२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

दशैंमा साढे दुई करोड एसएमएस शुभकामना

रामचन्द्र भट्ट, काठमाडौं - यो दशैँमा मोबाइल फोनबाट तपाईलाई थुप्रै शुभकामना एसएमएस आए होलान्। तपाईले पनि शुभकामना मेसेज पठाउनेलाई अवश्यै फर्काउनुभयो होला। अरु चिनेजानेका साथी र आफन्तहरुलाई पनि मोबाइलबाट शुभकामना सन्देश पठाउनुभयो होला।
दशैंको समयमा दिर्घायु, सुखशान्तिको कामना गरेर पठाइएका शुभकामना एसएमएसमात्र यो वर्ष साँढे दुईकरोड वटा भए। 'घटस्थापनादेखि टिकाको दिनसम्म नेपाल टेलिकमका ग्राहकले दुईकरोड १० लाख एसएमएस गरेका छन्,' नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले भने। गत वर्षभन्दा यस पटक दशैंमा एसएमएस बढेको छ।

नेपाल टेलिकम, स्पाइस नेपाल (एलसेल), युटिएलका मोबाइल उपभोक्ताले यो वर्ष दशैंको शूभकामना सन्देश पठाउने सुविधा दिएका छन्। सहुलियत दिइएको हुँदा धेरैले शुभकामना पठाउने माध्यम एसएमएसलाई बनाएका हुन्।

अघिपछि एउटा एसएमएसको कर बाहेक एक रुपैयाँ पर्छ। यसमा १० प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ। दशैं र तिहारको लागि भने टेलिकमले कर बाहेक ५० पैसा मात्र लिएको छ। युटिएलले आफ्नो नेटवर्कमा एउटा एसएमएसको ३० पैसा मात्र लिइरहेको छ।
'दशैंको समयमा एनसेलले उपभोक्तालाई दिएको छुटले गर्दा शुभकामना एमएसएसहरु अत्यधिक आदान प्रदान भए,' एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले भने। एनसेलले नयाँ सिमकार्ड लिने ग्राहकलाई ५० वटा एसएमएस निशुल्क रुपमा गर्न दिएको छ।

मोबाइलबाट शुभकामना आदान प्रदान जिएसएम मोबाइलबाट बढी भएको टेलिकम प्रवक्ता थिकेले बताए। सबैभन्दा धेरै एसएमएस अष्टमी र नवमीको दिन भएको उनले बताए। टेलिकमको नेटवर्कमा मात्र अष्टमी र नवमीको दिनमा २९/२९ लाख वटा एसएमएस भएका थिए।

फुलपातीको दिन २७ लाख र टिकाको दिन १४ लाख एसएमएस भएका थिए। घटस्थापनाको दिनदेखिनै शुभकामना मेसेज सुरु भएका थिए।

नेपाल टेलिकमका जिएसएम मोबाइल उपभोक्ता ४२ लाख छन्। एनसेलको ३२ लाख र युटिएको चारलाख मोबाइल ग्राहक छन्।

'कार्ड छपाएर शुभकामना पठाउनुभन्दा एसएमएसको निकै सस्तो हुनुका साथै पाउने व्यक्तिले तत्कालै प्राप्त गर्न सक्ने भएकोले यो निकै सजिलो छ,' बुटवल पावर कम्पनीका कर्पोरेट अफेयर्स मेनेजर विष्णुप्रसाद श्रेष्ठले भने।

श्रेष्ठले कार्यालयको कामको सिलसिलामा आफूसँग बढी सम्पर्क हुनेहरुलाई गत तीन वर्षदेखि दशैंमा एसएमएसबाट शूभकामना दिइरहेका छन्। त्यसअघि उनी कार्ड छपाएर बाँड्थे।

एसएमएसले गर्दा केही वर्षअघिसम्म शुभकामना कार्ड छपाएर बाँड्ने चलन अहिले घटेको छ। 'कार्ड छपाउन भन्दा पनि पठाउन धेरै झन्झट छ, एसएमएसले गर्दा यो समस्या रहेन,' व्यबसायी पवनकुमार भिमसरियाले भने। उनले यो दशैंमा प्रधानमन्त्रीदेखि लिएर प्रसासन, सेना, प्रहरीका उच्च अधिकारीहरु समेतलाई गरि तीनहजार दुईसय वटा एसएमस पठाए।

मोबाइलका उपभोक्ताले दशैंमा पठाएको शूभकामना एसएमएसहरु समयमा 'डेलिभरी' नभएको गुनासो उपभोक्ताले गरेका छन्। 'दुई पटक एसएसएस गरेपछिमात्र डृलिभरी भयो,' सामाखुसीका सुदेश शिबाकोटीले भने। टेलिकमले भने डेलिभरि हुन केही समय लागेपनि दुई पटक पठाउनु नपर्ने जनाएको छ।

'कहिलेकाँही डेलिभरीमा थोरै समय लाग्नसक्छ, त्यस्तो बेलामा दुई पटक एसएमएस गर्नुपर्दैन,' मोबाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्यले भने।
टेलिकमले कार्तिक २७ गतेसम्म एसएमएस गर्दा आधा छुट दिएको छ। दशैं, तिहार र छठको लागि टेलिकमले शुभकामना आदान प्रदान गर्नेलाई सहुलियत दिन आधा छुट दिएको हो।

प्रकाशित: ३ कार्तिक २०६७ ००:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App