नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ आयोजना हुने भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विश्वप्रसिद्ध जापानी व्यावसायिक रेस्लर तथा डब्लुडब्लुई हल अफ फेममा सम्मानित तात्सुमी फुजिनामी नेपाल आउने भएका छन्।
विश्व रेस्लिङ इतिहासका प्रतिष्ठित व्यक्तित्वमध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली व्यावसायिक रेस्लिङ क्षेत्रमा ऐतिहासिक अवसर सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
खेलकुद, मनोरञ्जन र सङ्गीतलाई एउटै मञ्चमा प्रस्तुत गरिने यो भव्य कार्यक्रम २०८३ साल असार २० गते (शनिबार) दिउँसो २ बजेदेखि ललितपुरस्थित नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ।
कार्यक्रममा तात्सुमी फुजिनामीसँगै जापानका चर्चित व्यावसायिक रेस्लर लेओना फुजिनामी, हारु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो तामुरा, यासुशी मियामोतो र ह्यो ओगावाले पनि प्रतिस्पर्धा गर्नेछन्।
यसैगरी, नेपाली व्यावसायिक रेस्लरहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। नेपालको व्यावसायिक रेस्लिङका अग्रणी प्रशिक्षक हिमालयन टाइगरको मार्गदर्शनमा तयार भएको नेपाली टोलीको नेतृत्व चर्चित र्यापर तथा व्यावसायिक रेस्लर बुलेट फ्लो (थापाकाजी) ले गर्नेछन्। टोलीमा अनुभवी रेस्लर जोन ब्रीज र लिजार्ड किङ पनि सहभागी रहनेछन् ।
पिग ई प्रोडक्सनको प्रस्तुतिमा आयोजना हुन लागेको यस कार्यक्रमको सहआयोजक नखिपोट युथ क्लब रहेको छ भने कार्यक्रमको निर्देशन ताकाशी ताकेई (टक बिष्ट) ले गरिरहेका छन् । आयोजकका अनुसार ‘पीडब्लुएक्सएम: रेस्ल क्यासल’ मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान हो । यस कार्यक्रममार्फत नेपाल र जापानबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने, नेपाली रेस्लरलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर उपलब्ध गराउने, नयाँ प्रतिभा उत्पादन गर्ने तथा नेपाली दर्शकलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ।
रेस्लिङ प्रतिस्पर्धासँगै कार्यक्रममा चर्चित र्याप कलाकार डीबी यो म्याजेस्टी, भी लेन ३९ तथा लोकप्रिय गायक कुहाङको सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
प्रकाशित: १४ असार २०८३ २१:४१ आइतबार





