३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अपराध

डिपो नपुग्दै बाटोमै तेल ‘गायब’ पार्ने एक पक्राउ, तीन ट्याङ्कर नियन्त्रणमा

एआईको सहयोगमा तयार गरिएको सांकेतिक तस्बिर।<br>

नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ बाटोमै विशेष सुरक्षा ताला तोडेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भारत तथा अमलेखगञ्जबाट डिपोका लागि ल्याइएको डिजेल अनधिकृत रूपमा खन्याइरहेको भेटिएपछि भैरहवास्थित सर्राफ आयल स्टोरलाई प्रहरीले सिल गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले मंगलबार भैरहवाको लुम्बिनी रोडस्थित सर्राफ आयल स्टोरमा छापा मारेको थियो।

पम्पभित्र विशेष सुरक्षा ताला तोडेर लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका दुईवटा ट्याङ्करबाट करिब ३० लिटर डिजेल खन्याइसकेको अवस्थामा प्रहरीले ती ट्याङ्कर र सिद्धार्थनगर नगरपालिका-३, दरखसवाका २२ वर्षीय मसुर अजाहर हुसेनलाई रङ्गेहात नियन्त्रणमा लिएको हो।

छापा मारेको सुइँको पाएपछि पम्पबाट भागेको लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्करलाई प्रहरीले निगमको भलवारी डिपो परिसरबाटै नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि थप कानुनी अनुसन्धान अघि बढाइएको जानकारी दिए।

निगमको आधिकारिक बिक्रेता रहेको सर्राफ आयल स्टोरले स्वीकृत प्रक्रियाबाहेक अन्य माध्यमबाट पेट्रोलियम पदार्थ खरिद-बिक्री गर्न पाउँदैन। तर, पम्पले चालक र सहचालकको मिलेमतोमा सिलबन्दी ट्याङ्करबाटै तेल चोरी गरी बिक्री गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरीले विशेष निगरानी बढाएको थियो।

सो पम्पबाट यसअघि पनि तेल चोरी हुने गरेको गुनासो व्यवसायीहरूले गर्दै आएका थिए।

आयल निगमले इन्धन ढुवानी सुरक्षित बनाउन भारतबाट लोड भएर आउने ट्याङ्करहरूमा निर्धारित स्थानमा मात्र खोल्न मिल्ने विशेष शिल र तालाबन्दीको व्यवस्था गरेको हुन्छ।

डिपोमा पुगेपछि तेलको परिमाण र गुणस्तर अनिवार्य रूपमा परीक्षण गरेर मात्र पम्पहरूलाई आपूर्ति दिइने भएकाले यस चोरी प्रकरणमा निगमका कर्मचारीकै समेत मिलेमतो हुन सक्ने आशंका स्थानीय पेट्रोलियम व्यवसायीहरूले गरेका छन्।

प्रकाशित: ३० भाद्र २०८३ २१:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App