फिफा विश्वकप २०२६ को समूह चरण जारी रहँदा नकआउट चरण (राउन्ड अफ ३२) ले आकार लिन थालेको छ।
हालसम्म मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स र नर्वेले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
सह–आयोजक मेक्सिको समूह एबाट नकआउटमा पुग्ने पहिलो टोली बन्यो। त्यसपछि संयुक्त राज्य अमेरिका, जर्मनी र साविक विजेता अर्जेन्टिनाले पनि आफ्नो स्थान पक्का गरे।
प्रतियोगिताअघि उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले पनि अन्तिम ३२ मा प्रवेश गरेका छन्।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी उत्कृष्ट लयमा देखिएका छन्। उनले अस्ट्रियाविरुद्ध दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्याए। प्रतियोगिताको सुरुआती खेलमै उनले ह्याट्रिक पनि गरेका थिए।
यता, केही टोलीहरूको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। हाइटी, टर्किए, ट्युनिसिया र जोर्डन प्रतियोगिताबाट बाहिरिने पहिलो चार टोली बनेका छन्।
नयाँ टाइ–ब्रेकर नियमअनुसार हेड–टु–हेड नतिजालाई प्राथमिकता दिइएकाले केही टोलीहरू अंक बराबरीको सम्भावना हुँदाहुँदै पनि अगाडि बढ्न असफल भएका छन्।
यस संस्करणको विश्वकपमा पहिलो पटक ४८ टोलीसम्म विस्तार गरिएको थियो। १२ समूहका शीर्ष दुई टोली तथा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट आठ टोली नकआउट चरणमा पुग्ने व्यवस्था गरिएको छ। त्यसअनुसार कुल ३२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा जारी राख्नेछन्।
राउन्ड अफ ३२ का खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्। त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै जुलाई १९ मा फाइनल खेल आयोजना गरिनेछ।
समूह चरणका खेलहरू अझै जारी रहेको छ।
प्रकाशित: ९ असार २०८३ १२:२१ मंगलबार





