७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

व्यावसायिक वाइफाईमा अर्को कम्पनीको तयारी

काठमाडौं, भदौ २ (नागरिक)- - ब्रोडलिङ्क कम्युनिकेसनले एक महिनापछि वाइफाई इन्टरनेट सेवा बिक्री सुरु गर्ने तयारी गरेको छ। व्यावसायिक वाइफाई सेवा लिएपछि ल्यापटपका उपभोक्ताले काठमाडौंका अधिकांश ठाउँबाट इन्टरनेट चलाउन सक्नेछन्। 'हामी सेप्टेम्बर अन्तिमदेखि वाइफाई सुरु गर्ने तयारीमा छौं,' ब्रोडलिङ्कका प्रबन्धक कृष्ण रावलले भने। कम्पनीले अहिले काठमाडौं, पोखरा, बुटवल र हेटौंडामा परीक्षणको क्रममा निशुल्क वाइफाई इन्टरनेट दिइरहेको छ।

साउनको सुरुदेखि व्यावसायिक वाइफाई सुरु गर्ने योजना कम्पनीले बनाएको थियो। 'केही ठाउँमा परीक्षणको क्रममा समस्या देखिएकाले पर सारेका हौं,' रावलले भने। यो सेवा दिन कम्पनीले काठमाडौंका ५० ठाउँमा एन्टेना राख्दैछ। यसपछि यसको ग्राहक बनेर केबुल बिना सिधै इन्टरनेट चलाउन सकिन्छ।

वाइफाईबाट इन्टरनेट चलाउँदा बिटिएस भएको ठाउँभन्दा तीन सय मिटर वरिपरि राम्रोसँग टिप्छ। योभन्दा जति धेरै भयो सिग्नल उति प्रभावकारी हुन्छ। ल्यापटपमा तीन अथवा योभन्दा बढी सिग्नल भयो भने वाइफाईले निकै राम्रोसँग टिप्छ। योभन्दा कमजोर सिग्नल भयो भने इन्टरनेट कनेक्सन प्रभावकारी नहुने प्राविधिकहरुले बताएका छन्।

ब्रोडलिङ्कले अहिले परीक्षणको क्रममा २५६ किलोबाइट्स प्रतिसेकेन्ड स्पिडको इन्टरनेट निशुल्क दिइरहेको छ। ब्रोडलिङ्क वाइफार्ईको सिग्नल देखिएको ठाउँमा ल्यापटपबाट जोडेर प्रयोग गर्न सकिन्छ।

काठमाडौंमा हिमालटेकले पनि दुई महिना अघिदेखि व्यावसायिक रुपमा वाइफार्ई सेवा सुरु गरेको छ। अहिले ६ वटा मात्र बिटिएस बनाएर १२८ किलोबाइट्स प्रतिसेकेण्ड गतिको वाइफाई मासिक पाँचसय रुपैयाँमा दिइरहेको छ।

'सेवा विस्तारको क्रममा सामान ल्याउँदैछौं, त्यसपछि थप ठाउँमा पनि वाइफाई सेवा दिन्छौं,' हिमालटेकका भूषण सिंहले भने। वाइफाईलाई अहिलेसम्म घरभित्र ताररहित रुपमा इन्टरनेट चलाउन मात्र प्रयोग गरिदै आएको थियो। इन्टरनेट सेवा प्रदायकहरुले अब यसलाई व्यावसायिक रुपमा सेवा सुरु गर्न लागिएको हो।

काठमाडौं र सहरी क्षेत्रमा ल्यापटपका प्रयोगकर्ता बढेपछि उनीहरुलाई लक्षित गरेर व्यावसायिक वाइफाई सुरु गरिएको हो। ल्यापटपबाट वाइफाई इन्टरनेट चलाउँदा कुनै उपकरण (डिभाइस) चाहिँदैन। ल्यापटप कम्प्युटरमा अटोमेटिक वाइफाई सुविधा हुन्छ। केही महँगा एवं सुविधायुक्त मोबाइल सेटमा पनि वाइफाई सुविधा राखिएको हुन्छ।

वाइफाई इन्टरनेट प्रयोग गर्न सर्च गरेर त्यसमा मागिने युजर आइडी र पासवर्ड प्रयोग गर्नुपर्छ। यसबाट ल्यापटप र मोबाइलका उपभोक्ताले काठमाडौंमा जहाँ बसेर पनि इन्टरनेट सेवा प्रयोग गर्न सक्छन्। युजर आइडी र पासवर्ड लिन प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ।

ब्रोडलिङ्कले अहिले परीक्षण चरणमा वाइफाई निशुल्क दिइरहेको छ भने हिमाल टेकले भने मासिक पाँचसय लिएर युजर आइडी र पासवर्ड दिन्छ।

ब्रोडलिङ्कले भने मासिक शुल्क तोकिसकेको छैन। यो कम्पनीले काठमाडौंको न्यूरोड, महाराजगन्ज, पुतलीसडक, लाजिम्पाट, नयाँबजार, चाबहिल, कोटेश्वर, ललितपुरको सानेपा, पुल्चोक, जावलाखेल, भक्तपुरको गठ्ठाघरलगायत ५० ठाउँमा ब्रोडलिङ्कले एन्टेना राखिसकेको छ।

डेस्कटप कम्प्युटरबाट वाइफाई इन्टरनेट चलाउन युएसबी पोर्टमा छुट्टै डिभाइस प्रयोग गर्नुपर्छ। त्यस्तो डिभाइस बजारमा एक हजार पाँच सय रुपैयाँमा विभिन्न मोडलका पाइन्छन्।

ठूला कर्पोरेट हाउसका निम्ति विशेष प्याकेजमा वाइफार्ई ल्याउने तयारी ब्रोडलिङ्कको छ। त्यस्ता व्यावसायिक घरानाको लागि छुट्टै डिभाइस हुन्छ। त्यसको प्रयोगले डेस्कटप कम्प्युटरमा पनि वाइफाई चलाउन सकिन्छ।

दूरसञ्चार क्षेत्रको नियमन संस्था दूरसञ्चार प्राधिकरणका अनुसार, नौलाख ४३ हजार इन्टरनेटका उपभोक्ता छन्। डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडिएसएल, जिपिआरएस र सिडिएमए प्रविधिबाट उपभोक्ताले इन्टरनेट चलाइरहेका छन्।

'यसबाट इन्टरनेट दिँदा सेवाप्रदायकले फ्रिक्वेन्सी चार्ज तिर्नुपर्दैन, त्यसैले सस्तो पर्छ,' नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। ताररहित प्रविधि वाइम्याक्सबाट इन्टरनेट सेवा दिन सकिए पनि यो प्रविधि नेपालमा अहिलेसम्म सुरु भएको छैन। 'वाइम्याक्स सेवा सुरु भएपछि वाइफाईभन्दा महँगो पर्नसक्छ,' खनालले भने।

प्रकाशित: १ भाद्र २०६७ २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App