पोखरामा एकसातादेखि संचालित दक्षिण एशियाली नेटवर्क प्रदायकहरुको १८ औं सम्मेलनमा सहभागीहरुले अबका केही समयभित्र नेपालमा इन्टरनेटका ग्राहकको सख्या बढाउन नयाँ प्रविधिको प्रयोग जरुरी रहेको बताए।
'नेपालमा इन्टरनेटको दीर्घकालिन प्रयोगका लागि पछिल्लो समय विकास गरिएको इन्टरनेट प्रोटोकल भर्सन-६(आइपीभि-६) नेटवर्क प्रयोग गर्नुपर्ने जरुरी छ'
सम्मेलनका अध्यक्ष गौरबराज उपाध्यायले भने, 'अहिलेसम्म आइपीभि-४ नेटवर्क प्रयोग भइरहेको थियो, अब स्तोरन्नती गर्नुपर्ने जरुरी छ।' उनले इन्टरनेटको दीर्घकालीन प्रयोगको लागि नै आइपीभि-६ प्रविधि ल्याइएको बताए।
'भविष्यमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढाउन आइपीभि-६ मा नगइ हुँदैन' उपाध्यायले भने। उनका अनुसार नेपालका इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले आइपीभि-६ मा नगएसम्म अबका केही समयपछि इन्टरनेट प्रयोगकर्ताको संख्या बढाउन सक्दैनन्।
'अहिलेसम्मको प्रविधिको सिमा सकिएकोले अब नयाँ प्रविधिमा फड्को मार्नु जरुरी छ' उनले भने, 'क्षमता नभएपछि गा्रहकको संख्या बिस्तार गरेर मात्र भएन।'
करिब एक दशक अघि नै विभिन्न विकसित मुलुकमा सुरु भइसकेको आइपीभि-६ नेपालमा अबको केही वर्षभित्र सुरु गरिसक्नुपर्ने आइस्पानका अध्यक्ष विनय बोहराले बताए। उनले अहिले पोखरामा भइरहेको सम्मेलनमार्फत नेपालका सबै आइएसपीलाइ नयाँ प्रविधिमा जान सुझाव दिएको बताए।
सम्मेलनमा सहभागि संसारभर आइपीभि-६ नेटवर्क संचालन गरिरहेको हरिकन इलेक्ट्रिकका मार्टिन लिभीका अनुसार नेपालमा आइपीभि-४ को स्पेश सकिएकोले अब बिस्तार गर्नुपर्ने बेला भएको छ। आइपीभि-६ विश्वका १ सय ३८ मुलुकमा प्रयोगमा आइसकेको छ।
नेपालमा पनि यसको आवश्यकता देखेको आफुले महसुस गरेको उनले बताए। 'आइपीभि-६ मा जाँदा आइएसपीहरुले पछिल्लो ४/५ वर्ष यता प्रयोग गरेका प्रविधिले नै काम गर्छन, तर प्राविधिक नयाँ चाहिन्छन' लिभीले भने।
नेपालमा हालसम्म विभिन्न इन्टरनेट सेवा प्रदायकका १ लाख ग्राहक छन्। यी ग्राहकका करिब १० लाख प्रयोगकर्ता छन्। नेपालमा करिब करिब ४० वटा आइएसपी कम्पनि भएपनि आधाले मात्र काम गरिरहेका छन्।
इन्टरनेटको दीर्घकालिन प्रयोगका लागि विकास गरिएको आइपीभि-६ को प्रयोगबारे छलफल गर्न पोखरामा दक्षिण एशियाली नेटवर्क प्रदायकहरुको अठारौं सम्मेलन भएको हो। सम्मेलनमा नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश लगायतका राष्ट्रका करिब २ सय बढि प्रतिनिधि सहभागि छन्।
प्रकाशित: २८ भाद्र २०६८ १३:०७ बुधबार





