१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकप लिग २ः स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

आइसिसी विश्वकप लिग २ मा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको रनको योगफल तयार पारेको हो।

जर्ज मुन्से र फिन्ले म्याक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। तर २१औं ओभरमा दुवै सन्दीप लामिछानेको बलमा पवेलियन फर्केपछि स्कटल्यान्डको इनिङ्स सुस्ताएको थियो। मुन्से ७५ र म्याक्रेथ ३५ रनमा आउट भए। 

सन्दीपले धारिलो बलिङ गरेपछि ११४ रनमा पहिलो विकेट गुमाएको स्कटल्यान्डले थप १४ रन जोड्दा चार विकेट गुमाएको थियो। सुरुवाती चारै विकेट सन्दीपले लिए। 

सन्दीपले आफ्नो स्पेलमा एक मेडन ओभरसहित मात्र ४१ रन दिए। 

विष्फोटक ब्याटिङ गरिरहेका मार्क वार्टलाई करण केसीले २४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए। म्याथ्यु क्रस पनि १८ रनमा करणकै बलमा आउट भए। माइकल इंग्लिस ३४ रनमा नटआउट रहे भने माइकल लिस्क २९ रनमा नन्दन यादवको बलमा बोल्ड भए। इनिङ्सकै अन्तिम बलमा नन्दनले ज्याक जार्भिसलाई डक आउट गराए। 

नेपालले स्कटल्यान्डविरुद्ध ७ जना बलर प्रयोग गरेको थियो।  सन्दीपले ४ तथा करण र नन्दनले समान २ विकेट झारे। 

आठ देश सहभागी जारी सिरिज लिग २ मा नेपाल र अमेरिकाको सातौं हो भने स्कटल्यान्डको आठौं हो। २४ खेलमा ३६ अंकसहित अमेरिका शीर्ष र २८ खेलमा ३४ अंकसहित स्कटल्यान्ड दोस्रो स्थानमा छन्। २४ खेलमा १८ अंक बनाएको नेपाल भने सातौं स्थानमा छ। जारी सिरिजका चारमध्ये दुई खेलमा जित निकाल्न सके नेपालले कम्तीमा दुई स्थान सुधार गर्नेछ।  

प्रकाशित: २९ वैशाख २०८३ १३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App