२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

टेलियासोनेराले एनसेलमा स्वामित्व बढाउने

काठमाडौं, चैत २४ - एनसेलको मुख्य लगानीकर्ता युरोपको टेलिया सोनेराले कम्बोडियाको मोबाइल कम्पनी बेचेर एनसेलमा स्वामित्व बढाउने भएको छ।
टेलिया सोनेराले एनसेलमा अहिले रहेको सेयरमा १२.४३ प्रतिशतले थप्ने निर्णय गरेको छ। टेलिया सोनेराका अनुसार एनसेलमा उसको लगानी ६०.४० प्रतिशत छ।  
कम्बोडियाको स्मार्ट मोबाइलमा रहेको मध्य १८.६ प्रतिशत बेचेर नेपालमा लगानी थप्ने निर्णय भएको टेलिया सोनेराले जनाएको छ। कम सेयर भएको कम्पनीबाट बढी सेयर भएकोमा बढाउने रणनीति अनुसार स्मार्ट मोबाइलको लगानी बेचेर एनसेलमा लगानी गर्ने निर्णय टेलिया सोनेराले गरेको हो।
टेलिया सोनेराले कम्बोडिया र नेपालमा एकै पटक २०६५ असोजमा लगानी गरेको हो। त्यतिखेर टेलिया सोनेराले नेपालको स्पाइस नेपाल र कम्बोडियाको एप्लिफोनको सेयर ४८ करोड ४० लाख डलरमा किनेको थियो। स्पाइस नेपालको नाम दुई वर्षअघि परिवर्तन भएर एनसेल भएको छ भने कम्बोडियाको एप्लिफोनको नाम फेरेर स्मार्ट मोबाइल बनाइएको छ।
त्यतिखेरको स्पाइस नेपालको बहुमत सेयर किने पनि कम्बोडियाको स्मार्ट मोबाइलमा भने अल्पमत सेयर छ। कम्बोडियामा निकै ठूलो प्रतिस्पर्धा रहेकोले त्यहाँको सेयर बेचेर नेपालमा थप लगानी गर्ने निर्णयमा कम्पनी पुगेको हो।
टेलिया सोनेराले आफ्नो लगानी भएको स्थानमा पहिलो वा दोस्रो नम्बरको सेवा प्रदायक हुने रणनीति लिएको छ। कम्बोडियामा त्यो रणनीति सफल नभएपछि नेपाली कम्पनीको थप सेयर लिने निर्णयमा टेलिया सोनेरा पुगेकेा हो।
एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको आफ्नो सेयरहोल्डर संरचना अनुसार रेनोल्ड होल्डिङको ८० प्रतिशत र नेपाली लगानीकर्ता सिनर्जी नेपालको २० प्रतिशत सेयर छ। सिनर्जी नेपालको सेयर यसै साता संस्थापक लगानीकर्ता उपेन्द्र महतोले नीरजगोबिन्द श्रेष्ठको नाममा हस्तान्तरण गरेका छन्।
टेलिया सोनेराले कुन कम्पनीसँग थप १२ दशमलव ४३ प्रतिशत सेयर किनेको भन्ने खुलाइएको छैन। कति रकममा यो डिल भएको हो भन्ने पनि विज्ञप्तीमा खुलाईको छैन।
विज्ञप्तीमा नियामक निकायबाट स्विकृती प्राप्त भएमा सेयर लगानी बढाइने टेलिया सोनेराले उल्लेख गरेको छ। दूरसञ्चार नीति २०६० अनुसार विदेशीले अधिकतम ८० प्रतिशतमात्र सेयर लिन पाउँछन्।
'तत्कालिन स्पाइस नेपाललाई लाइसेन्स दिँदा खोलिएको टेण्डर डकुमेन्ट, दूरसञ्चार नीति २०६० र विश्व व्यापार संगठन (डब्लुटिओ) को दूरसञ्चार सेवा खुल्ला गर्ने व्यबस्थामा समेत यो क्षेत्रमा अधिकतम ८० प्रतिशतमात्र विदेशी लगानी स्विकार गरिएको छ,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।

प्रकाशित: २३ चैत्र २०६८ २२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App