१५ चैत्र २०८० बिहीबार
प्रविधि

३६ करोडमा ३२ टिबीको डाटा रिकभरी सेन्टर बन्ने

काठमाडौं, चैत १३ (नागरिक) - सरकारी एवं निजी क्षेत्रका सूचना र व्यावसायिक विवरणहरु सुरक्षित राख्न झन्डै ४६ लाख डलर (३६ करोड रुपैयाँ) मा हेटौंडामा डाटा सेन्टर बन्ने भएको छ।

राजधानीको सिंहदरबारभित्र रहेको डाटा सेन्टरको ब्याकअप (सहायक) को रुपमा समेत रहने यसको निर्माणमा कोरियाली सहयोग नियोग (कोइका) ले सम्पूर्ण आर्थिक र प्राविधिक सहयोग गर्ने भएको छ।
डिज्यास्टर रिकभरी सेन्टर (विपद् पुनर्स्थापना केन्द्र) को रुपमा हेटौंडामा निर्माण हुने यो केन्द्रको निर्माण तीन वर्षभित्र पूरा हुनेछ। डाटा सेन्टर निर्माणको लागि हेटौंडाको हुप्राचौरमा १० कट्ठा जग्गा नगर विकास समितिले उपलब्ध गराएको छ।
कोइकाले 'सरकारी एकीकृत डाटा केन्द्र' निर्माण गरेर साढे दुई वर्षअघि राष्ट्रिय सूचना प्रविधिलाई हस्तान्तरण गरेको थियो। सिंहदरबारभित्र रहेको यो डाटा सेन्टरमा अहिले सरकारी र गैरसरकारी निकायहरुले आफ्ना महŒवपूर्ण सूचनाहरु राखेका छन्। तर ब्याकअप नहुँदा यो प्रभावकारी रुपमा चल्न सकेको छैन। ब्याकअप नभएकै कारण सरकारी र निजी क्षेत्रले यो डाटा सेन्टरलाई पुरै विश्वास गरेका छैनन्।
सिंहदरबारको डाटा सेन्टरलाई प्रभावकारी सञ्चालनको निम्ति ब्याकअप सेन्टर आवश्यक पर्ने भएपछि कोइकाले नै एक वर्षदेखि निर्माण गरिदिने चासो देखाएको थियो।
'हेटौंडामा रिकभरी सेन्टर बनेपछि कुनैपनि प्राकृतिक प्रकोप र मानवीय त्रुटिबाट हुने सूचनाको क्षतिलाई रोक्न सकिनेछ,' सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटाले भने। अहिले डाटा सेन्टरमा राखिएको सूचनाहरु प्राकृतिक प्रकोपलगायत कुनै कारणले सूचनाहरु नष्ट भए सधैंका लागि गुमाउनुपर्ने अवस्था छ। रिकभरी सेन्टर सञ्चालनमा आएपछि दुवैतिर डाटा/सूचनाहरु राख्न सकिन्छ।
कोइकाकी आवासीय प्रतिनिधि दो योङ आले सुशासनको लागि सूचना प्रविधि प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेपाललाई प्राथमिकतासाथ सहयोग गर्दै आएको बताइन्। तीन वर्षे अवधिका लागि हेटौंडाको डाटा सेन्टर सञ्चालन गर्न आवश्यक खर्च, कर्मचारीलाई तालिम समेत कोइकाले नै व्यहोर्ने सम्झौतामा छ।
कोइकाले अहिलेसम्म विद्युतीय सुशासन, इ-कस्टम, पुल्चोक इन्जिनियरिङ क्याम्पसका लागि सूचना प्रविधिको निम्ति एक अर्ब रुपैयाँ बराबर सहयोग गरिसकेको छ।
