फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धामा स्पेन र अस्ट्रिया बिहीबार आमनेसामने हुँदैछन्।
लस एन्जलस स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको स्पेन प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै अन्तिम ३२ मा पुगेको हो।
स्पेनले समूह चरणका तीनै खेलमा प्रभावशाली प्रदर्शन गर्दै एक गोल पनि नखाई नकआउट यात्रा तय गरेको छ। हालसम्म समूह चरणमा क्लिनसिट कायम राख्ने टोलीमध्ये स्पेन र मेक्सिको मात्र रहेका छन्।
तर स्पेनका लागि खेलअघि केही चुनौती थपिएका छन्। उरुग्वेविरुद्धको अन्तिम समूह चरणको खेलमा दुई महत्वपूर्ण खेलाडी घाइते भएपछि टोली संयोजनमा असर पर्ने देखिएको छ।
स्टार विङ्गर निको विलियम्स गम्भीर ग्रोइन इन्जुरीका कारण मैदान बाहिर रहने निश्चित भएको छ भने फरवार्ड येरेमी पिनो काँधको चोटका कारण यो खेल गुमाउने भएका छन्।
यी अनुपस्थितिपछि प्रशिक्षक लुइस दे ला फुएन्तेले एलेक्स बेएनालाई लामिन यामाल र मिकेल ओयारजाबालसँग अग्रपङ्क्तिमा उतार्ने सम्भावना रहेको छ। मिडफिल्डमा रोद्री, पेड्री, दानी ओल्मो, मिकेल मेरिनो र फाबियन रुइजमध्ये संयोजन मिलाउने तयारी भइरहेको छ।
यता अस्ट्रिया भने पूर्ण फिट टोलीसहित नकआउट चरणमा प्रवेश गरेको छ। अन्तिम समूह खेलमा अल्जेरियासँग ३–३ को बराबरी खेल्दै टोली उपविजेताका रूपमा अर्को चरणमा पुगेको थियो। प्रशिक्षक राल्फ राङनिकसँग यस खेलका लागि नयाँ चोट वा प्रतिबन्धको कुनै समस्या नरहेको बताइएको छ।
कप्तान डेभिड अलाबालाई सामान्य असहजता देखिए पनि मेडिकल टोलीले खेल्न अनुमति दिएको छ। त्यस्तै अनुभवी स्ट्राइकर मार्को अर्नाउटोभिच पनि चोटमुक्त हुँदै टोलीमा फर्किएका छन्।
समूह चरणमा स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि साउदी अरेबियामाथि ४–० को सहज जित निकाल्दै अन्तिम खेलमा उरुग्वेलाई १–० ले हराएर समूह एचको विजेता बनेको थियो।
अस्ट्रियाले भने पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार बेहोरेको थियो। अन्तिम खेलमा इन्जुरी समयमा साशा कालाज्जिचको गोलमार्फत अल्जेरियासँग ३–३ को बराबरी निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो।
स्पेन बलियो रक्षापङ्क्ति र उत्कृष्ट लयमा देखिएको छ भने अस्ट्रियाले आक्रमणमा प्रभाव देखाए पनि रक्षात्मक कमजोरी सुधार्नुपर्ने देखिन्छ। आजको खेलले क्वार्टरफाइनल यात्रा तय गर्ने टोलीको टुंगो लगाउनेछ।
प्रकाशित: १८ असार २०८३ १४:१० बिहीबार




