आइसिसी विश्वकप लिग- २ क्रिकेटमा अमेरिकाको ६ खेल लामो अपराजित यात्रामा पूर्णबिराम लागेको छ। कीर्तिपुरमा जारी शृंखलामा अमेरिका स्कटल्यान्डसँग रनले पराजित भएको हो।
हारपछि अमेरिका अंकतालिकामा दोस्रो स्थानमा झरेको छ। जारी शृंखलामा आफ्नो पहिलो खेलमा नेपाललाई पराजित गरेको स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ। ३० खेलबाट स्कटल्यान्डको ३८ र २५ खेलमा अमेरिकाको ३६ अंक छ ।
वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले अमेरिकामाथि डीएलएस मेथडका आधारमा २ रनको रोमाञ्चक जित निकालेको हो। आफ्नो पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई पनि २ रनले पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३२ ओभरमा २४९ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो। अमेरिकाका लागि साइतेजा जयसूर्याले १०४ र स्मिथ पटेलले ७२ रन बनाएपनि हार भने टार्न सकेनन्।
६ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केको अमेरिकन इनिङ्स ध्वस्त बनाउन ब्रान्ड कुरी, ब्रोन्डोन म्याकमुलेन र सफियान सरिफले समान २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट गुमाएर ३२१ रनको उच्च योगफल तयार पारेको थियो। फिन्ले म्याकक्रेथले ७७, म्याथ्यु क्रसले ५८ र ब्रेन्डोन म्याकमुलेनले ५५ रन बनाएका थिए।
सौरभ नेत्रभल्कर र जसदीप सिंहले समान २ विकेट लिए।
लिग २ मा शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित: ३१ वैशाख २०८३ १८:३० बिहीबार





