साउनको सुरुदेखि व्यबसायीक वाइफाइ सुरु गर्ने योजना कम्पनीले बनाएको थियो। ‘केही ठाउँमा परिक्षणको क्रममा समस्या देखिएकोले पर सारेका हौं,' रावलले भने। यो कम्पनीले काठमाडौंका ५० ठाउँमा एन्टेना राखेर केबुल बिना सिधै इन्टरनेट चलाउन सकिने वाइफाइ सेवा दिने तयारी गरेको छ।
वाइफाइबाट इन्टरनेट चलाउँदा बिटिएस भएको ठाउँभन्दा तीनसय मिटर वरिपरि राम्रोसँग टिप्छ। यो भन्दा जति धेरै भयो सिग्नल उतिनै प्रभावकारी हुन्छ। ल्यापटपमा तीन अथवा यो भन्दा बढी सिग्नल भयो भने वाइफाइले निकै राम्रोसँग टिप्छ। यो भन्दा कमजोर सिग्नल भयो भने इन्टरनेट कनेक्सन प्रभावकारी नहुने प्राविधिकहरुले बताएका छन्।
ब्रोडलिङ्कले अहिले परिक्षणको क्रममा २५६ किलोबाइट्स प्रति सेकेण्ड स्पिडको इन्टरनेट निशुल्क दिइरहेको छ। ब्रोडलिङ्क वाइफाईको सिग्नल देखिएको ठाउँमा ल्यापटपबाट जोडेर प्रयोग गर्न सकिन्छ।
काठमाडौंमा हिमालटेकले पनि दुई महिना अघिदेखि व्यबसायीक रुपमा वाइफाई सेवा सुरु गरेको छ। अहिले ६ वटा मात्र बिटिएस बनाएर १२८ किलोबाइट्स प्रतिसेकेण्ड गतिको वाइफाइ मासिक पाँचसय रुपैयाँमा दिइरहेको छ।
‘सेवा विस्तारको क्रममा सामान ल्याउँदैछौं, त्यसपछि थप ठाउँमा पनि वाइफाइ सेवा दिन्छौं,' हिमालटेकका भुषण सिंहले भने। वाइफाइलाई अहिलेसम्म घरभित्र ताररहित रुपमा इन्टरनेट चलाउन मात्र प्रयोग गरिदै आएको थियो। इन्टरनेट सेवा प्रदायकहरुले अब यसलाई व्यबसायीक रुपमा सेवा सुरु गर्न लागिएको हो।
काठमाडौं र सहरी क्षेत्रमा ल्यापटपका प्रयोगकर्ता बढेपछि उनीहरुलाई लक्षित गरेर व्यबसायीक वाइफाइ सुरु गरिएको हो। ल्यापटपबाट वाइफाइ इन्टरनेट चलाउँदा कुनै उपकरण (डिभाइस) चाहिदैन। ल्यापटप कम्प्युटरमा अटोमेटिक वाइफाइ सुविधा हुन्छ। केही महंगा एवं सुविधायुक्त मोबाइल सेटमा पनि वाइफाइ सुविधा राखिएको हुन्छ।
वाइफाइ इन्टरनेट प्रयोग गर्न सर्च गरेर त्यसमा मागिने युजर आइडी र पासवर्ड प्रयोग गर्नुपर्छ। यसबाट ल्यापटप र मोबाइलका उपभोक्ताले काठमाडौंमा जहाँ बसेर पनि इन्टरनेट सेवा प्रयोग गर्न सक्छन्। युजर आइडी र पासवर्ड लिन प्रयोगकर्ताले शुल्क तिर्नुपर्छ।
ब्रोडलिङ्कले अहिले परिक्षण चरणमा वाइफाइ निशुल्क दिइरहेको छ भने हिमालटेकले भने मासिक पाँचसय लिएर युजर आइडी र पासवर्ड दिन्छ।
ब्रोडलिङ्कले भने मासिक शुल्क तोकिसकेको छैन। यो कम्पनीले काठमाडौंको न्यूरोड, महाराजगन्ज, पुतलीसडक, लाजिम्पाट, नयाँबजार, चाबहिल, कोटेश्वर, ललितपुरको सानेपा, पुल्चोक, जावलाखेल, भक्तपुरको गठ्ठाघरलगायत ५० ठाउँमा ब्रोडलिङ्कले एन्टेना राखिसकेको छ।
डेस्कटप कम्प्युटरबाट भने वाइफाइ इन्टरनेट चलाउन सकिँदैन। डेक्सटपमा वाइफाइ इन्टरनेट चलाउन युएसबी पोर्टमा राख्ने छुट्टै डिभाइस प्रयोग गर्नुपर्छ। त्यस्तो डिभाइस बजारमा एक हजार पाँचसय रुपैयाँमा विभिन्न मोडलका पाइन्छन्।
ठूला कर्पोरेट हाउसहरुका निम्ति बिशेष प्याकेजमा वाइफाई ल्याउने तयारी ब्रोडलिङ्कको छ। त्यस्ता ब्यबसायीक घरानाको लागि छुट्टै डिभाइस हुन्छ। त्यसको प्रयोगले डेस्कटप कम्प्युटरमा पनि वाइफाइ चलाउन सकिन्छ।
दूरसञ्चार क्षेत्रको नियमन संस्था दूरसञ्चार प्राधिकरणका अनुसार, नौलाख ४३ हजार इन्टरनेटका उपभोक्ता छन्। डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडिएसएल, जिपिआरएस र सिडिएमए प्रविधिबाट उपभोक्ताले इन्टरनेट चलाइरहेका छन्।
‘यसबाट इन्टरनेट दिँदा सेवाप्रदायकले फ्रिक्वेन्सी चार्ज तिर्नुपर्दैन, त्यसैले सस्तो पर्छ,' नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। ताररहित प्रविधि वाइम्याक्सबाट इन्टरनेट सेवा दिन सकिए पनि यो प्रविधि नेपालमा अहिलेसम्म सुरु भएको छैन। ‘वाइम्याक्स सेवा सुरु भएपछि वाइफाइ भन्दा महंगो पर्नसक्छ,' खनालले भने।
प्रकाशित: ३१ श्रावण २०६७ २०:२६ सोमबार





