काठमाडौं, असोज १८ (नागरिक) - यसपाला पनि नेपाल टेलिकमले दसैंमा मोबाइलको शुल्कहरु कटौती गर्ने भएको छ। कुराकानीमा लाग्दै आएको रकम दसैंभरि आधामात्र लाग्नेछ भने पोस्टपेड मोबाइल बोक्नेले तिर्नुपर्ने रोमिङ चार्ज समेत नलाग्ने भएको छ। दसैंदेखि पोस्टपेड मोबाइलमा लाग्दै आएको रोमिङ शुल्क हटाउने निर्णय गरेको छ। एउटा अञ्चलबाट लिएको मोबाइल लिएर अर्को अञ्चलमा जाँदा टेलिकमकै मोबाइल बाहेक अरु फोनबाट आएको कल रिसिभ गर्दा मिनेटको एक रुपैयाँ रोमिङ शुल्क लाग्ने गरेको थियो।
टेलिकम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले टेलिकमका केही सेवाहरुको शुल्क हटाउने र केहीको कटौती गर्ने निर्णय गरेको हो। 'रिसिभिङमा लाग्दै आएको रोमिङ शुल्क पोस्टपेड मोबाइलबाट हटाउने निर्णय भएको छ,' टेलिकम सञ्चालक समितिका एक सदस्यले भने। प्रिपेड मोबाइलमा भने रोमिङ शुल्क हटाउने निर्णय भएको छैन।
'चाडपर्बमा मोबाइलका उपभोक्ता आफ्नो घर जाँदा ढुक्कसँग कुराकानी गर्न पाउन् भनेर पोस्टपेडको लागि हटाउने निर्णय भएको हो,' ती सदस्यले भने। अहिले नेपाल टेलिकमका पोस्टपेड मोबाइलका उपभोक्ता एकलाख २६ हजार छन्।
टेलिकमले दशैं तिहारको लागि टेलिफोन कुराकानीमा आधा छुट दिने निर्णय गरेको छ। दशैं र तिहारको समयमा देशभित्र हुने कलमा आधा छुट दिने निर्णय भएको ती सदस्यले बताए।
टेलिकमले गत वर्षहरुमा पनि दशैं र तिहारमा टेलिफोन र एसएमएसमा आधा छुट दिएको थियो।
स्रोतका अनुसार दशैंको अवसरमा मोबाइल टेलिफोन इन्टरनेट (जिपिआरएस) को जडान शुल्क (एक्टिभेसन चार्ज) मा छुट दिने भएको छ। अहिले जिपिआरएस सेवा जडान गर्न एकसय १३ रुपैयाँ तिर्नुपर्छ।
जिपिआरएसका प्रयोगकर्ता बढाउनको निम्ति टेलिकमले एकसय किलोबाइट्सको लागि २५ पैसा लिदै आएकोमा अब १५ पैसामात्र लिने लिने निर्णय गरेको छ।
प्रकाशित: १७ आश्विन २०६७ १४:१५ आइतबार





