coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

‘विज्ञानमाथि बिर्को, प्रगति खोक्रो’

ललितपुरमा आयोजित कार्यक्रममा फ्रान्सका भौतिकाशास्त्री डा. जिन मार्क सेइटर ।   तस्बिरः मनीषा द्वा

–‘१९९० सालको महाभूकम्पले सुन्धारास्थित धरहरा ढल्यो । दुई वर्षपछि पुरानै पारामा यसको पुनर्निर्माण गरियो । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले फेरि धरहरा ध्वस्त हुँदा दर्जनौंको निधन भयो । यसको पुनर्निर्माण अझै हुन सकेको छैन । अहिलेसम्म पुनर्निर्माणको ‘वैज्ञानिक खाका’ सार्वजनिक भएको छैन।’

–‘जापान नेपालभन्दा बढी भूकम्पीय जोखिम भएको देश हो । जापानमा नेपालभन्दा बढी म्याग्निच्युडका भूकम्प आए पनि त्यहाँका संरचना पूर्ण रूपमा भत्कँदैनन् । वैज्ञानिक प्रविधि प्रयोग भएकाले गर्दा ठूलो भूकम्प आउँदा पनि त्यहाँका भवन भासिँदैनन् । कमसल निर्माण सामग्री, अवैज्ञानिक ‘डिजाइन’ र ‘हचुवा’ कार्यशैलीले यहाँका भौतिक संरचना कमजोर छन्  । दुई वर्षअघिको विनाशकारी भूकम्पमा घर–भवन तथा संरचना भत्कँदा आठ हजारभन्दा बढी नेपालीको ज्यान गयो।’

अध्ययन–अनुसन्धानको सिलसिलामा काठमाडौं आएका फ्रान्सका भौतिकशास्त्री प्रा.डा. जिन मार्क सेइटरले केही समयअघि एक कार्यक्रममा यी अनुभव सुनाए । युनिभर्सिटी अफ  रोयन, फ्रान्समा अध्यापन तथा अनुसन्धानमा वर्षौ खर्चिएका उनको प्रस्तुति सरस र रमाइलो थियो। 

‘विज्ञान किन चाहिन्छ ?’ राष्ट्रिय युवा परिषद्ले ललितपुर, खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको मुख्य सत्रमा अतिथि–वक्ता थिए, सेइटर । सरल उदाहरण दिएर जीवनमा विज्ञानको महत्वबारे बुझाइरहेका थिए।

साइकलको सरल उदाहरण दिएर दर्शकको ध्यान तान्न खोजे उनले । अचेल हामीले चढ्ने साइकल एकैचोटीमा यो स्वरुपमा बनेको होइन । ‘सुरुमा साइकलको पांग्रा चारपाटे थियो, अहँ, त्यस्तो पांग्रा सहज गुड्न सकेन । यो केवल ‘हेर्ने पांग्रा’मा सीमित बन्न पुग्यो, यसमा विज्ञानको उचित उपयोग गरिएन,’ उनले भने, ‘पछि वृत्ताकार पांग्रा बनाइयो, त्यसपछि मात्र मज्जाले गुड्न थाल्यो । यसरी गुड्ने साइकलले दैनिक जीवन सजिलो बन्दै गयो ।’ वैज्ञानिक  प्रविधिलाई जीवनसँग जोडेर सही तरिकाले प्रयोग गरेमा जीवनयापन सजिलो बन्दै जाने उनको धारणा छ।

विपद् र अवैज्ञानिक कार्यशैली 

नेपालमा विज्ञान–प्रविधिलाई उचित प्राथमिकता नदिँदा विपद्का बेला धेरै जनधनको क्षति हुने गरेको सेइटरले सुनाए । ‘इँटा, बालुवा, सिमेन्ट, छडलगायत सामग्री तयार पार्दा वैज्ञानिक मापदण्ड पूरा भएको छ कि छैन भनी हेर्ने भरपर्दो संयन्त्र छैन,’ उनले भने, ‘भवन निर्माण गर्दा पनि विज्ञान–प्रविधिलाई वास्ता गरिँदैन।

फलस्वरुप, तोकिएको अवधिसम्म यहाँका घर टिक्न सक्दैनन् ।’ जापानमा अत्यधिक म्याग्च्यिुडका भूकम्प गए पनि घर पूर्ण रूपमा ध्वस्त नहुनुमा वैज्ञानिक प्रविधिको ठूलो हात छ । ‘जापानमा भूकम्पले भवन ढल्दा पूर्ण रूपमा ध्वस्त नभई दायाँ–बायाँ मात्र लच्किन्छ, यसले गर्दा घरभित्रका मानिसको ज्यान जाने सम्भावना कम हुन्छ । नेपालमा चाहिँ भवन भासिएर पूर्ण रूपमा नष्ट हुने भएकाले यसले व्यापक क्षति निम्त्याउने गरेको छ,’ उनले भने।

दुई हजार वर्ष पुरानो ‘विज्ञान’ 

