२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसहितको कालोचस्मा बारे कार्यव्यवस्थामा छलफल !

कालोचस्मा बारे सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको छ । बुधबारको समितिको बैठकमा दलका सचेतक र सभामुखबीच कालोचस्मा लगाउने वा नलगाउने भन्ने विषयमा कुराकानी भएको थियो ।  

सभामुखसँग दलका प्रमुख सचेतक र सचेतकले लामै छलफल गरे पनि कुनै औपचारिक निर्णय भने नभएको सभामुखको सचिवालयले जनाएको छ । विशिष्ठ व्यक्तिले लगाएको कालोचस्माबारे पनि निक्कै कुराकानी भएको थियो ।

‘बुधबारको कार्यव्यवस्था समिति बैठकमा कालोचस्माको प्रसंगबारे निक्कै छलफल भयो । सांसदहरूले बैठकमा उपस्थित हुँदा कालोचस्मा लगाउने वा नलगाउने विषयमा धेरै जिज्ञासा र उदाहरण प्रस्तुत गरे । विशिष्ट व्यक्तिले लगाउँदा राम्रो देखिने प्रसंग पनि बैठकमा उठेको थियो,’ सभामुखको सचिवालयका एक कर्मचारीले भने, ‘तर यस विषयमा कुनै आधिकारिक निर्णय भएको छैन । सभामुखले निर्देश गरेको पनि होइन ।’

संसद बैठकलाई अलिकति मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग उठेको बताउँदै उनले सांसदहरू मर्यादित बन्नुपर्ने विषयमा सभामुखले खबरदारी गरेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदले संसदमा कालोचस्मा लगाएर बैठकमा सहभागी हुने गरेका छन् ।

प्रतिनिधिसभा नियमावलीमा पोशाक र प्रतीक चिह्नबारे व्यवस्था छ। सदस्यहरूको पोशाक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखले तोकेबमोजिम हुने व्यवस्था छ।

पोशाख तोक्दा औपचारिक, मौलिक संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषामा ध्यान दिनुपर्ने उल्लेख छ।

प्रकाशित: २१ श्रावण २०८३ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App