राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र जो जहाँबाट आएको भए पनि सबैको साझा उद्देश्य राष्ट्रका लागि परिवर्तन र परिणाममुखी राजनीति हुनुपर्ने बताएका छन्।
जारी महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिक शैलीबाट फरक परिणाम अपेक्षा गर्न नसकिने उल्लेख गर्दै परिवर्तनलाई व्यवहारमै आत्मसात् गर्नुपर्ने धारणा राखे।
उनले राजनीतिक चरित्र, शक्ति प्राप्तिको प्रतिस्पर्धा तथा गुट–उपगुटको अभ्यास पुरानै ढाँचामा कायम रहे परिणाम पनि उस्तै रहने बताए।
लामिछानेले भने, “राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको संघर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ, फरक हुँदैन।”
उनले रास्वपाभित्र विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरू भए पनि पार्टीको मूल प्रतिबद्धता राष्ट्रहितसँग जोडिएको बताए।
उनका अनुसार, “जहाँबाट जसरी आएको भए पनि यो निलो रङभित्र राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता मिसिएको छ।”
सभापति लामिछानेले नयाँ परिणाम चाहिने हो भने सोच, कार्यशैली र राजनीतिक अभ्यासमै परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पुरानै ढाँचाबाट नयाँ उपलब्धि खोज्ने प्रयास सफल नहुने चेतावनी दिए।
उनले भने, “हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले दिवास्वप्न देखेको छ भने त्यो असफलतातर्फ जान्छ।”
प्रकाशित: ९ असार २०८३ १५:४८ मंगलबार





