सुशील भट्टराई, ढाका (बंगलादेश), कात्तिक १२- संसारमै सबैभन्दा बढी मोबाइल उत्पादन गर्ने कम्पनी नोकिया मोबाइलले १२ हजार नेपाली रुपैयाँ मूल्यको नयाँ सेट 'नोकिया सिथ्री' सार्वजनिक गरेको छ।
बंगलादेशको राजधानी ढाकामा सार्वजनिक गरिएको उक्त सेट आगामी मंसिर दोस्रो साताभित्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीका अधिकारीले जानकारी दिएका छन्।
यहाँ आयोजित कार्यक्रममा नोकिया इमर्जिङ एसिया लिमिटेडका बजार प्रमुख साजिद रिज्वान मातिन, बंगलादेशी क्रिकेट खेलाडी तामिम र नायिका शोखले नोकिया सिथ्री सार्वजनिक गरे।
'नोकिया सिथ्री विभिन्न रंग र आकर्षक डिजाइनमा एक महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउँछौं,' नोकियाका बजार प्रमुख साजिदले भने, 'नेपालमा करिब १२ हजार रुपैयाँ खुद्रा मूल्यमा यो सेट किन्न पाइनेछ। उपभोक्ताका लागि यो उचित मूल्य हो।'
नोकिया सिथ्री बंगलादेशी बजारमा प्रतिसेट १० हजार ५ सय टाकामा उपलब्ध हुने उनले बताए। यहाँ सार्वजनिक भएको तीन सातापछि भारतीय बजारमा बिक्री सुरु गरिने जानकारी उनले दिए। हाललाई यो सेट गोल्डेन ह्वाइट, स्लेट ग्रे र हट पिंक रंगमा उपलब्ध गराइएको छ।
'यदि तपाईंसँग कम्प्युटर छैन भने नोकिया सिथ्री सबैभन्दा उपयुक्त मोबाइल सेट हो,' उनले भने, 'बिजनेस कर्पोरेट प्रयोजनका लागि पनि यो सेट उपयुक्त छ।'
यो सेटमा मोबाइल उपभोक्ताले इन्टरनेटमार्फत् फेसबुक र ट्वीटरजस्ता
सामाजिक सञ्जाल वेबसाइटमा आफ्ना पोस्ट हेर्न, टिप्पणी गर्न, स्थानबारे जानकारी दिन, स्थिति अद्यावधिक गर्न मिल्नेछ। यी सबै प्रयोग उपभोक्ताले सिधै मोबाइलको होम स्क्रिनबाट गर्न सक्नेछन्।
'सन्देश पठाउन मिल्ने सेटतर्फ हाम्रा सेट धेरै नै सफल छन्,' नोकिया इमर्जिङ एसियाका महाप्रबन्धक प्रेम चन्दले भने, 'उपभोक्ताहरू सन्देश र सामाजिक सञ्जाल अनुभवका लागि उचित मूल्यका सेट चाहन्छन्। एसएमएस च्याटिङ, इमेल पठाउन वा सामाजिक सञ्जालमा साथीभाइ भेट्न नोकिया सिथ्री सबैभन्दा उपयुक्त सेट हुनेछ।'
सिथ्रीका विशेषता
नोकिया सिथ्री सेटमा प्रयोगकर्ताले बिनाकम्प्युटर इमेल र च्याट एकाउन्ट सिधै राख्न मिल्ने ओभी मेल र ओभी च्याट सुविधा पाउँछन्। सहज तरिकाले सन्देश पठाउन फूल क्वेर्टी किम्याट, नोकिया मेसेजिङ मार्फत् एकैपल्ट इमेल र च्याट गर्न सकिने, होम स्त्रि्कनमा समाचार र सन्देश
सूचक हेर्न सकिने, आफ्नो स्थिति अद्यावधिक गर्न र तस्बिर अपलोड गर्न सहज हुने, वेबकिटमा आधारित ब्राउजर, ओपेरा मिनी क्लाएन्ट, वेब सर्च, डब्ल्यु ल्यान लगायत विशेषता यसमा छन्।
त्यसै गरी वाइफाइ कनेक्टिभिटी, टु मेगापिक्सेल क्यामेरा, २ दशमलव ४ इन्च लम्बाइको स्क्रिन, ८ जिबी क्षमतासम्मको मेमोरी कार्ड राख्न मिल्ने, मिडिया प्लेयर, एफएम, ह्यान्ड्स फ्रि स्पिकरजस्ता सुविधा यो सेटमा उपलब्ध रहेको नोकियाले जनाएको छ।
यो सेट खरिद गर्ने ग्राहकले बिएल-फाइभजे, १३२० एमएएच नोकिया ब्याट्री, नोकिया कम्प्याक्ट चार्जर एसी-३, कम्प्याक्ट युजर गाइड र नोकिया हेडसेट डब्ल्युएच-१०२ निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: ११ कार्तिक २०६७ २३:१० बिहीबार





