२३ भाद्र २०८१ आइतबार
image/svg+xml
प्रविधि

विश्वभरका कम्प्युटर प्रणाली ‘डाउन’ : हवाई, बैङ्किङ,टेलिकम सेवा प्रभावित

शुक्रबार विश्वभरका कम्प्युटर प्रणालीमा ठुलो अवरोध उत्पन्न हुँदा विश्वभर अत्यावश्यक सेवा प्रभावित बनेका छन् । हवाई, टेलिकम, बैंक, सेयर बजार जस्ता सेवा प्रभावित भएका हुन् ।

यो समस्या अमेरिका, बेलायत, चीन, भारत, अस्ट्रेलिया लगायतका देशमा पनि देखिएको छ । यो समस्या माइक्रोसफ्ट अपरेटिङ सिस्टम भएका कम्प्युटरमा देखिएको हो । यो समस्यालाई ‘ब्लु स्क्रिन अफ डेथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुने समस्या भनिएको छ । यो समस्याका पछाडि एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबर सुरक्षा प्रदायक कम्पनी ‘क्राउडस्ट्राइक’ हुनसक्ने आशङ्का गरिएको छ । 

क्राउड स्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको थियो । यद्यपि माइक्रोसफ्टले समस्याको पहिचान र निदानको काम भइरहेको जनाएको छ । माइक्रोसफ्टले आफ्नो पछिल्लो अपडेटमा भनेको छ, ‘हामी समस्या समाधानलाई हटाउन प्रभावित ट्राफिकलाई वैकल्पिक प्रणालीमा लैजाने काम गर्दैछौं ।’ उता क्राउड स्ट्राइकले विन्डोजका प्रयोगकर्तामा देखिएको समस्या समाधान गर्न काम भइरहेको जनाएको छ ।

 ‘यो सुरक्षा घटना वा साइबर आक्रमण होइन,’ क्राउड स्ट्राइकका सिइओ जर्ज कुट्जले भनेका छन्,‘समस्या पहिचान गरिएको छ, छुट्टाइएको छ र समाधान हुँदैछ ।’ या समस्या आएपछि अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार सञ्चारको समस्याले शुक्रवार सबै उडानहरू ग्राउन्डेड गर्नुपरेको छ । उता जर्मनीको बर्लिन् ब्रान्डेनबर्ग विमानस्थलमा ‘प्राविधिक समस्या’ का कारण उडान स्थगन गरिएको छ । स्पेन, बेलायत, हङकङ, भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड लगायतका देशमा हवाई सेवा प्रभावित भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो समस्या चीनमा समेत देखिएको जनाइएको छ।

प्रकाशित: ४ श्रावण २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App