अख्तियारले गत असोज २५ मा टेलिकमलाई निर्देशन दिएर एनजिएनको टेन्डर मूल्यांकन प्रक्रिया गलत भएकाले रद्द गर्न भनेको थियो। झन्डै डेढ महिना लामो छलफलपछि टेलिकम पूरै प्रक्रिया रद्द गरेर नयाँ टेन्डर गर्ने निर्णयमा पुगेको हो।
टेन्डर रद्द गर्न टेलिकम सञ्चालक समितिको बैठक सोमबारदेखि लगातार बसिरहेको थियो। 'सकेसम्म छिटो र थोरैमात्र किन्ने निर्णयमा पुग्यौं,' टेलिकम सञ्चालक समितिका एक सदस्यले भने।
टेलिकमले दुई अर्ब ८४ करोड रुपैयाँमा एनजिएन उपकरण किन्न गत वर्ष ग्लोबल टेन्डर आह्वान गरेको थियो। माघमा खोलिएको टेन्डरमा चिनिया जेडटिई र हुवाई कम्पनीले सबैभन्दा कम मूल्यमा दिने प्रस्ताव गरेका थिए। त्यसलाई मूल्यांकन गरेर साउन १६ गते टेलिकम सञ्चालक समितिले सस्तोमा उपकरण दिने प्रस्ताव गरेको जेडटिईकै मूल्यमा दुई कम्पनीसँग आधाआधा सामान किन्ने निर्णय गरेको थियो।
टेलिकमले पहिले दुई प्याकेज र तीन चरणमा देशभरि विस्तार गर्नेगरी किन्ने निर्णय गरेको एनजिएन प्रविधि थोरैमात्र किन्ने भएको छ। 'पहिले झन्डै चार लाख लाइन एनजिएन किन्ने गरी टेन्डर खोलिएकामा अब एक लाख ६७ हजार लाइन किन्ने निर्णय भएको छ,' स्रोतले भन्यो।
टेलिकमले सुरुमा काठमाडौंमा मात्र चलाउने गरी एनजिएन किन्ने भएको छ।
एनजिएन किन्न टेलिकमले आउँदो दुई साताभित्र अर्को टेन्डर गर्ने भएको छ। अब किन्ने लाइनमा एकलाख ६७ हजार डिएसएल प्रविधि र ५० हजार लाइन सिपफोन हुनेछ। सिपफोन इन्टरनेटबाट चल्ने संसारका विकसित देशमा अहिले सबैभन्दा बढी चलेको प्रविधि हो।
'सकेसम्म चाँडो नयाँ टेन्डरलाई टुंगो लगाएर सेवा सुरु गर्नुपर्ने निष्कर्षमा टेलिकम सञ्चालक समिति पुगेको छ,' एक सदस्यले भने। जति छिटो यो प्रविधि ल्याउन सक्यो उतिनै छिटो सेवा विस्तार गरेर आम्दानी लिन सकिने भएकाले टेलिकमका अधिकारीहरु लागेका छन्। अन्तर्राष्ट्रिय कम्पनीहरु सहभागी हुने टेन्डर गर्नुपर्दा कम्तिमा ४५ दिनको म्याद दिनुपर्छ। विगतका टेन्डरहरुमा अनावश्यक रुपमा समय लम्ब्याउँदा चलखेल हुने गरेको थियो।
एनजिएन तारवाला टेलिफोनमा चल्ने प्रविधि हो। तारवाला टेलिफोनमा अहिले नेपाल टेलिकमको मात्र एकाधिकार छ। सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धामा टेलिकमले आफूलाई सक्षम राखिरहन यो प्रविधि ल्याउने निर्णय दुई वर्ष अघि गरेको हो।
गत वर्षको टेन्डरमा चीनको जेडटिई, हुवाई, भारतको युटिस्टार र युरोपिएन नोकिया सिमेन्स सहभागी भएका थिए। सबैभन्दा महंगोमा उपकरण प्रस्ताव गरेको नोकिया सिमेन्सले तीन करोड १० लाख डलरमा दिने प्रस्ताव गरेको थियो।
प्रकाशित: १६ मंसिर २०६७ ००:३८ बिहीबार





