ब्राजिलियन महिला फुटबलकी लिजेन्ड मार्ताले एक वर्षअघि आँखाभरि आँसु लिँदै ओलम्पिक फाइनल छोडेकी थिइन्, जुन दिन राष्ट्रिय फुटबल टोलीसँग उनको लामो करियरको पनि अन्त्य थियो।
६ पटक विश्वकै उत्कृष्ट फुटबलको पुरस्कार जित्न सफल मार्ताको करियर अहिले नै समाप्त भएको भने छैन। ३९ वर्षीया फर्वार्ड मार्ता फेरि संन्यासबाट फर्किएर इक्वेडरमा जारी कोपा अमेरिका फेमेनिनामा ब्राजिलबाट खेलिरहेकी छन्।
दक्षिण अमेरिकी क्षेत्रमा हुने सबैभन्दा ठूलो महिला फुटबल प्रतियोगिता हो, कोपा अमेरिका फेमेनिना। जहाँ ब्राजिल आठपल्टको च्याम्पियन हो। यस समरमा भइरहेको तीन ठूला महादेशीय महिला फुटबल प्रतियोगिताहरूमा कोपा अमेरिका फेमेनिना, युरोपेली च्याम्पियनसिप (महिला युरो कप) र अफ्रिकन कप अफ नेसन्स छन्।
ब्राजिलको राष्ट्रिय टोलीबाट मार्ता रिटायर्ड भए पनि ब्राजिलका प्रशिक्षक अर्थर इलियासले मे महिनाको अन्त्यमा जापानसँगको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई फेरि टोलीमा बोलाएका थिए।
कोपा अमेरिकाको तयारीका लागि जुन महिनाको अन्त्यमा फ्रान्सविरुद्धको खेलबाट मार्ताले आफ्नो पुनरागमन गरेकी हुन्। उनले यो समय र अवसरसँग अगाडि बढेको बताएकी छन्। ‘मेरो काम र भावना कहिल्यै परिवर्तन हुँदैन। गर्वको क्षणमा पनि परिवर्तन आउँदैन। टिमलाई मद्दत गर्ने मेरो इच्छाशक्ति पनि उस्तै रहन्छ। चाहे म खेलिरहेकी छु वा छैन,’ उनले भनेकी छन्। मार्ताले ब्राजिलको फुटबल टोली एउटा टिम मात्र नरहेर आफ्नो दैनिक जीवन जस्तै रहेको बताएकी छन्। ‘यो मेरा लागि टिम मात्र होइन। मेरो दैनिक जीवन पनि हो,‘ मार्ताले टोलीमा फर्किएपछि पत्रकार सम्मेलनमा भनेकी छन्। उनले ब्राजिलको टोलीबाट अझै खेल्न बाँकी रहेको र त्यसलाई पूरा गर्ने पनि उल्लेख गरिन्।
गत वर्ष पेरिस ओलम्पिकअघि मार्ताले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेकी थिइन्। नयाँ पुस्ताका खेलाडीहरूको लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेको भन्दै उनले राष्ट्रिय टोलीबाट बिदा लिने उल्लेख गरेकी हुन्। फाइनलमा अमेरिकासँग १–० ले पराजित भएपछि ब्राजिल रजत पदकमा नै सीमित भएको थियो। तर, उनले आफ्नो क्लब फुटबललाई भने निरन्तरता दिइन्।
नेसनल वुमेन्स सकर लिग (एनडब्लुएसएल) मा उनी ओरलान्डो प्राइडबाट खेल्दै आइरहेकी छिन्। गत सिजनमा उनले ११ गोल गरेकी थिइन्। जसले गर्दा उनको टोलीले उपाधि पनि जितेको थियो। यस वर्ष सन् २०२६ सम्मका लागि प्राइडसँग उनको अनुबन्ध नवीकरण पनि भएको छ। मार्ताले ब्राजिलको राष्ट्रिय टोलीबाट २० वर्षभन्दा लामो समय खेलेकी छन्।
ब्राजिलका लागि उनले २०४ खेलमा ११९ गोल गरिसकेकी छिन्। समान ६ वटा विश्वकप र ओलम्पिकमा मार्ताले ब्राजिलीको जर्सीमा खेलेकी छन्। ब्राजिलले सन् २००७ को विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेको थियो। तर, त्यति बेला उपविजेतामा नै सीमित हुन पुग्यो। ब्राजिल ओलम्पिक फाइनलमा तीन पटकसम्म पुगेको छ। यसमा पेरिस ओलम्पिक पनि समावेश छ। तर, स्वर्ण पदक भने अहिलेसम्म प्राप्त गर्न सकेको छैन। यसपल्ट कोपा अमेरिकाको पहिलो खेलमा ब्राजिलको टोलीमा मार्ताले सुरुआती अवसर पनि पाइन्। त्यो खेलमा ब्राजिल भेनेजुएलाविरुद्ध २–० गोलले विजयी भयो। त्यसपछि उनको टोलीले बोलिभियाविरुद्ध ६–० गोलको जित निकालेको थियो।
यस खेलमा भने मार्ता अन्तिम समय मैदान प्रवेश गरेकी हुन्। अब तेस्रो खेल ब्राजिलले मंगलबार पाराग्वेविरुद्ध खेल्नेछ। प्रशिक्षक इलियासले दिने हरेक भूमिका स्वीकार गर्न आफू तयार रहेको उनी बताउँछिन्। उनले ब्राजिलसँग धेरै प्रतिभाशाली युवा खेलाडीहरू रहेकाले जुनसुकै समयमा खेल्न पनि तयार हुने उल्लेख गरेकी हुन्।
अहिले ब्राजिलको टोलीमा २५ वर्षीया केरोलिन (म्यानचेस्टर सिटी) र २२ वर्षीया लुआनी (एट्लेटिको मड्रिड) जस्ता युवा स्टारहरू छन्। तर, एउटा ठूलो प्रश्न अझै छ, २०२७ मा महिला विश्वकप मार्ताकै ब्राजिलमा आयोजना हुनेछ। के त्यसमा पनि उनी हुनेछिन् त ? यसअघि, मार्ताले ४१ वर्षको उमेरसम्म आफू खेल्न नसक्ने उल्लेख गरेकी थिइन्। तर, खेल्नै नसक्ने अवस्थालाई भने उनले पूर्ण रूपमा अस्वीकार गरेकी छन्।
‘प्रशिक्षकले सधैं स्पष्ट भनेका छन् कि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र टोली बोलाउनेछु। त्यसमा उमेरको हदबन्दी हुने छैन। मलाई लाग्छ कि उनले गरिरहेको तरिका सबैभन्दा सही पनि हो,’ मार्ताले भनेकी छन्, ‘यहाँ आएर म दुई वर्षपछि विश्वकप खेल्नेछु भन्नुको कुनै मतलब छैन।’ आपूmले हरेक दिन गर्ने प्रदर्शनले नै भविष्य निर्धारण गर्ने उनको भनाइ छ।
मार्ताको आफ्नो खेलकरियरबाट अर्को योजना रहेको पनि हुन सक्छ। ‘म अझै आमा बन्ने ठूलो इच्छा राख्दछु। त्यसैले होला, म एक दिन मेरो डाक्टरलाई फोन गरेर यो अझै सम्भव छ कि छैन भनेर हेर्ने निर्णय गर्न सक्छु। यदि सम्भव छ भने फुटबललाई अलबिदा गर्दै टाढा जानुपर्छ।’
प्रकाशित: ७ श्रावण २०८२ ०८:२७ बुधबार





