२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी घटनामा संयम अपनाउन मुख्यमन्त्री कार्कीको आग्रह, अफवाहको पछि नलाग्न अपिल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि सबैलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।

मंगलबार जारी विज्ञप्तिमार्फत मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव, आपसी विश्वास र भाइचाराको भावना अझ सुदृढ बनाउन सबै पक्षलाई आह्वान गरेका हुन्।

विज्ञप्तिमा उनले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको सम्मान गर्दै एकताबद्ध रूपमा अघि बढ्दै आएको उल्लेख गर्दै घटनालाई थप उत्तेजित बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

उनले भनेका छन्, “सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ। यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयततापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गर्दछु।”

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै आवश्यक समन्वय र सहयोगका लागि सम्बन्धित निकायसँग निरन्तर सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

साथै, उनले नेपाल सरकारलाई तत्काल प्रभावकारी सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

 

प्रकाशित: ११ श्रावण २०८३ २१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App