स्लोभानियाका रेफ्री स्लाभ्को भिन्चिचले अमेरिकाको न्युयोर्क सहरमा तय स्पेन र अर्जेन्टिनाबिच आइतबार हुने फिफा विश्वकपको फाइनलमा खेलाउने भएका छन् ।
दुई वर्षअघि युइएफए च्याम्पियन्स लिगको फाइनल सञ्चालन गरेका ४६ वर्षे स्लाभ्कोले विश्वकपको २३औं संस्करणको फाइनल खेलाउने भएका छन् । फिफाले बिहीबार राति भिन्चिचलाई फाइनलको रेफ्री नियुक्त गरेको हो ।
लगातार दोस्रो विश्वकप फाइनलमा साविक विजेता अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्द्वीविरुद्ध युरोपेली रेफ्रीकै नेतृत्वमा खेल्ने भएको छ । यस विश्वकपमा अर्जेन्टिनाले केही रेफ्री निर्णयमा फाइदा पाएको भन्दै फिफाले आलोचना पनि खेपिरहेको छ ।
लियोनेल मेसीले अल्जेरियाविरुद्ध खेलमा कडा ट्याकल गरे पनि रातो कार्डबाट जोगिएको घटनापछि विवाद चर्किएको थियो ।
इजिप्ट र दक्षिण अफ्रिकाका प्रशिक्षकहरूले पनि रेफ्री निर्णयमा असहमति जनाएका थिए ।
अर्जेन्टिनासँग ३–२ ले पराजित भएको खेलमा इजिप्टले रेफ्रीको निर्णय पक्षपातपूर्ण रहेको भन्दै औपचारिक गुनासो गरेको थियो ।
तर, फिफाका रेफ्री प्रमुख पियरलुइजी कोलिनाले फिफा विश्वकपका कुनै पनि रेफ्रीको इमानदारितामाथि प्रश्न उठाउन नसकिने दाबी गरेका थिए । यस विश्वकपमा भिन्चिचले तीन खेल सञ्चालन गरेका छन् ।
ती खेलमा उनले सात पहेंलो कार्ड र एक रातो कार्ड दिएका छन् । कुनै पनि पेनाल्टी दिएका छैनन् । पछिल्लोपल्ट अन्तिम ३२ मा इक्वेडर र मेक्सिकोबिचको खेल सञ्चालन गरेका थिए ।
त्यस खेलमा भिडियो समीक्षा (भिएआर) पछि मेक्सिकोका खेलाडीसँग विवादका क्रममा मुख छोपेको भन्दै इक्वेडरका पिएरो हिन्कापिएलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए ।
समूहचरणमा ब्राजिल र मोरक्कोबिच १–१ को बराबरी तथा अल्जेरियाले जोर्डनलाई २–१ ले हराएको खेल पनि उनले नै सञ्चालन गरेका हुन् ।
भिन्चिचलाई विश्वकप फाइनलको रेफ्री बनाउने फिफाको निर्णयले केही फुटबल विश्लेषकलाई आश्चर्यचकित बनाएको छ । यसको कारण फिफा अध्यक्ष जियानी इन्फान्टिनो र स्लोभेनियाली कानुन व्यवसायी अलेक्जान्डर चेफेरिन नेतृत्वको युइएफएबिच जारी तनावलाई मानिएको छ ।
चेफेरिन पनि न्यु जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनल हेर्न उपस्थित हुने अपेक्षा गरिएको छ । अन्तिम १६ मा बेल्जियमविरुद्ध खेल्न पाउनका लागि अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको अनिवार्य एक खेलको प्रतिबन्ध फिफाले हटाइदिएपछि युइएफएले फिफाले ‘रातो रेखा पार गरेको’ आरोप लगाएको थियो ।
युइएफएले उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले उचित ठहरिन नसक्ने’ भनेको थियो । विश्वकपको चौथो दिन मियामीमा फिफाको सम्मेलनका क्रममा केही राष्ट्रिय फुटबल महासंघहरूले संयुक्त पत्र सार्वजनिक गर्दै चेफेरिनको व्यक्तिगत रूपमा आलोचना गरेका थिए ।
प्रतियोगिता सुरु हुनुअघि स्लोभेनियामा उनले ४८ टोलीको विस्तारित विश्वकप प्रारूपबारे दिएको टिप्पणीप्रति उनीहरूले आपत्ति जनाएका थिए ।
प्रकाशित: १ श्रावण २०८३ २१:२४ शुक्रबार





