३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुक र ट्विटरबाट प्रधानमन्त्रीलाई शुभकामना

कृष्ण ढुंगाना, काठमाडौं, भदौ १२- 'तपाईंहरू फेसबुकमा लोकप्रिय हुनुहुन्छ,' प्रधानमन्त्री चुनावअघि संसदमा कांग्रेस नेता विमलेन्द्र निधिले बाबुराम भट्टराईलाई भने, 'बहुलवाद नभएको डिक्सनरी त्याग्नोस् र नयाँ डिक्सनरी पढ्नोस्।'

भट्टराईले अँगालेको राजनीतिक सिद्धान्तप्रति लक्षित गर्दै जडसुत्रवादी कम्युनिस्ट शासनमा स्वतन्त्र इन्टरनेट सामाजिक सञ्जाल फेसबुक अटाउन नसक्ने संकेत निधिको थियो।

माओवादीले अहिलेसम्म बहुलवादलाई नाइँ भन्दै आएको छ। तर, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आइतबार साँझ बहुलवाद 'ब्युटी' फेसबुक र ट्विटरमार्फत धेरैले उनलाई शुभकामना दिएका छन्। आशा र निरासाका भावना पोखेका छन्। सुझाव बाँडेका छन्, चुनौतीबारे सचेत गराएका छन्।

'बधाई! नेपालका ३५ औं तथा पहिलो पिएचडी प्रधानमन्त्रीलाई,' ट्विटरमा दिपेश श्रेष्ठले लेखे। शान्ति र संविधान निर्माणको जटिल राजनीतिक संक्रमणकालमा मुलुकको नेतृत्व सम्हालेका भट्टराईप्रति फेसबुक र ट्विटर प्रयोगकर्ताले बढी नै विश्वास देखाएका छन्। प्रेम सुवेदी नागरिकन्युजको फेसबुक भित्तामा लेख्छन्, 'तपाईंप्रति सिंगो नेपाली जनताले ठूलो आशा राखेका छौं, आफ्नो र पार्टीको मात्र स्वार्थ नहेर्नु होला।'

रविश शर्माले उज्वल चन्दलाई उद्धृत गर्दै ट्विटरमा लेखेका छन्, 'राष्ट्रपति पनि डाक्टर, प्रधानमन्त्री पनि डाक्टर, अब चाहिँ देशलाई सञ्चो होला भन्ने आस छ।'

प्रधानमन्त्रीको चुनावी दौड सुरु हुनु अघिदेखि नै ब्लग र सामाजिक सञ्जालका प्रयोगकर्ता बाबुरामका पक्षमा देखिएका थिए। गत बुधबार नेपाली भाषाको लोकप्रिय ब्लग माइसन्सार डट कमले गरेको सर्वेक्षणले उनी प्रधानमन्त्री हुने सम्भावना ८४ प्रतिशत देखाएको थियो। ३ हजार ३ सय ५७ पाठक सहभागी सर्वेक्षण परिणम आएको चार दिनपछि आइतबार उनी नेपालका ३५ औं प्रधानमन्त्री बने।

फेसबुक र ट्विटरबाट नवनिर्वाचित प्रधानमन्त्रीलाई सर्वसाधारणले शुभकामनाका मधुर शब्दसँगै चुनौतीतर्फ समेत सजग गराएका छन्। प्रधानमन्त्रीको चुनाव संसदमा चलिरहँदा रवीन्द्रसिंह बानियाँले भट्टराईका निजी सहायक विश्वदीप पाण्डेको फेसबुक भित्तामा लेखे, 'सावधान! अगाडिका बाघभन्दा पछाडिका स्यालसँग होस राख्नू।'

दीपकचन्द्र गौतम मधेसी दलहरू राजनीतिक रूपमा विश्वासिला नभएको जनाउँदै फेसबुकमा लेख्छन्, 'दंग पर्नु पर्दैन डाक्टर भट्टराई! मधेसी मोर्चा भनेको एयरकन्डिसनहरूको झुन्ड हो, यो जता पनि फर्कन सक्छ।' मधेसवादी १३ नेतालाई ठूला मन्त्रालय दिने सहमति भएको चर्चापछि सरकारको छविलाई लिएर समेत ट्विटरमा बहस भएको छ। 'यो माओवादी सरकार हो कि मधेसवादी सरकार भन्न गाह्रो भो,' नेपाली टाइम्स सम्पादक कुन्द दीक्षितले ट्विटरमा प्रश्न गरेका छन्, 'बाबुराम मात्र इमान्दार भएर हुन्छ?'

नवनिर्वाचित प्रधानमन्त्री आफैं पनि अर्थमन्त्री छँदा फेसबुकबाट सर्वसाधारणसँग अन्तर्क्रिया गर्थे। बाबुराम भट्टराईको नाउँमा नक्कली अकाउन्ट खुलेकाले सर्वसाधारणमा भ्रम फैलिएको भन्दै २०६६ वैशाखदेखि उनले फेसबुक अकाउन्ट बन्द गरेका थिए।

प्रकाशित: ११ भाद्र २०६८ २२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App