढिलो सेयर किनबेच भएको थियो। नास्दाकका प्रवक्ताले पनि यस विषयमा टिप्पणी गर्न चाहेनन्।
'फेसबुकका सेयर प्रत्याभुतिकर्ताले चलखेल गरेका हुन,' वेडबुस सेक्युरिटिजका विश्लेषक माइकल प्याचरले भने, ' हल्लाकै भरमा फेसबुकको सेयर मूल्य बढ्छ भन्ने उनीहरुलाई लागेको हुनसक्छ।' प्रत्याभुतिकर्ता (मोगार्न स्टान्ली)ले आफ्नो कोणबाट ठिकै गरेको तर फेसबुकको छविमा आँच आएको र लगानीकर्ता नोक्सानीमा परेको उनले बताए।
फेसबुकको आइपिओमा मोगार्न स्टान्लीलाई भने फाइदै भएको छ। प्याचरका अनुसार स्टान्लीले फेसबुकको ४८ करोड ४४ लाख कित्ता सेयरलाई ४२ करोड १२ लाख कित्ता बराबरको मूल्यमा किनेको थियो। सेयर बजारको भाषमा यसलाई 'ओभर अलोटमेन्ट' भनिन्छ। स्टक एक्सचेन्जमा सेयर मूल्य घट्दा प्रत्याभूतिकर्ताले तिनै अतिरिक्त संख्याको सेयरबाट प्राप्त नाफा प्रयोग गरेर मूल्य प्रतिकित्ता ३८ डलरमै टिकाइरहेका थिए। जब मूल्य ३८ डलरबाट तल झर्यो स्टान्लीले यसबाट हात झिक्यो।
फेसबुकको मुख्य कारोबारलाई खासै असर नपर्ने भए पनि मोगार्न स्टान्लीसहित अरु सहायक प्रत्याभुतिकर्ताले मूल्य र सेयर संख्या बढाउने गल्ती कसरी हुन गयो भन्ने स्पष्टीकरण दिनुपर्ने विश्लेषक बताउँछन्। स्टान्लीले यस अघि गरेका आइपिओ पनि चर्चामा छन्। उसले बिक्री प्रबन्धकको काम गरेको जिंगाको सेयर मूल्य अहिले आइपिओ भन्दा तल आएको छ भने लिंक्डइनको मूल्य दुई गुणा बढेको छ। २०११ यता स्टान्लीले बिक्री व्यवस्थापन गरेका सूचना प्रविधि क्षेत्रका २३ कम्पनीमध्ये ४ को मात्रै मूल्य घटेको छ। मोर्गान स्टान्लीको कुल आयमा प्रत्याभुति र सेयर कारोबारबाट हुने आम्दानीले ठूलो हिस्सा ओगट्दै आएको छ।
प्रकाशित: १५ जेष्ठ २०६९ १२:४१ सोमबार





