७ वैशाख २०८१ शुक्रबार
प्रविधि

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदै

काठमाडौं - तपाईंसँग नयाँ अनुसन्धानको परियोजना छ? विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ केही गर्न खोज्दै हुनुहुन्छ? आफ्ना नविन सोच प्रस्तुत गर्ने मञ्च खोजिरहनुभएको छ? तपाईंको निम्ति यही वैशाखमा हुने युवा-वैज्ञानिक सम्मेलन उपयुक्त मञ्च हुनसक्छ। आउँदो वैशाख १० र ११ गते राष्ट्रिय युवा-वैज्ञानिक सम्मेलन हुने भएको छ। प्रदेश तीन सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको र त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाश्ट)को आयोजनमा उक्त सम्मेलन हुन लागेको हो।

युवा वैज्ञानिकहरूको पहिचानका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको रिकाश्टका प्रमुख डा. रामेश्वर अधिकारीले बताएका छन्। ‘युवा वैज्ञानिकहरुको अभिलाषा तथा अनुसन्धान, नव-प्रवर्तन तथा उद्धमशिलताको लागि बिद्यमान सम्भाबनाहरुको यो सम्मेलनले पहिचान गर्ने अपेक्षा गरेका छौं’, अधिकारीले भने।  ‘समृद्धिका लागि विज्ञान तथा प्रविधिः नवप्रवर्तन र उद्यमशीलताको लागि युवा सशक्तिकरण’ नारा दिइएको सो सम्मेलनमा देशभरबाट छानिएका ४० वर्ष सम्मका युवा वैज्ञानिकको सहभागिता हुनेछ। 

वैज्ञानिकहरूबीच नवप्रवर्तनसम्बन्धी निबन्ध लेखन, कलाकारिता, पोस्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतीकरणको प्रतियोगिता हुने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट हुने युवा वैज्ञानिकलाई कदर-पत्र, पदक तथा नगद पुरस्कार दिइने जनाइएको छ। सम्मेलनमा प्रस्तुत भएका मध्ये दुइटा उत्कृष्ट अनुसन्धान प्रस्तावलाई राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा रिकाश्टमा थप अन्वेषण गर्न तथा उद्योगमा रुपन्तरण गर्नको लागि रु. दुई लाख सम्मको कोष पनि खडा गरिएको अधिकारीले बताए। 

‘बैज्ञानीक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा शोधकर्ताहरू र विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा लागि परेका सिर्जनशिल युवालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य हो’, डा. अधिकारीले भने। कार्यक्रम सम्बन्धी विस्तृत जानकारी वेबपेज www.nysc2019.org बाट तथा टेलिफोन (श्री पवन कुमार झा ९८४१३०३२३०) र ई-मेल (nyscnepal2019@gmail.com) बाट प्राप्त गर्न सकिनेछ ।

 

 

प्रकाशित: २२ चैत्र २०७५ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App