महतोले आफ्नो नाममा एनसेलमा रहेको २० प्रतिशत सेयर नामसारी प्रक्रिया यसै साता पूरा गरेका छन्। 'हामीले आन्तरिक रुपमा कारोबार मिलाएका हौं,' महतोले नागरिकसँग टेलिफोनमा भने, 'म हाम्रो साझेदारीको अरु नै कम्पनी हेर्छु, नीरजजीले एनसेल हेर्नुहुन्छ।'
महतोले जिम्मेवारीमात्र फेरबदल गरिएकाले सेयर खरिदबिक्री भने नभएको बताए। देशको दोस्रो जिएसएम मोबाइल सेवा प्रदायक र निजी क्षेत्रको भने पहिलो मोबाइल कम्पनीको रुपमा एनसेलले २०६२ असोजदेखि सेवा सुरु गरेको हो। तत्कालीन खेतान समूह र भारतको स्पाइससँग रहेको मोबाइल सेवा सुरु गर्ने आसयपत्र (एलओआई) किनेर महतोको नेतृत्वमा गैरआवासीय नेपालीहरुले नेपालमा स्पाइस नेपाललाई सञ्चालन गरेका थिए।
स्थापनाको तीन वर्षपछि महतो समूहले ८० प्रतिशत सेयर युरोपको टेलियासोनेरालाई बेचेको थियो। एनसेलको २० प्रतिशत सेयर भने महतो र उनका पार्टनरहरुसँग बाँकी छ। यही सेयर श्रेष्ठको नाममा नामसारी गरेका हुन्।
'हाम्रो व्यावसायिक सहकार्य युरोपदेखि नेपालसम्म भएकाले मैले उहाँ (नीरज) लाई जिम्मा लगाएको हुँ,' महतोले भने। उनले सेयर बेचिएको नभई आन्तरिक रुपमा जिम्मेवारी हस्तान्तरणमात्र भएको दावी गरे।
महतो र श्रेष्ठ निकट स्रोतका अनुसार विद्यार्थीकालदेखि नै दुवैजना सहकर्मी हुन्। दुवैको सहकार्यमा अहिले बेलारुसमा आम्कादोर नामक ठूलो कम्पनी सञ्चालनमा छ। 'सेयर किनबेच भएको होइन, दुवै पार्टनरले एक अर्कामा जिम्मेवारी हस्तान्तरण गरेकामात्र हुन्,' स्रोतले भन्यो।
महतो र श्रेष्ठबीच नेपालमा सञ्चालित सानिमा विकास बैंक, सानिमा हाइड्रोलगायत व्यवसायमा समेत संयुक्त लगानी छ। श्रेष्ठ सानिमा बैंकका सञ्चालक पनि हुन्। एनसेलका एक अधिकारीले दुईजनाबीच सेयर हस्तान्तरण प्रक्रिया टुंगिइसकेको जानकारी दिए। 'सम्भवत अब सञ्चालक समितिमा महतोको ठाउँमा श्रेष्ठ आउने छन्,' स्रोतले भन्यो।
महतोले धेरै कम्पनी हेर्न नभ्याएकाले आफूले श्रेष्ठलाई एनसेल जिम्मा लगाएको बताए। उनले सेयर बिक्री नभई आन्तरिक रुपमा जिम्मेवारी परिवर्तनमात्र भएको उल्लेख गरे। मेरो मोबाइल ब्रान्डमा सेवा सञ्चालन गर्दासम्म सुस्त रहेको एनसेल २०६६ फागुनमा ब्रान्ड परिवर्तनपछि आक्रामक रुपमा अघि बढेको छ। एनसेलमा परिवर्तन हुँदा २२ लाख ग्राहक रहेकोमा अहिले ७० लाख ग्राहक आधार नाघिसकेेको छ।
पछिल्लो समय सरकारलाई कर तिर्नेमध्ये अगाडि रहेको एनसेलमा टेलियासोनेराले प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेन र व्यावसायिक टिम पठाएपछि बजार बिस्तार एवं नयाँ प्रविधिमा यो कम्पनीले ठूलो सफलता प्राप्त गरेको छ।
प्रकाशित: २३ चैत्र २०६८ ००:११ बिहीबार





