फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) मा साविक विजेता अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय पुनरागमन गरेको छ। एटलान्टा रंगशालामा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले खेललाई २-२ को बराबरीमा ल्याएको छ।
खेलको ७९औँ मिनेटमा डिफेन्डर क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीको आशा जीवित राखेका थिए। त्यसपछि लगातारको आक्रामक प्रयासका बिच कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका हुन्। टोलीलाई सबैभन्दा बढी आवश्यकता परेको समयमा मेस्सीले गोल गरेपछि अर्जेन्टिना अहिले खेलमा थप उत्साहित देखिएको छ।
इजिप्टले खेलको १५औँ मिनेटमा यासिर इब्राहिम र ६७औँ मिनेटमा मुस्तफा जिकोको गोलमार्फत दुई गोलको अग्रता बनाएको थियो। अर्जेन्टिनाले खेलको सुरुवातमै पेनाल्टीको अवसर पाए पनि मेस्सीले उक्त मौका चुकाएका थिए। त्यस्तै, ५९औँ मिनेटमा भिडियो प्रविधिको सहयोगमा इजिप्टको थप एक गोल रद्द भएको थियो।
अहिले खेल निकै रोमाञ्चक मोडमा पुगेको छ। दुवै टोलीले जितका लागि अन्तिम प्रयास गरिरहेका छन्। साविक विजेता अर्जेन्टिनाले २-० ले पछि परेको खेललाई बराबरीमा ल्याएपछि निर्धारित समयको बाँकी मिनेटमा अब के हुन्छ, त्यसको प्रतीक्षा बढ्दो छ।
प्रकाशित: २३ असार २०८३ २३:३५ मंगलबार





