गत माघ दोस्रो साता राजधानीमा भएको क्यान इन्फोटेकमा बुकिङ गर्नेलाई मार्चभित्रै दिने घोषणा गरेका कम्पनीका अधिकारीहरु अहिले सम्पर्कमै नआएको बुकिङकर्ताहरुले गुनासो गरेका छन्। 'मैले फोन गर्दा कम्पनीका जिम्मेवार पदाधिकारी भेटिएनन्, रिसेप्सनमा काम गर्नेले वैशाखमा आउँछ भनेका थिए,' आकाश बुकिङ गरेका रमेश श्रेष्ठले भने। कम्पनीका अधिकारीहरु नभेटिएपछि उनले बुकिङ गर्दा तिरेको एकसय रुपैयाँ ठगिएको निश्चित भएर अर्कै ट्याबलेट किनेको बताए।
दुई महिनाभित्रै दिने घोषणा गरेपछि २० हजारको हाराहारीमा युवाहरुले बुकिङ गरेका थिए। 'झन्डै २५ हजारले आकाश ट्याबलेट बुकिङ गरेको विवरण गिजमसले दिएको छ,' कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का एक पदाधिकारीले भने।
क्यानले बुकिङकर्ताको विस्तृत विवरण माग गर्दासमेत कम्पनीले दिएको छैन। 'क्यान इन्फोटेकमा बुकिङ गरिएको हुँदा धेरैले हामीसँग चासो राखिरहेका छन्, तर कम्पनीले नै विवरण दिएको छैन,' क्यानका सचिव अमृत पन्तले भने। गिजमसले नै विवरण नदिएको हुँदा सस्तो आकाश ट्याबलेट पाउने आशामा कति जना ठगिए यकिन विवरण अरु निकायसँग छैन। संसारकै सस्तो भनेर प्रचार भएको यो ट्याबलेट किन्न इच्छा गर्ने बुकिङकर्ताबाट गिजमसले लगभग २० लाख रुपैयाँ उठाएको छ। कम्पनीले नेपालमा आकाशको नयाँ भर्सनलाई नेपालमा ल्याउने प्रचार गरेको थियो। माघ दोस्रो साता गिजमसका निर्देशक विपीन खेतानले एक महिनाभित्रै दिने बताएका थिए।
भारतमै पनि आकाश ट्याबलेट उत्पादन गर्ने कम्पनी डाटाविन्डको व्यवस्थापनमा व्यापक परिवर्तनले उत्पादन प्रभावित भएको छ। शुक्रबार प्रकाशित 'द इकोनमिक टाइम्स' का अनुसार क्यानडामा रहेका गैरआवासीय भारतीयले कम्पनी किनेपछि डाटाविन्डबाट ६ जना वरिष्ठ कर्मचारीहरुले राजीनामा दिएका छन्।
डाटाविन्ड अहिले आर्थिक संकटको अवस्थामा छ। भारतमै पनि १८ हजार ग्राहकहरुले आकाश ट्याबलेट किन्न पूरै रकम भुक्तानी गरिसकेका छन्। 'अमृतसरमा रहेको कल सेन्टरमा मात्र दैनिक ट्याबलेट नपाएको भनेर दैनिक ४० हजार कल आउने गरेको छ, त्यतिमात्र होइन बजारमा प्रवर्द्धनका लागि जाँदा देखाउनलाई समेत एउटै ट्याबलेट छैन,' कम्पनीका एक अधिकारीको भनाइ उद्धृत गर्दै इकोनमिक टाइम्सले लेखेको छ।
१८ हजार सर्वसाधारणलाई आकाश ट्याबलेट दिने भन्दै डाटाविन्डले ५ करोड ७० लाख भारतीय रुपैयाँ उठाइसकेको छ। सस्तो भएको हुँदा भारत सरकारले समेत कम्पनीलाई प्रवर्द्धन गर्न एक लाख ट्याबलेट पिसी किन्ने सम्झौता गरेको छ। भारतभित्र र बाहिरबाट समेत गरी डाटाविन्डसँग आवद्ध भएर आकाश ट्याबलेट बिक्री गर्न अनलाइनबाट मात्र ३० लाख अर्डर पाएको छ।
आकाश ट्याबलेट बनाउने कम्पनी पूर्ण क्षमतामा चल्ने हो भने दैनिक उत्पादन क्षमता चारसय मात्र छ। कम्पनीका क्षमतावान प्राविधिकहरुले धमाधम छाडिरहेको र आर्थिक रुपमा समेत संकटमा गएकाले त्यहीको अर्डर पूरा गर्न सकेको छैन। क्यान इन्फोटेक र त्यसभन्दा पछि गिजमस मार्फत बुकिङ गरेकाले ट्याबलेट पाउने अवस्था नै नभएको कम्पनीभित्रको समस्याले प्रमाणित गरेको छ।
डाटाविन्डको दैनिक क्षमता विश्लेषण गर्दा र गिजमसले बुकिङ सार्वजनिक गरेको बुकिङ संख्याका आधारमा नेपालकै लागि उत्पादन गर्न लगातार ५० दिन लाग्छ। भारतमै माग पूरा गर्न नसकिरहेको हुँदा नेपालमा आउनेमा शंका भएको क्यानका अर्का एक पदाधिकारीले बताए।
प्रकाशित: २३ वैशाख २०६९ २०:३२ शनिबार





-600x400.jpg)