३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

९०९० डायल उपहारमा रोक

काठमाडौं, भदौ १६ (नागरिक) - स्पाइस नेपाल (एनसेल) द्वारा गत साताबाट सुरु ९०९० नम्बरमा डायल गरेर उपहार जित्ने कार्यक्रम दूरसञ्चार प्राधिकरणले रोक लगाएको छ।
एनसेलले आफ्ना उपभोक्ताले ९०९० नम्बरमा फोन गर्दा लगाएको महसुल स्वीकृत दरभन्दा बढी भएकाले प्राधिकरणले सेवा तत्काल बन्द गर्न सोमबार निर्देशन दिएको हो।

'हामीले पत्र पाउने बित्तिकै सेवा अहिलेका लागि स्थगित गरेका छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले भनिन्। उनले प्राधिकरण दूरसञ्चार सेवा प्रदायकको नियामक संस्था भएकाले उसको निर्देशनलाई तुरुन्त मानेर सेवा रोकिएको जानकारी दिइन।

एनसेलले आफ्ना उपभोक्तालाई ९०९० नम्बरमा फोन गर्दा हरेक साता विभिन्न उपहार दिने कार्यक्रम यसै सातादेखि सुरु गरेको थियो। 'हाम्रो आपत्ति पुरस्कार होइन, स्पाइसका निम्ति स्वीकृत दररेटभन्दा बढ्ता महसुल लिएको भन्ने विषयमा हो,' प्राधिकरणका एक अधिकारीले नागरिकसँग भने।

स्रोतका अनुसार, स्पाइसलाई मिनेटको एक रुपैयाँ ९९ पैसामात्र महसुल लिन पाउने गरि स्वीकृती दिइएको छ। तर, यसमा कल गर्दा मिनेटको २ रुपैयाँ ४७ पैसा लिएको उजुरी प्राधिकरणमा परेको छ।

प्राधिकरणले स्पाइसलाई मिनेटको १ रुपैयाँ ९९ पैसामात्र महसुल लिन पाउने गरी स्वीकृति दिए पनि एक मिनेटभन्दा थोरै समय कल गर्नेले थोरै महसुल तिरे हुन्छ। '९०९० मा कल गर्दा १० सेकेन्डमात्र लागेको पाइयो, तर महसुल भने दुई रुपैयाँ ४७ पैसा लिइएको छ। यो उपयुक्त नभएकाले सेवा रोक्न निर्देशन दिएका हौं,' प्राधिकरण अधिकारीले भने।

प्राधिकरणले स्पाइससँग चार दिन अवधिमा ९०९० मा भएको कलको विवरण र त्यसबाट असुल रकमको जानकारीसमेत मागेको छ।

एनसेलका उपभोक्ताहरुले यो सेवा प्रयोग गर्दा खर्च भएको आफ्नो पैसा फिर्ता हुनुपर्ने माग गरेका छन्। 'हामी प्राधिकरणसँग छलफल गरेर निचोढमा नपुगेसम्मका लागि स्थगित गरेका हौं,' कोइरालाले भनिन्। स्पाइसले प्राधिकरणबाट स्वीकृत महसुल दर लिएर यो स्किम फेरि सुरु हुने संकेत दिएको छ।

 

प्रकाशित: १५ भाद्र २०६७ २३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App