आइसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो सातौं शृंखलामा नेपालले अमेरिकासामु ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो। त्रिवि मैदानमा कुनै टिमले बनाएको यो योगफल उच्च हो।
इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपाल उच्च योगफल बनाउन सफल भयो। लगातार दोस्रो अर्धशतक बनाउने क्रममा पाण्डेले ८३ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८४ रन बनाए। २९ बलमा अर्धशतक पूरा गरेका ऐरीले ३६ बलमा चार छक्का र चार चौकाको मद्दतमा ५९ रन बनाए।
नेपालका लागि क्याप्टेन रोहित पौडेलले ४६, आशिफ शेखले ४३, कुशल भुर्तेलले २९ र गुल्शन झाले १५ रन बनाए। आरिफ शेख १८ रनमा नटआउट रहे।
अमेरिकाका लागि शुभम रन्जानेले ३ तथा रुसिल युगार्कर र मिलिन्द कुमारले समान एक विकेट लिए।
स्कटल्यान्डसमेत सहभागी जारी सिरिजमा नेपाल र स्कटल्यान्डले दुई दुई तथा अमेरिकाले एक खेल जितेका छन्।
प्रकाशित: ८ जेष्ठ २०८३ १३:४९ शुक्रबार


-600x400.jpg)


