coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

मोबाइलबाटै वडा नियाल्छन् मेयर

इलाम - इलाम नगरपालिका वडा नम्बर ७ कार्यालयकी एक कर्मचारी महिला सेवाग्राहीको काम गर्दैछिन्। वडा नम्बर कार्यालयमा सेवाग्राहीको भीड अलि धेरै देखिन्छ। वडा नम्बर १२ कार्यालयका कुर्सी खाली देखिन्छन् तर कर्मचारी त्यहीं ओहोर–दोहोर गरिरहेका छन्।

इलाम नगरपालिकाका मेयर महेश बस्नेत कार्यकक्षमै बसेर यी दृश्य कम्प्युटरमा प्रत्यक्ष हेरिरहेका छन्। कुन वडामा अहिले सेवाग्राहीको चाप कस्तो छ, कुन कर्मचारी कार्यालय आए कि आएनन् भनेर थाहा पाउन उनी अब वडा कार्यालयैपिच्छे अनुगमनमा गइरहनुपर्दैन। त्यति मात्र होइन, कार्यकक्ष छाडेर जानुपरे पनि वडाका गतिविधि हेर्न समस्या छैन। हातमै रहेको मोबाइलमा वडाका गतिविधि प्रत्यक्ष हेर्न पाउने सुविधासमेत छ, मेयर बस्नेतलाई। ‘मोबाइलमा इन्टरनेट चाहिँ कनेक्ट हुनुपर्छ, वडा कार्यालयको काम–कारबाहीको भिडियो जहाँ पुगे पनि प्रत्यक्ष हेर्न सकिन्छ,’ उनले भने, ‘यो सुविधा भएपछि अहिले कुन वडा कार्यालयमा सेवाग्राहीको अवस्था के छ भन्ने थाहा पाउन साह्रै सजिलो भएको छ।’

‘दिनभरको गतिविधि प्रत्यक्ष हेर्न नभ्याएर आफूलाई फुर्सद भएका बेला राति अथवा बिहानतिर पनि दिउँसोको रेकर्ड हेर्न सकिन्छ। यहाँबाट प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएपछि वडाको काम चुस्त, दुरुस्त भएको छ, कर्मचारीहरूले जिम्मेवार भएर काम गरिरहेका छन्।’

नगरपालिकाले अहिले सबै १२ वडा कार्यालयमा सिसिटिभी राखेर दिनहुँका गतिविधि प्रत्यक्ष निगरानी थालेको छ। कार्यालयमा रहेका सिसिटिभीको प्रत्यक्ष दृश्य नगरपालिकाको कार्यालयमै बसेर मात्र होइन, मेयर र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने प्रविधि मिलाइएको छ। ‘दिनभरको गतिविधि प्रत्यक्ष हेर्न नभ्याएर आफूलाई फुर्सद भएका बेला राति अथवा बिहानतिर पनि दिउँसोको रेकर्ड हेर्न सकिन्छ,’ मेयर बस्नेतले भने, ‘यहाँबाट प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएपछि वडाको काम चुस्त, दुरुस्त भएको छ, कर्मचारीहरूले जिम्मेवार भएर काम गरिरहेका छन्।’

वडा कार्यालयमा कर्मचारी आए–नआएकोसमेत थाहा पाउन डिजिटल हाजिरी प्रणाली जडान गरिएको छ। ‘डिजिटल हाजिरीले कर्मचारी समयमा कार्यालय आए–गएको देखाउँछ,’ मेयर बस्नेत भन्छन्, ‘सिसिटिभीले कार्यालयमा बसेर काम गरे–नगरेकोसमेत देखाउने भएकाले वडामा अब कर्मचारी आएनन्, काम गरिदिएनन् भन्ने सेवाग्राहीको गुनासो नआउने विश्वास लिएका छौं।’ हातमा रहेको मोबाइलमै सबै दृश्य आउने भएपछि अब वडा कार्यालयको अनुगमन गर्न धाएर पुग्नु नपर्ने भएको उनले जनाए।

