२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

पोस्टपेडमा मिनेटको ५५ पैसामात्र

काठमाडौं, भदौ ९ (नागरिक) - नेपाल टेलिकमले असोजदेखि पोष्टपेड मोबाइलका उपभोक्तालाई मिनेटको ५५ पैसामात्र महसुल लाग्ने महसुल योजना ल्याउने भएको छ।

 एउटै कार्यालयमा कार्यरत मोबाइल ग्राहकले एक आपसमा कुराकानी गर्दा मिनेटको ५५ पैसामात्र लाग्ने यो योजना लागु गर्न सञ्चालक समितिले स्विकृती दिइसकेको छ। 'हामीले प्राविधिक परिक्षण गरिसक्यौं, बिलिङ सिस्टममा केही मिलाउन मात्र बाँकी छ,' मोबाइल सेवा निर्देशनालयका प्रमुख जीवनरत्न शाक्यले भने।

दुई साताभित्र बिलिङ परिक्षण गरिसक्ने योजना टेलिकमको छ। त्यसपछि असोज १ गतेबाट कर्पोरेट प्रयोगकर्तालाई एउटै कार्यालयका सहकर्मीबीच फोन गर्दा ५५ पैसामात्र लाग्नेछ।

टेलिकमको प्रतिस्पर्धी एनसेलले कर्पोरेट प्रयोगकर्तालाई मिनेटको ६० पैसामात्र लिने महसुल सुरु गरेको छ। टेलिकमले एनसेल भन्दा पनि कम महसुल कर्पोरेट प्रयोगकर्तालाई ल्याएको हो।

एउटै कार्यालयका सहकर्मीबीच कुराकानी गर्दा मिनेटको ५५ पैसामात्र लाग्ने यो योजनामा सहभागी हुन कम्तिमा १० जनासँग पोष्टपेड मोबाइल हुनुपर्छ। कार्यालयले १० वटा पोष्टपेड मोबाइल भएकाहरुको सूचि टेलिकमका बुझाएपछि ती मोबाइलबीच कुराकानी हूँदा मिनेटको ५५ पैसामात्र लाग्नेछ।

टेलिकमले दुई महिना अघिनै यस्तो सेवा सुरु गर्ने तयारी गरेको थियो। 'जेडटीईले समयमै ५५ पैसा लाग्ने सिस्टम परिवर्तन नगरिदिएको हुँदा सेवा सुरु हुन ढिला भएको हो,' टेलिकमका अर्का एक अधिकारीले भन्यो।

जेडटीईले ५५ पैसामात्र लाग्ने सिस्टम समयमै नबनाएको विषयमा टेलिकम सञ्चालक समितिलेमै कारवाही गर्नुपर्ने छलफल भएको थियो। कारवाही गर्ने चेतावनी दिएपछि जेडटीईले अहिले बिलिङ प्रणालीमा सुधार गर्न थालेको हो।

दुई साताभित्र बिलिङमा सुधार गरेर एउटै कार्यालयभित्र कार्यरत पोष्टपेडमा उपभोक्ताबीचको कुराकानीमा ५५ पैसामात्र लाग्ने व्यबस्था गरिने टेलिकमले जनाएको छ। 'अहिलेसम्मको तयारीका आधारमा हामी असोजदेखि यो नयाँ महसुल लागु गर्ने योजनामा छौं,' शाक्यले भने।

टेलिकमले गत साउनदेखि कर्पोरेट मोबाइल प्रयोगकर्ताको लागि १० प्रतिशत छुट योजना ल्याएको छ। पोष्टपेड मोबाइल प्रति आकर्षित गर्ने उद्वेश्यले यो योजना ल्याइएको हो।
नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता ३६ लाख ५४ हजार छन्। पोष्टपेड मोबाइलका उपभोक्ता एकलाख २२ हजार मात्र छन्।

कर्पोरेट प्रयोगकर्ताले पोष्टपेडको मासिक बिलमा १० प्रतिशत छुट वा कार्यालयका सहकर्मीबीच कुराकानी गर्दा मिनेटको ५५ पैसामध्य एउटामात्र सुविधा मात्र लिन पाउनेछन्।

प्रकाशित: ८ भाद्र २०६७ २०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App