३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

एनसेलले ब्ल्याकबेरीको डाटा उपलव्ध गराउने

काठमाडौं, भदौ १८ (नागरिक) - नेपालमा ब्ल्याकबेरीको सञ्चालक एनसेलले आवश्यक परेको बेलामा जुनसुकै कुराकानी र डाटा सुरक्षा निकायलाई उपलव्ध गराउन सक्ने प्रविधि आफूसँग रहेको जनाएको छ।

  ब्ल्याकबेरीको सुरक्षाको सम्बन्धमा विश्वव्यापी चासो भैरहेको समयमा नेपालमा आवश्यक पर्दा विवरण उपलव्ध गराउने संयन्त्र खडा भैसकेको यसका अधिकारीहरुले बताएका छन्। विहीबार गृहमन्त्रालय, सुरक्षा निकाय र दूरसञ्चार प्राधिकरणसँगको छलफलमा एनसेलको तर्फबाट भविष्यमा समेत ब्ल्याकबेरीबाट कुनै समस्या आउन नदिने प्रतिवद्धता व्यक्त भयो।

ब्ल्याकबेरी मोबाइलबाट भएको कुराकानी र डाटाको आदान प्रदान सुरक्षा निकायले आवश्यक परेको समयमा जाँच गर्न सक्ने व्यबस्था नेपालमा खडा भैसकेको एनसेलको तर्फबाट सहभागी सोमाब थापाले जानकारी दिएकी थिइन्।

ब्ल्याकबेरीबाट हुनसक्ने सुरक्षा चुनौतिको विषयमा विहीबार गृह मन्त्रालय, प्रहरी र दूरसञ्चार प्राधिकरणबीच भएको छलफलमा आवश्यक परेको बेला जाँच गर्न र डाटामा पहुँच पाउने व्यबस्था गर्ने सहमति भएको छ। 'अरु देशमा यसबाट सुरक्षामा समस्या आउन सक्ने चर्चा भैरहेको समयमा हामीले बेलैमा सजग हुन छलफल गरेर निकास निकालिएको हो,' दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।

निजी क्षेत्रको स्पाइस नेपालले गत भदौ २ गतेबाट देशमा पहिलो पटक ब्ल्याकबेरी सेवा सुरु गरेको छ। छिमेकी देश भारतमा स्थानीय सर्भरनै राखेर ब्ल्याकबेरीबाट सेवा दिनुपर्ने गरि आगामी दुई महिनाको म्याद दिइएको छ।

ब्ल्याकबेरीले नेपालमा दुई किसिमको सेवा सुरु गरेको छ। ब्ल्याकबेरी इन्टरनेट सोलुसन र इन्टरप्राइज सोलुसन मध्य दुबैमा सुरक्षा अधिकारी, प्राधिकरणलाई पहुँच दिने सहमति भएको हो। 'बैठकमा इन्टरप्राइजेज सोलुसन सेवा लिएका ग्राहकलाई सुरुमै यस्तो शर्तमा सही गराएर मात्र ब्ल्याकबेरी दिने गरि फर्म भराउने निर्णय भयो,' न्यौपानेले भने।
ब्ल्याकबेरीबाट असिमित डाटाको लागि मासिक एकहजार रुपैयाँ महसुल तिर्नुपर्छ।

ब्ल्याकबेरीलेनै राखिदिने ब्ल्याकबेरी इन्टरप्राइजेज सोलुसनको लागि भने मासिक एकहजार पाँचसय रुपैयाँ तिर्नुपर्छ। इन्टरप्राइजेज सोलुसनको लागि ब्ल्याकबेरीले संबन्धित कार्यालयमै नेटवर्कको व्यबस्था गर्छ।

ब्ल्याकबेरी सेवा संसारका एकसय ७५ देशमा चल्छ। यसबाट जहाँसुकै पनि निशुल्क एसएमएस गर्न सकिने र सर्भर क्यानडामा हुने भएकोले अपराधिक मनोवृत्तिका व्यक्तिलाई सहयोग पुग्ने तर्क सुरक्षा अधिकारीहरुको छ।

ब्ल्याकबेरी अहिले संसारभरि चर्चित मोबाइल हो। यसबाट अत्यन्तै छिटो इन्टरनेट चल्ने, १० वटा इमेल आइडीलाई एकैपटक चलाउन सकिने सुविधा छन्। च्याटरुम विन्डो लाइभ, याहु मेसेन्जर, फेसबुक, माइस्पेस लगायतका सुविधा पनि ब्ल्याकबेरीमा छन्। एनसेलले ५० हजार रुपैयाँमा ब्ल्याकबेरी सेट समेत उपलव्ध गराइरहेको छ।

'हामीले कुन प्रकृयाबाट नेपालमा ब्ल्याकबेरी चलाउन दिइएको हो भन्ने विषयमा सरोकार राखेका हौं,' एसएसपी महेशसिंह कठायतले भने। प्राधिकरणले गत माघमा ब्ल्याकबेरी चलाउन स्विकृती दिदानै डाटालाई यहीबाट हेर्न मिल्ने प्रविधि राख्न स्पाइसलाई निर्देशन दिएको थियो।

प्रकाशित: १७ भाद्र २०६७ २३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App