३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

अब जीमेलबाट निःशुल्क फोन गर्न पाइने

काठमाडौँ, भदौ ११ (नागरिक)- जीमेलले कम्प्युटरको माइक्रोफोन र स्पिकरको मद्धतबाट कुनै पनि देशको मोबाइल वा ल्यान्डलाइन नम्बरमा फोन गर्ने सुविधा उपलब्ध गराउन थालेको छ।

  यसअघि गुगलको 'जीमेल भ्वाइस एन्ड भिडियो च्याट' सेवाले अर्को जीमेल प्रयोगकर्तासित मात्रै कुरा गर्न मिल्ने सेवा दिइरहेको थियो।

बुधबारदेखि सुरु गरिएको यो सेवाबारे गुगलले आफ्नो आधिकारिक ब्लगमा लेखेको छ- 'अमेरिका र क्यानाडामा कम्तिमा यो वर्षको अन्त्यसम्म निःशुल्क फोन गर्न पाइनेछ। बेलायत, फ्रान्स, जर्मनी, चीन, जापानलगायतका देशमा घटीमा दुई सेन्ट प्रति मिनेटको दरमा कुरा गर्न पाइनेछ।'

गुगलको साइटमा उपलब्ध विवरण अनुसार नेपालमा फोन गर्न प्रति मिनेट १९ सेन्ट लाग्छ।

सेवा उपलब्ध भएको २४ घण्टामा १० लाख कल भएको गुगलका प्रवक्ता र्‍यान्डल साराफाले बताएका छन्। गुगलको यो सेवाले इन्टरनेटमा यस्तै सेवा उपलब्ध गराउँदै आएको स्काइपलाई कडा चुनौति दिने अपेक्षा गरिएको छ।

फोन कसरी गर्ने ?
यो सेवा उपलब्ध भएको जीमेल खाताको च्याट विन्डोमा 'कल फोन' लेखिएको देखिनेछ। त्यसैमा क्लिक गरेपछि डायल प्याड देखिनेछ। त्यसमा नम्बर डायल गरेर फोन गर्न सकिन्छ।

बिहीबार गुगलले यो सेवा सबै अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको जनाएको छ। अमेरिकाबाहिर रहेका प्रयोगकर्तालाई छिट्टै नै यो सेवा उपलब्ध हुने पनि गुगलले जनाएको छ। यद्यपि केही नेपाली प्रयोगकर्ताको जीमेलमा पनि यो सेवा उपलब्ध भइसकेको छ।

प्रकाशित: ११ भाद्र २०६७ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App