विम्बल्डन आयोजकले यस वर्षको प्रतियोगिताका लागि कीर्तिमानी ६ करोड ४२ लाख पाउन्ड पुरस्कार राशि घोषणा गरेको छ।अमेरिकी डलरमा यो रकम करिब ८ करोड ५७ लाख डलर बराबर हुन्छ।
यो विम्बल्डनको इतिहासमै एक वर्षमा गरिएको सबैभन्दा ठूलो पुरस्कार राशि वृद्धि हो। तर प्रमुख खेलाडीहरूले ग्रान्डस्लाम प्रतियोगिताबाट हुने आम्दानीमा आफूहरूको हिस्सा अझ बढाउनुपर्ने माग गरिरहेका बेला घोषित रकमले उनीहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने सम्भावना भने कम देखिएको छ।
खेलाडीहरूले विम्बल्डनसहित चारवटै ग्रान्डस्लामले अन्य एटीपी र डब्लुटीए प्रतियोगिताको तुलनामा कुल आम्दानीको सानो हिस्सा मात्र पुरस्कारका रूपमा बाँड्ने गरेको दाबी गर्दै आएका छन्। उनीहरूले विम्बल्डनको कुल पुरस्कार राशि करिब ७ करोड पाउन्ड पुर्याउनुपर्ने माग गरेका थिए।
फ्रेन्च ओपनका क्रममा केही खेलाडीले सञ्चारमाध्यमसँगको उपस्थितिसमेत सीमित गरेका थिए। पुरस्कार रकम बाँडफाँटको विषयमा सहमति नबने भविष्यमा प्रतियोगिता बहिष्कार गर्नेसम्मको चेतावनी दिइएको थियो।
विम्बल्डनकी अध्यक्ष डेबी जेभान्सले खेलाडीहरूको तर्फबाट पारिश्रमिकसम्बन्धी माग अघि बढाइरहेका ल्यारी स्कटसँग पेरिसमा छलफल भएको बताएकी छिन्। उनका अनुसार विम्बल्डनले घोषणा गरेको रकम उचित रहेको र खेलाडीहरूले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छिन्।
जेभान्सले विम्बल्डनले आफ्नो बचतको ९० प्रतिशत रकम बेलायती टेनिसमा पुनः लगानी गर्ने गरेको पनि बताइन्। गत वर्ष अल इंग्ल्यान्ड लन टेनिस एन्ड क्रोकेट क्लबले लन टेनिस एसोसिएसनलाई ४ करोड ८१ लाख पाउन्ड उपलब्ध गराएको थियो।
उनले प्रतियोगिताको कुल आम्दानीलाई मात्र आधार बनाएर पुरस्कार राशि निर्धारण गर्नु उचित नहुने बताइन्। विम्बल्डन नाफामुखी संस्था नभएकाले अन्य ठूला एटीपी प्रतियोगितासँग यसको तुलना गर्न नमिल्ने आयोजकको तर्क छ।
खेलाडी र आयोजकबीच पुरस्कार रकम तथा ग्रान्डस्लाम आम्दानीको बाँडफाँटलाई लिएर देखिएको मतभेदले यस वर्षको विम्बल्डनअघि आर्थिक पक्षलाई समेत चर्चाको विषय बनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ ०७:५४ शुक्रबार





