१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

‘एएफसी यु-२३ एसियन कपमा छनोट हुन्छौं’

विश्व फुटबलमा आफूभन्दा बलिया राष्ट्र रहेको समूहबाट नेपाली युवा टोली एएफसी यु–२३ एसियन कपमा छनोट हुने लक्ष्यमा छ।

यो उमेरसमूहमा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने हुन्। उनी नेपालको घरेलु फुटबलमा सफल प्रशिक्षकका रूपमा चिनिन्छन्। उनै न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ताजिकिस्तानमा हुने छनोटमा सफलता पाउने आशा व्यक्त गरेको छ।

एसियाका कुल ४४ राष्ट्रले खेल्ने छनोटमा नेपाल समूह ‘के’ मा छ। यो समूहमा ताजिकिस्तानसहित सिरिया र फिलिपिन्सजस्ता एसियाली फुटबलको बलिया टोली छन्। फिफा वरीयतामा पनि तीनै राष्ट्र नेपालभन्दा धेरै माथि छन्। यद्यपि, सिनियर टोलीबाट पनि खेलिसकेका आयुष घलानको कप्तानीमा रहेको नेपाली यु–२३ टोलीले छनोट हुने लक्ष्य राखेको छ।

हरेक समूहका शीर्ष टोलीले एसियन कप खेल्न पाउँछन्। ११ समूहबाट उत्कृष्ट चार उपविजेता बन्ने सके पनि नेपाली टोली छनोट हुनेछ। प्रशिक्षक न्यौपानेले यसपल्ट तयारी गर्न पर्याप्त समय पाएको र प्रशिक्षण पनि प्रभावकारी भएकाले छनोट हुने लक्ष्य बताएका हुन्।

नेपाली टोलीले करिब दुई महिनादेखि प्रशिक्षण गरिरहेको छ। यसबीच सिनियर टोलीसँग पनि युवा टोलीले अभ्यास खेल खेल्यो। मैत्रीपूर्ण खेलका क्रममा युवा खेलाडीबाट आशालाग्दा प्रदर्शन भएको प्रशिक्षक न्यौपाने बताउँछन्। लामो समय पाएकाले आफूले इन्डुरेन्समा ध्यान दिएको उनको भनाइ छ।

यो युवा टोलीमा नेपाली राष्ट्रिय टोलीबाट नै खेलिसकेका मिडफिल्डर सुमित श्रेष्ठ, कृतिरत्न छुन्जु र स्ट्राइकर निरञ्जन धामी छन्। साथै विभिन्न उमेरसमूहबाट खेलका उत्कृष्ट खेलाडीलाई प्रशिक्षक न्यौपाने समेटेका छन्। ‘यो टोलीमा अनुभवी खेलाडी पनि छन्। उमेरसमूहबाट राम्रो खेलेका खेलाडी पनि समेटिएका छन्।

उनीहरूले प्रशिक्षणका क्रममा धेरै राम्रो पनि गरेका छन्। त्यसैले उत्कृष्ट नतिजा आउनेमा आशावादी छु,’ उनले भने। प्रशिक्षक न्यौपानेसँग ताजिकिस्तानको वातावरणमा खेलेको अनुभव पनि छ। उनको प्रशिक्षणमा नेपालको सिनियर टोलीले ताजिकिस्तानमा अफगानिस्तानविरुद्ध राम्रो प्रदर्शन पनि गरेको थियो।

उनले प्रशिक्षण अवधिमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई टोलीमा समावेश गरिएको स्पष्ट पारे। एक खेलाडीले छनोट सही तरिकाले नभएको आरोप लगाएका थिए। तर, प्रशिक्षक न्यौपानेले त्यसमा कुनै सत्यता नरहेको र मैदानमा उत्कृष्ट प्रदर्शन गरेको खेलाडी टोलीमा परेको स्पष्ट पारे। तर, उनले आरोप लगाउने खेलाडीमा पनि क्षमता रहेको उल्लेख गरे।

कप्तान आयुसले सन्तुलित टोली बनेकाले छनोट हुने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरे। प्रशिक्षकको योजना र ट्याक्टिसअनुसार आफूहरूले खेल्ने उनी बताउँछन्। यस छनोटबाट १६ राष्ट्रले सन् २०२६ को जनवरी ७ देखि २५ सम्म साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउनेछन्।

प्रशिक्षक न्यौपानेले दुई महिना अघि ८९ जनाको प्रारम्भिक टोली घोषणा गरेका थिए। त्यहाँबाट २३ सदस्यीय नेपाली युवा टोली छानिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र प्रवक्ता सुरेश शाहलगायतले शनिबार नेपाली टोलीलाई बिदाइ गरेका थिए।

नेपाली टोली आइतबार ताजिकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ। आगामी सेप्टेम्बर ३ मा ताजिकिस्तानसँग खेल्दै नेपालले छनोट यात्रा थाल्नेछ। त्यसपछि नेपाली टोलीले सबैभन्दा बलियो टोली सिरियासँग सेप्टेम्बर ६ तारिखमा र तेस्रो खेल फिलिपिन्ससँग सेप्टेम्बर ९ तारिखमा खेल्ने तालिका छ।

एन्फाका महासचिव किरण राईले खेलमा पछि परेको स्थितिमा पनि सन्तुलन नगुमाइ धैर्यताका साथ खेल्न अनुरोध गरे। उनले तीन करोड नेपालीको भरोसालाई ध्यानमा राखेर खेल्न सुझाव दिँदै यो उमेर समूह नेपालको सिनियर राष्ट्रिय टोलीको भविष्य पनि भएकाले राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको बताए। उनले आगामी पुस ९ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी पनि भइरहेको उल्लेख गरेका छन्।  

प्रकाशित: १५ भाद्र २०८२ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App