३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

एनसेलले ग्राहकलाई पैसा फिर्ता गर्ने

काठमाडौं, भदौ २२ (नागरिक) - स्पाइस नेपाल (एनसेल) ले गत साता सञ्चालन गरेको डायल ९०९० मा ग्राहकले खर्च गरेको रकम फिर्ता गर्ने भएको छ।

  एनसेलले आउँदो विहीबारदेखि ग्राहकले ९०९० मा कल गर्दा खर्च गरेको रकम फिर्ता गर्ने तयारी गरेको छ। 'यो स्किममा हाम्रा जति उपभोक्ताहरुले सहभागिता जनाए सबैलाई त्यसमा खर्च गरेको सबै रकम फिर्ता गर्ने तयारीमा छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले भनिन्।

एनसेलले भदौ ११ देखि ९०९० मा डायल गरेर साप्ताहिक रुपमा कार लगायत बिभिन्न उपहार जित्ने स्किम सुरु गरेको थियो। यो स्किम पाँचदिनसम्म चलेको थियो। दूरसञ्चार प्राधिकरणले ९०९० मा कल गर्दा लाग्ने महसुल सामान्य भन्दा बढी भएको जनाउँदै गत मंगलबारदेखि यो सेवा बन्द गर्न निर्देशन दिएको छ।

९०९० मा कल गर्दा २ रुपैयाँ ४७ पैसा लाग्ने स्किममा स्विकृती नलिएको भन्दै प्राधिकरणले सेवा रोक्न निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशन पछि एनसेलले त्यही दिनदेखि यो सेवा स्थगित गरेको थियो।

'प्राधिकरणसँग छलफल गरेर पुनः सञ्चालन गर्ने अनुमति पाएमा फेरि सेवा सुरु गर्छौ,' कोइरालाले भनिन्। अहिलेलाई भने ग्राहकले यो स्किममा खर्च गरेको रकम फिर्ता दिन सुरु गर्न लागेको उनले बताइन्।

स्रोतका अनुसार, हरेक साता उपहार पाउने गरी सुरु भएको यो स्किममा एनसेलका पाँचलाखको हाराहारीमा ग्राहकले सहभागिता जनाएका थिए। रकम फिर्ता गर्नको लागि अहिले एनसेलले कुन ग्राहकले ९०९० मा कति कल गरे भन्ने विषयमा विवरण तयार गरिरहेको छ।

ग्राहकले ९०९० मा कल गर्न खर्च गरेको रकम मोबाइलमै फिर्ता हुनेछ। 'एकै दिनमा सबै ग्राहकको रकम फिर्ता गर्न प्राविधिक रुपमा संभव नहुन सक्छ, त्यसैले केही दिनभित्रै सबै फिर्ता भैसक्नेछ,' उनले भनिन्।

रकम फिर्ता भएको जानकारी एनसेलले आफ्ना ग्राहकलाई एसएमएसबाट दिने तयारी गरिरहेको छ।

प्रकाशित: २२ भाद्र २०६७ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App