विश्वमा विज्ञानको इतिहास दुई हजार वर्ष पुरानो भएको सेइटरले चर्चा गरे । भौतिकशास्त्रको इतिहासमा अठारौं शताब्दीमा घनत्व र गुरुत्वबलको सिद्घान्त प्रमाणित भयो । ‘उन्नाइसौं शताब्दीमा ‘एरो थर्मोडाइनामिक्स’ सिद्घान्त प्रतिपादन भएपछि मात्र राइट ब्रदर्सले हवाइजहाज बनाए,’ उनले स्पष्ट पारे, ‘अहिले हामीले उपभोग गर्दै आएका चीजहरूको क्रमिक रूपमा विकास (इभोलुसन) भएको हो।’

उन्नाइसौं शताब्दीमा ‘इलेक्ट्रीसिटी’, ‘इलेक्ट्रोनिक’ र ‘इलेक्ट्रोम्याग्नेटिक’को क्षेत्र व्यापक विकास भयो । एक्काइसौं शताब्दीमा सूचना–प्रविधिमा भएको व्यापक विकासले समाचार पठाउने शैलीका बदलिनुका साथै हात–हातमा नयाँ ‘ग्याजेट’ देखिएका छन्।

‘मानिसको जीवनमा विज्ञान–प्रविधि अपरिहार्य बनेको छ । युरोपका बेलायत, जर्मनी, स्वीडेन र इटाली तथा एसियाको जापानले विज्ञान–प्रविधिलाई जोड दिएकाले त्यहाँ बढी विकास भएको पाइन्छ,’ उनले अनुभव बाँडे । सन् १९६० को दशकमा दक्षिण कोरिया र नेपालको विज्ञान–प्रविधिको अवस्था उस्तै रहे पनि अहिले कोरिया विज्ञान–प्रविधिको चुचुरोमा पुगे पनि नेपालको अवस्था दयनीय छ।  

सरकारले विज्ञान–प्रविधिका लागि शून्य दशमलव ३८ प्रतिशत मात्र बजेट छुट्याउने गरेको छ । यसबाट पुष्टि हुन्छ कि सरकार यस क्षेत्रको विकास होइन, ‘विज्ञानमाथि बिर्को’ लगाउन चाहन्छ ।

विज्ञान–प्रविधिको अधोगति किन ?
नेपालमा विज्ञान–प्रविधिको अवस्था किन यस्तो भयो भनी खोजी गर्नुपर्नेे सेइटरको सुझाव छ । १ सय ४ वर्षको राणा शासनकालमा विज्ञान–प्रविधिको क्षेत्रमा उल्लेखनीय काम हुन सकेको देखिँदैन । गेहेन्द्र शमशेरलाई नेपालको पहिलो वैज्ञानिक मानिन्छ । विदेशमा प्राविधिक ज्ञान लिएका गेहेन्द्र शमशेर र उनको टिमले त्यही बेला बन्दुक, तोपलगायत केही हतियार बनाएको थियो।  

आधुनिक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले २००७ सालपछि मात्र काम सुरु गरेको विज्ञहरू बताउँछन् । सुरुका दिनमा कृषि, सिभिल इन्जिनियरिङ, पुरातत्व, खानी, पानी व्यवस्थापन, खाद्य, औषधि, कपडा र कागज उत्पादनमा विज्ञान–प्रविधि उपयोग गरिएको थियो । रमेशमान सिंह र दिनेशराज भुजूद्वारा लिखित ‘डेभलपमेन्ट अफ साइन्स एन्ड टेक्नोलोजी इन नेपाल’का अनुसार पश्चिमी देशहरूमा औद्योगिक क्रान्ति भए पनि नेपाल शताब्दीभन्दा बढी समय विश्व परिवेशसँग घुलमिल हुन सकेन । भारतमा अंग्रेजहरूको उपनिवेशका कारण पनि यहाँ विज्ञान–प्रविधिले फड्को मार्न नसकेको किताबको निचोड छ।

‘डेभलपमेन्ट अफ साइन्स एन्ड टेक्नोलोजी इन नेपाल’का अनुसार २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मुलुक आधुनिकीकरणको बाटोमा अगाडि बढ्यो । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको पालामा २०१३ सालमा सुरु भएको पहिलो पञ्चवर्षीय योजनामा केही मात्रामा भए पनि विज्ञान–प्रविधि सम्बन्धी कार्यक्रम राखिएको थियो ।  छैटौं योजना (२०३६–२०४१) मा आएर मात्र विज्ञान तथा प्रविधिलाई महत्वका साथ लिन थालिएको हो।

तीस वर्षे पञ्चायतकालमा विज्ञान–प्रविधि जग राम्ररी बस्न सकेन । पञ्चायत व्यवस्था अन्त्य गरी २०४७ सालमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएपछि विज्ञान–प्रविधिको विकासका लागि नीति बनाएरै काम गर्न थालिए पनि त्यसले खासै गति लिन सकेन।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का अनुसार नेपालमा अझै पनि वैज्ञानिक÷प्राविधिक जनशक्ति अभाव छ । विज्ञान–प्रविधि सर्वेक्षणका अनुसार  विज्ञान–प्रविधिका विभिन्न विधामा मुलुकभरबाट १ हजार ६८ जनाले विद्यावारिधी गरे पनि मौलिक अनुसन्धानमा लाग्नेको संख्या थोरै छ । देशभरका ४९ ठूला उद्योगमध्ये ६१ प्रतिशतले छुट्टै अनुसन्धान एकाइ सञ्चालन गरेको तथ्यांकमा देखिए पनि प्रभावकारी ढंगबाट अनुसन्धान अगाडि बढ्न सकेको छैन। 

