नेपालमा यसको मूल्य ६७ देखि ६८ हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ।
सामसङ मोबाइलको नेपाली आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) का प्रमुख कार्यकारी विशाल आचार्यका अनुसार फोन नेपाल ल्याउन पहल सुरु भइसकको छ। अन्तर्राष्ट्रिय बजारमा गत सातादेखि उपलब्ध भए पनि नेपालमा भने केही समय लाग्ने उनले बताए। 'नेपालमा यसबारे अध्ययन भइरहेको छ,' आचार्यले भने, 'असार तेस्रो सातादेखि बेच्न सुरु गर्छौं।'
मोबाइलको दुनियाँमा धेरैले लामोसमयदेखि प्रतीक्षित एस थ्री बजारमा लोकप्रिय भइसकेको छ। यो फोनमा एस टुका विशेषतालाई सुधार गरेर थप नौला विशेषता राखेर ल्याइएको छ।
'एस टुभन्दा केही महँगो पर्छ,' आचार्यले भने। एप्पलको आइफोनसँग प्रतिस्पर्धा गरिरहेको सामसङले आइफोनमा भन्दा नयाँ सुविधा दिएको छ। त्यसो त बजार प्रतिस्पर्धामा एप्पलले पनि आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
सामसङ ग्ग्यालेक्सी एस थ्रीमा नौला विशेषता भएकाले युवापुस्ताबीच लोकप्रिय हुने विश्वास आइएमएसले लिएको छ। यसको सोधखोज गर्नेहरुको बढिरहेका छन्,' आइएमएसका बजार व्यवस्थापक पुष्कर खतिवडाले भने, 'नेपालमा कहिले र कति रकम पर्छ भनेर धेरैले चासो दिएका छन्।'
ग्यालेक्सी एस टुभन्दा ठूलो र ग्यालेक्सी नोटभन्दा अलि सानो यो फोनको स्क्रिन एसटुको भन्दा २२ प्रतिशत ठूलो। यसमा चार दशमलव आठ इन्चको ठूलो एचडी एमोलेड स्वि्र्कन छ।
उपभोक्तालाई नयाँ लाग्ने विशेषताहरु यसको आकर्षण रहेको खतिवडाले बताए। प्रयोगकर्ताले हेरुन्जेलसम्म स्क्रिन बन्द नहुने यसको नयाँ र आकर्षक विशेषता हो। स्मार्ट स्टे भनिने यो प्रविधिले प्रयोगकर्ताको आँखालाई ट्रयाक गर्छ।
यसको रमाइलो विशेषता भनेको एस भ्वाइस हो। एप्पलको आइफोनमा भएको भ्वाइस असिस्टेन्ट सिरीको जस्तो सुविधा भएको यसमा प्रयोगकर्ताको आवाजको आदेश मान्ने एउटा सफ्टवेयर राखिएको छ। 'बिहान लगातार अर्लाम बजेर दिक्क बनाए स्नुज भनेपछि आफैं अर्लाम बन्द हुन्छ,' विशेषताबारे खतिवडा भन्छन्,'अर्लाम एफ्टर १० मिनेट्स भनेर अंग्रेजी वा फ्रान्सेली र इटली भाषामा भनेपछि अर्लाम बन्द भएर १० मिनेटपछि फेरि बज्छ।'
एस थ्रीमा फोन आएपछि अरु फोनमा जस्तो किप्याडमा थिचेर उठाइरहनुपर्दैन। मोबाइल लिएर कानमा लाने बित्तिकै फोन उठ्छ। हातदेखि कानसम्मको दुरी थाहा पाउने प्रविधि भएकाले यस्तो सजिलो भएको खतिवडाले बताए। उनका अनुसार यो सेटले साथीलाई फोन गर भनेर नाम भनेपछि आफैं फोन डायल गरिदिन्छ।
यसमा सामसङको क्वाड कोर एक्सिनोस प्रोसेसर भएकाले यो छिटो छ। त्यसैले एप्लिकेसनहरु छिटो खुल्छन्। अनि यसमा आठ मेगापिक्सेलको क्यामेरा छ। यो नीलो र सेतो दुई रङमा किन्न पाइन्छ।
यसको अर्को लोभलाग्दो फाइदा भनेको एकैचोटि दुईवटा काम गर्न सक्नु रहेको बजार व्यवस्थापक खतिवडाले जानकारी दिए। जस्तो कि इन्टरनेट चलाउँदै गर्दा गीत सुन्न मन लाग्यो भने स्क्रिनमा दुईवटा डिस्प्ले गर्न सकिन्छ। 'कसैलाई इमेल गर्दागर्दै वा अरु साइट हेर्दहेर्दै मनपर्ने भिडियो पप अप प्लेमा बजाइरहन सकिन्छ,' खतिवडाले भने।
सामसङको यो नयाँ मोबाइलमा आइस क्रिम स्यान्डविच नामको एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ। सेटको थप विशेषता भनेको फेस अनलक पनि हो। अर्थात् यो फोनलाई अनलक गर्न प्रयोगकर्ताको अनुहार वा आवाज प्रयोग गर्न सकिन्छ।
प्रकाशित: ३ जेष्ठ २०६९ ०८:२० बुधबार





-600x400.jpg)