२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

असुरक्षित वाइफाईले ह्याकिङको जोखिम

रामचन्द्र भट्ट, काठमाडौं - अर्काले असुरक्षित रुपमा छाडेको वाइफाईबाट इन्टरनेट चलाउनुहुन्छ? त्यसो हो भने तपाँईको कम्प्युटर र मोबाइल फोन कुनै पनि बेला ह्याकिङमा पर्ने सम्भावना हुन्छ। 'पैसा तिर्न पर्दैन भनेर अर्काले छाडेको वाइफाई प्रयोग गर्दा भाइरस छिर्ने, ह्याकिङ हुने सम्भावना धेरै हुन्छ,' प्रमाणीकरण नियन्त्रक राजनराज पन्तले भने। पन्तले 'अनसेक्युर' (असुरक्षित) वाइफाई प्रयोग गर्दा आफ्नो डाटाहरु नष्ट हुनेमात्र नभई कम्प्युटरै बिग्रिन सक्ने सम्भावना हुने बताए।
मोबाइल टेलिफोनमा यस्तो वाइफाई प्रयोग गर्दा भाइरस पठाउने, ह्याकिङ गर्ने र त्यसमा रहेका डाटाहरु नष्ट हुने सम्भावना रहन्छ।

सूचना प्रविधि अन्तर्गत अहिले नेपालमा वायरलेस (ताररहित) प्रविधि निकै चलेको छ। छोटो दुरीभित्र इन्टरनेट चलाउन अहिले वाइफाई प्रविधि निकै चलेको छ। केही इन्टरनेट सेवा प्रदायक कम्पनीले व्यावसायिक रुपमा वाइफाई सेवा सुरु गरेका छन्।

आइएसपीको वाइफाइ सेवा प्रयोग गर्दा प्रयोगकर्ताको नाम, पासवर्ड चाहिन्छ। युजर आइडी र पासवर्ड राख्दा कसले प्रयोग गरिरहेको छ र कस्तो डाटाको आदानप्रदान गरिरहेको छ भनेर पत्ता लगाउन सकिन्छ। तर, जथाभावी छाडिएको वाइफाईको प्रयोग कस्ले गरिरहेको छ भनेर पत्ता लगाउन नसकिने भएकाले आपराधिक घटनासमेत हुनसक्छ।

नेपालमा पनि इन्टरनेटको माध्यमबाट अपराधिक घटनाहरु बढिरहेको समयमा अर्काले छाडेको असुरक्षित वाइफाइ प्रयोग नगर्न र नछाड्न प्रमाणीकरण नियन्त्रक कार्यालयको सुझाव छ।

वाइफाई राउटरको क्षमताअनुसार तरंग छाडिएको ठाउँदेखि ३/४ सय मिटरसम्म इन्टरनेट चलाउन सकिन्छ। तर, ५० देखि एक सय मिटरसम्म भने राम्रोसँग वाइफाई चलाउन सकिन्छ।

अर्काले हावामा छाडेको इन्टरनेट प्रयोगकर्ताले घर र कार्यालयबाट जथाभावी वाइफाई छाड्ने गरेको र त्यस्तो इन्टरनेट प्रयोग गर्नु निकै जोखिमपूर्ण हुने सूचना प्रविधि क्षेत्रका विज्ञको सुझाव छ।

'अर्काले छाडेको निशुल्क वाइफाई प्रयोग गर्दा कहिले पनि इमेलबाट महत्त्वपूर्ण, गोप्य विवरणहरु पठाउनु हुँदैन,' सूचना प्रविधि विज्ञ कृष्ण शाहले भने। वाइफाई जथाभावी छाड्दा छाड्ने व्यक्तिको कम्प्युटरसमेत ह्याकिङ भएर डाटाहरु नष्ट हुन सक्छन्।

'जथभावी वाइफाई छाड्दा अर्काले युजर आइडी र पासवर्डसमेत फेरिदिनसक्छन्, योभन्दा खतरा त कम्प्युटरमा भएको डाटासमेत ध्वस्त पार्ने सम्भावना हुन्छ,' पन्तले भने।

युजर आइडी र पासवर्ड प्रोटेक्टेड (सुरक्षित) गरिएको वाइफाई भने सुरक्षित हुन्छ। धेरै प्रयोगकर्ताले घर र कार्यालयमा ल्यापटपबाट इन्टरनेट चलाउन सजिलो होस् भनेर वाइफाई छाड्छन्। वाइफाई इन्टरनेट छाड्दा पासवर्ड राखेमा सबैभन्दा सुरक्षित हुन सकिने सुझाव विज्ञको छ।

'आफ्नो घर, कार्यालयमा इन्टरनेट चलाउन सजिलो होस् भनेर अरुले छाडेको वाइफाई इन्टरनेट प्रयोग गर्दा महिनाको २/४ सय रुपैयाँ बचाउन सकिएला, तर क्षति भइहालेको अवस्थामा ठूलो नोक्सानी व्यहोर्नुपर्छ,' पन्तले भने। जथाभावी छाडिएको वाइफाई प्रयोग गर्नेलाई भन्दा छाड्नेलाई कानुनी रुपमा झमेलाहरु पर्नसक्ने हुँदा त्यसरी नछाड्न विज्ञहरुले सुझाव दिए।

प्रकाशित: २० आश्विन २०६७ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App