७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

एउटै अञ्चलभित्रको टेलिफोन 'लोकल'

रामचन्द्र भट्ट, काठमाडौं, फागुन १७- नेपाल टेलिकमले एउटै अञ्चलभित्र हुने टेलिफोन कललाई 'लोकल' बनाउने भएको छ। आगामी वैशाखदेखि एउटै अञ्चलभित्र हुने टेलिफोन कल स्थानीय बनाउन प्रस्ताव अघि बढेको सम्बद्ध स्रोतले जानकारी दियो।

अञ्चलभित्रको कल लोकल भएपछि एक कलबराबर एक रुपैयाँमात्र लाग्छ। बिहान र साँझ चार मिनेट, दिउँसो दुई मिनेट तथा राति आठ मिनेट कुरा गर्न सकिने समयलाई एक कल मानिन्छ। अहिले एउटै अञ्चलभित्र कल गर्दा एक मिनेटबराबर एक कल हुन्छ।

'टेलिकमकै टेलिफोन सेवाबीचमा रहेको महसुल असमानता हटाएर एकरूपता ल्याउन पनि एउटै अञ्चलभित्र लोकल गर्न लागिएको हो,' टेलिकम स्रोतले आइतबार नागरिकसँग भन्यो।


अञ्चलभित्र कल गर्दा अब एकै सहरभित्र कल गर्दा लाग्ने जति नै शुल्क लिन लागिएको हो। प्रस्तावअनुसार एउटै अञ्चलभित्र तारवाला टेलिफोनबाट तारवाला फोन र सिडिएमएको सिफोनमा कल गर्दा लोकलसरह बिहान र बेलुका चार मिनेट, दिउँसो दुई मिनेट र राति आठ मिनेट बराबर एक रुपैयाँ लिइनेछ। मोबाइलबाट एउटै अञ्चलभित्र कल गर्दा प्रतिमिनेट एक रुपैयाँमात्र लाग्छ। 'यसैसँग मिलाउने गरी अब अञ्चलभित्र हुने कल स्थानीय बनाउने हाम्रो तयारी हो,' स्रोतले भन्यो।

हाल एउटै अञ्चलभित्र तारवाला फोनबाट कल गर्दा प्रतिमिनेट एक रुपैयाँ लाग्छ। स्थानीय कलमा बिहान-बेलुकी चार मिनेटको एक कल, दिउँसो दुई मिनेटको एक कल र राति आठ मिनेटको एक कल हुन्छ। एउटै अञ्चलभन्दा बाहिर पर्ने जिल्लामा कल गर्दा भने 'ए' समूहको लागि मिनेटको दुई रुपैयाँ र 'बी' का लागि तीन रुपैयाँ महसुल लाग्छ। 'अब एउटै सहरभित्र कल गर्दा जसरी बिहान, दिउँसो, साँझ र रातिको छुट्टाछुट्टै महसुल लाग्छ, यस्तै महसुल एउटै अञ्चलभित्र लगाउने हाम्रो योजना हो,' टेलिकमका एक अधिकारीले भने।

टेलिकमले नयाँ वर्ष २०६७ सँगै एउटै अञ्चलभित्रका जिल्लामा कल गर्दा बिहान चार मिनेटबराबर एक रुपैयाँ, दिउँसो दुई मिनेटको एक रुपैयाँ र राति आठ मिनेटबराबर एक रुपैयाँमात्र महसुल लिने प्रस्ताव अघि बढाएको छ। 'नयाँ महसुल लगाउँदा कम्पनीको आर्थिक पक्ष पनि हेर्नुपर्ने कारण त्यसबारेमा थप अध्ययन भइरहेको छ,' स्रोतले भन्यो।

टेलिकमले अबको केही वर्षभित्र देशभरी फोन गर्दा एउटै महसुल लगाउने योजना पनि बनाएको छ। 'दीर्घकालीन रूपमा देशभरी हुने भनेको एउटै महसुल हो,' स्रोतले भन्यो। अहिले धेरै देशमा एसटिडी रेट हटिसकेको र देशभित्र जहाँबाट जुनसुकै ठाउँमा फोन गर्दा पनि एकल रेट प्रचलनमा आइसकेको छ। सुरुमा मोबाइल टेलिफोन सेवा सुरु हुँदा लोकल र एसटिडी थियो। अहिले मोबाइलबाट मोबाइलमै फोन गर्दा देशभरी एउटै शुल्क लाग्छ।

इन्टरनेट टेलिफोनले गर्दा हाल एउटै अञ्चलभित्रका जिल्लामा कल गर्नुभन्दा युरोप, अमेरिका, अस्ट्रेलियालगायतमा कल गर्नु सस्तो छ। टेलिकमको मोबाइलबाट देशभरी टेलिकमकै मोबाइलमा कल गर्दा एउटै महसुलमात्र छ। यस्तै गरी तारवाला फोन र सिडिएमएबाट कल गर्दा पनि देशभरी एउटै महसुल बनाउने योजनामा टेलिकमको छ।

नयाँ प्रविधिले गर्दा दूरसञ्चार सेवा प्रदायकलाई अब देशभरी एउटै रेट कायम गर्दा पनि घाटा पर्ने स्थिति नभएको यो क्षेत्रका विश्लेषकहरू बताउँछन्।

 

प्रकाशित: १६ फाल्गुन २०६६ २१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App