३० माघ २०८१ बुधबार
image/svg+xml
प्रविधि

मंगलका महँगा पत्थर

यस्तो पनि

मंगल ग्रहमा केही वर्षअघि अमेरिकी अनुसन्धान संस्था नासाले दुई वटा रोभर पठाएको थियो। पर्सिभरेन्स र क्युरिओसिटी रोभरले त्यहाँका केही तस्वीरसँगै त्यहाँको माटो तथा ढुंगाका केही नमूनाहरू एउटा ट्युबमा भेला पारिरहेको थियो। अहिले त्यो ट्युबलाई पृथ्वीमा ल्याउने कार्य स्थगित गरिएको छ।

३० वटा टाइटेनियम ट्युबलाई कसरी कम खर्चमा पृथ्वीमा ल्याउने, त्यसको कुनै उपाय नदेखेपछि ती ट्युबलाई पृथ्वीमा ल्याउने कार्य स्थगित गरिएको हो। जति चाँडो ती ट्युब पृथ्वीमा आइपुग्छ, त्यसको खर्च उति कम हुन्छ। सन् २०४० सम्म ती ट्युबलाई पृथ्वीमा ल्याउने पहिले अनुमान गरिएको थियो। अहिले त्यसलाई सन् २०३० कै दशकमा भित्र्याउन सकिए, खर्च निकै कम हुने नासाको विश्वास छ। यसरी चाँडै ती ट्युब ल्याइए छ देखि सात अर्ब डलरमै काम फत्ते हुने देखिएको हो।

यसअघि सिगारको आकारका यी ट्युब पृथ्वीमा ल्याउन ११ अर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको थियो। नासाले पठाएका ती रोभरजस्तै निजी कम्पनीले बनाएका ल्यान्डिङ सिस्टम पनि प्रयोग गर्न सकिने विकल्प पनि नासाले राखेको छ। निजी कम्पनीमध्ये कसको ल्यान्डिङ सिस्टम प्रयोग गरिने हो भन्नेबारे अहिले नै विस्तृत जानकारी दिइएको छैन। 

सन् २०२१ मा मंगल ग्रहमा अवतरण गरेपछि पर्सिभरेन्स यानले दुई दर्जनभन्दा बढी ढुंगा तथा माटोका नमूना संकलन गरेको थियो। ती नमूनामा प्राचीन सूक्ष्म जीवनको कुनै संकेत छ कि भनी नासाले खोजी गरिरहेको छ। यसका लागि सीमित नमूनाले मात्र काम नगर्ने भएकाले थप नयाँ नयाँ नमूना संकलन गरिने भएको हो। एपी समाचार संस्थाका अनुसार, वैज्ञानिकहरूले मंगलमा सुकेको नदीका किनाराहरूको नमूना ल्याई पृथ्वीस्थित प्रयोगशालामा विश्लेषण गर्न खोजिरहेका छन्। 

त्यसैले मंगलग्रहमा जम्मा पारिएका त्यस्ता नमूना त्यहाँबाट ल्याउने आवश्यक पर्ने प्रविधिका लागि सबैभन्दा सस्तो जसले बनाउँछ, उसलाई नासाले प्राथमिकता दिने बताएको हो। डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कालमा नासाका नयाँ अध्यक्ष चुनिने छन्। अर्बपति व्यवसायी जेरेड आइजकम्यान आफ्नै खर्चमा दुई पटक अन्तरीक्षमा पुगिसकेका छन्। उनको कार्यकालमा अझ राम्रा विकल्पहरू आउने अपेक्षा वैज्ञानिक जगतले गरिरहेको छ।
प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १ माघ २०८१ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App