नगरले सूचना र प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै यो सुविधा सबै वडामा विस्तार गरेको हो। तारसहितको इन्टरनेट चल्ने वडामा इन्टरनेटबाट र नचल्ने वडा कार्यालयमा ‘रिपिटर टावर’ राखेर सिसिटिभीको दृश्य प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएको छ। त्यति मात्र होइन, वडा र नगर कार्यालयबीच आन्तरिक सर्भर जडान गरिएपछि कागजको काम त घटेको छ नै, सबै वडामा एकैपटक सूचना, निर्देशिन, चिठीपत्र पु¥याउन र वडाका जानकारी क्षणभरमै लिन पनि सजिलो भएको छ। आन्तरिक सर्भरबाट दिनभरमा कुन वडाले कुन सिफारिस कतिवटा ग¥यो भन्नेसम्मको तथ्यांक हेर्न सकिन्छ।

‘इन्ट्रानेट (आन्तरिक सर्भर) मा १ सय २० प्रकारका वडाले दिने सिफारिसको ढाँचासमेत एउटै राखिएको छ,’ नगरका सूचना प्रविधि अधिकृत सञ्जय घिमिरेले भने, ‘साँच्चै भन्ने हो भने आज कुन वडामा कुन काम भयो, कति सेवाग्राहीले सेवा लिए भन्नेसम्मको तथ्यांक अब नगर कार्यालयमै थाहा हुन्छ।’ उनले नगरले जडान गरेको इन्ट्रानेटको सुविधाले मासिकरूपमा इन्टरनेटमा भइरहेको मोटो खर्च ह्वात्तै घटाएको बताए। ‘इन्ट्रानेट सेवा नहुञ्जेल इन्टरनेटका लागि मासिक १ लाख ६ हजार रुपैयाँ खर्च थियो,’ उनले भने, ‘अहिले यो खर्च १२ हजार ५ सय रुपैयाँमा झ¥यो भन्दा पत्याउनै मुस्किल पर्छ।’ यो प्रविधि जडान गर्न १५ लाख रुपैयाँ खर्च भएको उनले बताए। नगरका विद्यालय, स्वास्थ्य संस्था र सेवाग्राहीको प्रत्यक्ष सहभागिता रहने अन्य सरकारी कार्यालयहरूमा समेत डिजिटल हाजिरी र सिसी क्यामेरा जडान गरी त्यहाँका गतिविधि प्रत्यक्ष हेर्ने प्रणाली विकास गर्ने नगरको योजना छ।

नगरका सबै विद्यालयको कक्षा ८ का विद्यार्थीको लब्धांकपत्र तयार गर्ने सफ्टवेयरसमेत निर्माण गरिएको छ। विद्यालयहरूले प्रयोगात्मक परीक्षाको अंक पठाएपछि विद्यार्थीको लब्धांकपत्रमा उनीहरूको सबै विषयमा आएको सैद्धान्तिक परीक्षाको अंकलाई आफ्से आफ् ग्रेडिङमा परिणत गर्ने सफ्टवेयर प्रयोगमा ल्याएको घिमिरेले बताए। ‘कसैलाई निमन्त्रणा वा सूचना गर्नुपरे ग्रुप एसएमएसको प्रणाली विकास गरेका छौं,’ उनले भने, ‘अब खानेपानीको बिल पनि मोबाइलबाटै तिर्न मिल्ने व्यवस्था गर्दैछौं।’ नगरपालिकाले आफ्नो कार्यालयको गाडी कहाँ गुड्दैछ भन्ने थाहा पाउन ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रविधि जडानका लागि पनि छलफल चल्दैगरेको जनाएको छ।

इलाम नगरपालिकाका मेयर महेश बस्नेत नगरका सबै वडा कार्यालयको प्रत्यक्ष दृश्य नगरपालिका कार्यालयको कम्प्युटरमा हेर्दै। इलाम नगरपालिकाले सबै वडा कार्यालयमा सिसी क्यामेरा राखेर दिनभर हुने काम–कारबाही मेयर र प्रमुख प्रशासकीय अधिकृतको मोबाइलमा समेत प्रत्यक्ष हेर्न सकिने प्रविधि जडान गरेको छ। तस्बिर : भीम/नागरिक

प्रकाशित: १० चैत्र २०७५ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App