विराटनगरमा चैत २८ गतेदेखि ‘३८ औं विराट गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ। ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप’ भन्ने मूल नाराका साथ चैत २८ गतेदेखि हुने गोल्डकपको ३८ औं संस्करणको तयारी पूरा भएको ट्रष्टले जानकारी दिएको छ।
प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए। उनले चैत २८ देखि वैशाख ५ गतेसम्म हुन लागेको गोल्डकपको ३८ औं संस्करणको तयारी पूरा भएको बताए।
विराट गोल्डकपमा पहिलो पटक स्थानीय क्लब ‘सम्राट स्पोर्टिङ फुटबल क्लब’ले सहभागिताको अवसर पाएको छ।
काठमाडौंपछि मोफसलमा रात्रीकालीन फुटबल विराटनगरमा पहिलो पटक भएको थियो। पहिलो रात्रीकालीन खेल गराउँदा बाँसको खम्बामा लाइट राखेर प्रतियोगिता आयोजना गरिएको थियो। विराटनगरको सहिद रंगशालमा अहिले स्थायी फ्लड लाइटबाट रात्रीकालीन खेल हुँदै आएको छ।
प्रतियोगितामा ३ विभागीय तथा नेपाल र भातरका गरी ८ टोलीको सहभागिता रहेको छ। जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ क्लब) तथा काठमाडौंको मच्छिन्द्र फुटबल क्लब, काठमाडौंको चर्च ब्वाईज फुटबल क्लब, विराटनगरको सम्राट स्पोर्टिङ क्लब, झापाको झापा ११ फुटबल क्लब र भारतको अल झारखण्ड विर्षा मुण्डा फुटबल एकेडेमीको सहभागिता ट्रष्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिकगोलकर्ताले जनही १५ हजार रुपैयाँ पाउने छन्। यसैगरी, सर्वोत्कृष्ट खेलाडीले ५१ हजार रुपैयाँका साथै प्लेयर अफ द म्याचले ११ हजार रुपैयाँ प्राप्त गर्ने प्रवक्ता लामाले बताए।
प्रतियोगिता आयोजना गर्न १ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।
२०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट महेन्द्र गोल्डकप हुँदै आएको थियो। २०६२÷०६३ को राजनैतिक परिवर्तनपछि २०६७ सालमा महेन्द्र गोल्डकपको नाम परिवर्तन हुँदै विराट गोल्डकप रहेको पनि ०६८ सालमा पहिलो पटक विराट गोल्डकपको आयोजना भएको थियो।
प्रतियोगिताअन्तर्गत शनिबार हुने उद्घाटन खेल झापा ११ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ। २०७१ सालमा भएको फाइनल खेलमा यी दुवै टोलीको भेट भएको थियो। त्यस बेला झापा ११ ले आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो। शनिबार हुने उद्घाटन खेलमा झापाले पुनः आर्मीलाई जित्ने दाउमा छ भने आर्मी त्यसबेलाको पीडा मेटाउने दाउमा रहेका छ।
प्रकाशित: २७ चैत्र २०८२ १९:५५ शुक्रबार