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का अनुसार सरकारले विज्ञान–प्रविधिको विकासका लागि कूल ग्राहस्थ उत्पादनको शून्य दशमलव ३८ प्रतिशत मात्र बजेट छुट्याउने गरेको छ । यसबाट पुष्टि हुन्छ–यस क्षेत्रको विकास अनि विस्तार होइन, विज्ञानमाथि बिर्को लगाउन चाहन्छ । छिमेकी भारतले विज्ञान–अनुसन्धानमा शून्य दशमलव आठ र  चीनले दुई दशमलव शून्य सात बजेट व्यवस्था गर्ने गरेको छ । अमेरिकाले कूल ग्राहस्थ उत्पादनको २ दशमलव ७९ प्रतिशत बजेट विज्ञान–प्रविधिको क्षेत्रमा लगाउने गरेको छ। 

सन् १९१८ मा त्रिचन्द्र कलेज खुलेपछि नेपालमा विज्ञान–प्रविधिको विधिवत पढाइ सुरु भएको हो । यसअघि विज्ञान पढ्नका लागि पहुँचवाला विद्यार्थी भारत जाने गर्थे । सन् १९८२ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) स्थापना भएपछि अनुसन्धानको क्षेत्रमा केही काम हुँदै आए पनि यसले गति लिन सकेको छैन। 

सन् १९९५ सालमा छुट्टै विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय स्थापना गरिए पनि २०७४ सालको आमचुनावपछि यसलाई गाभेर शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय बनाइएको छ । मन्त्रालय गाभिएपछि अहिले विज्ञान–प्रविधिको क्षेत्रमा आर्थिक स्रोत तथा जनशक्ति झनै खुम्चिँदै गएको जानकार बताउँछन्। 

जीवनसँग नजोडिएको विज्ञान

विज्ञान–प्रविधिलाई जीवनसँग जोड्न नसक्नु ठूलो कमजोरी रहेको पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह बताउँछन् । ‘सरकारले स्पष्टसाथ विज्ञान–प्रविधि नीति ल्याउनुपर्छ । विज्ञानको विकास नभए मुलुकमा समृद्घि आउन सक्दैन,’ उनी भन्छन् । वैज्ञानिक संस्कारलाई केन्द्रमा राखेर काम गर्ने बानी बसाल्नुपर्ने उनको सुझाव छ। 

नास्टका अनुसार मुलुकभर ३ सय ३० वैज्ञानिक संस्था भए पनि तिनीहरूबीच समन्वय अभाव छ । सरकारले निकायले ती संस्थाबीच समन्वय गरेर अनुसन्धानलाई फलदायी बनाउन काम गरेको छैन । विधागत तथा विषयगत ज्ञान नभएका कतिपय कर्मचारीका कारण नेपालमा विज्ञान–प्रविधि उपेक्षित बन्ने गरेको यस क्षेत्रका जानकारको भनाइ छ । ‘नीति–निर्माण तहमा बस्ने सरकारी अधिकारीलाई विज्ञान–प्रविधिबारे आवश्यक ज्ञान छैन,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –नास्ट)का पूर्वउपकुलपति प्रा. डा. जीवराज पोखरेल भन्छन्, ‘विज्ञान–प्रविधिको विकासबिना देशको समग्र विकास सम्भव छैन । दक्ष वैज्ञानिक जनशक्तिलाई उत्प्रेरित गरेर देशमै काम लगाउनसक्ने वातावरण तयार पार्नुपर्छ।’

विज्ञान–प्रविधिमा बजेट वृद्घि तथा वैज्ञानिकहरूलाई अनुसन्धानको वातावरण तयार पार्न सरकारले भूमिका खेल्न नसकेकाले यो क्षेत्र पछाडि परेको पोखरेलको मूल्यांकन छ । सरकारले वैज्ञानिक अनुसन्धानमा गरेको लगानी न्युन भएकाले त्यसलाई बढाउनुपर्ने देखिन्छ । नास्टका लागि सरकारले वार्षिक बजेट ३२ करोड व्यवस्था गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक बजेट एक अर्बभन्दा कम छ। 

विज्ञान–प्रविधिको विकासका लागि सरकारले स्पष्ट लक्ष्यसहितको विज्ञान–नीति ल्याउनुपर्ने विज्ञहरूको धारणा छ । यसका लागि परम्परागत प्रविधि संरक्षण गरी त्यसलाई उत्पादन क्षेत्रमा लागू गरिनुपर्छ । राष्ट्रको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर वैज्ञानिक अनुसन्धान अगाडि बढाउनुपर्छ। 

प्रकाशित: १ कार्तिक २०७५ ००:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App