ब्याकअप नभएको हुँदा सरकारी डाटा सेन्टर भए पनि बैंकहरुले आफ्नो तथ्यांक राख्न विश्वास गरेका छैनन्। हेटौडामा बनेपछि भने यसको प्रभावकारिता अझै बढ्ने बास्कोटाले बताए।
'यसमा केही एप्लिकेसनहरु एकै पटक सञ्चालन हुन्छन्, केही डाटाहरु विस्तारै दुवैतिर ब्याकअपको रुपमा बस्छन्,' बाँस्कोटाले भने।
धेरै देशहरुले आफ्ना महत्वपूर्ण डाटाहरु जस्तोसुकै प्राकृतिक प्रकोप, मानवीय त्रुटिमा समेत नष्ट हुन नहोस् भनेर रिकभरी साइटहरु बनाउँछन्। यस्तो साइटहरु मुख्य डाटा सेन्टरबाट टाढा, फरक भौगोलिक वातावरण, पूर्वाधारको सुविधभा पुगेको स्थानमा बनाइन्छ।
'प्रशस्त पूर्वाधार, काठमाडौंको भन्दा फरक भौगोलिक अवस्था र राजनीतिक रुपमा शान्त स्थानको रुपमा हेटौंडा देखिएको हो,' बास्कोटाले भने। डाटा सेन्टरको लागि बिजुली बत्ति, व्याण्डविथ, सडक लगायत सबै दृष्टिले हेटौडा उपयुक्त छ।
नेपाल टेलिकमको पूर्व-पश्चिम राजमार्गमा रहेको अप्टिकल फाइबर, हेटौंडादेखि काठमाडौंसम्म विद्युत प्राधिकरण प्रशारण लाइनमा रहेको ओपिजीडव्ल्यू अप्टिकल फाइबरले इन्टनरेट व्याण्डविथ हेटौंडा उपयुक्त स्थान हो।
सिंहदरबारमा निर्माण भएको डाटा सेन्टरलाई कोरियाले 'सफल प्रोजेक्ट' का रुपमा राखेको छ। यो सफल भएकोले अझै प्रभावकारी सञ्चालनको लागि व्याकअपको रुपमा अर्को बनाउन सहमत भएको सम्झौता भएको हो।
भुइँचालो गएर पुरै संरचना ध्वँस्त हुँदा, आगलागी हुँदा डाटा सेन्टरमा रहेका सूचनाहरु नष्ट हुनसक्छन्। यस्तो खतरा भविष्यमा आउन नदिन व्याकअपको रुपमा सूचनाहरु राख्न सहायक डाटा सेन्टर निर्माण गर्ने चलन अरु देशमा छ। विकसित देशहरुमा १०/१२ वटासम्म सहायक डाटा सेन्टर राखिन्छ।
हेटौंडामा डाटा सेन्टर बनेपछि सरकारी, अर्धसरकारी लगायत निजी क्षेत्रलाई समेत आकर्षित गर्न सकिने अपेक्षा केन्द्रको छ।
नेपालको डाटालाई व्यवस्थित अनि सुरक्षित गर्न कोइकाले ३५ लाख अमेरिकी डलर (झण्डै २५ करोड रुपैयाँ) मा सिंहदरबारको डाटा केन्द्र निर्माण गरेको हो।
यो जिआइटीसीमा अहिले मेसिन रिडेबल राहदानीको फर्म, लोकसेवा आयोगको परिक्षा प्रणाली, इ-टेण्डरहरु, भौतिक योजना मन्त्रालयका केही डकुमेन्ट, बैदेशिक रोजगार विभागका सूचना र आन्तरिक राजश्व विभागले व्याकअपको रुपमा आफ्नो डाटा राखेको छ।
यो डाटा सेन्टरको क्षमता अहिले ३२ टेराबाइटसम्म छ। बैंक तथा वित्तीय संस्थाहरुले डाटा सुरक्षित राख्न आफैंले सर्भर राख्न सक्ने सुविधा दिइएको छ।

प्रकाशित: १२ चैत्र २०६८ २१:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App